नेपाली युवा पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

शनि शाक्य

काठमाडौं

नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्।

यही अक्टुबर ३१ तारिखका दिन बिहान ६: ४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्।

पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका थिए। उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ।

पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको जानकारी दिए। आरोहण पश्चात उनले अन्नपूर्णसँग भने,‘यो सफलता मेरो मात्र नभई नेपाल र आम नेपालीहरुको हो।’

उनले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर  रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए।

पाण्डेले आरोहण गरेको उक्त हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो। पाण्डेले भने,‘यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेँ। सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेको छु। सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेको हुँ। त्यो पूरा गरेँ। त्यसपश्चात अहिले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेँ।’

उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।

उनले अब नेपाल फर्किएपश्चात अर्जेन्टिनाको एकोन्कागुआ हिमाल आरोहरणको तयारी गर्ने जानकारी दिए। नेपाल स्काउटका स्काउटरसमेत रहेका  पाण्डेले हिमाल आरोहण अगाडि अफ्रिका रहँदा स्वयम् सेवको भूमिका र बालबालिकालाई खेलकुदका सामाग्री समेत हस्तान्तरण गरेका थिए।

पाण्डेले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका थिए। रामेछापको लिखु तामाकोशी निवासी उनले विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न जानु अगाडि पर्वतारोही पाण्डेलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)र किरण केसीलगायतले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाई गरेका थिए।

प्रकाशित मिति: : 2023-11-02 11:39:00

प्रतिकृया दिनुहोस्