नयाँ व्यवस्थापनसहित ‘रिफर्म’ भएको कन्दरा ब्याण्ड देश-विदेशमा गुञ्जदै (अन्तर्वार्तासहित)

मोहन बराल

अमेरिका
BreaknLinks
BreaknLinks

विदेशिएर गइन् उनी 

मलाई छोडेर तर …

आजभन्दा २७ वर्षअघिको यो चर्चित गीत। गीतका सर्जक संगीतकार सुनिल थापाले पनि सायद सोचेका थिएनन्, उही गीतका गायक विवेक श्रेष्ठ आफैँ विदेशिनेछन् भनेर।

त्यस्तै सन् १९९८ मा निस्किएको एल्वम ‘हङकङ पोखरा’। फेरि पनि उस्तै भावको गीत।’ विदेशिनु लेखियो कर्मैमा’।यो गीत लेख्दै गर्दा साहित्यकार सरूभक्तलाई पनि यकिन थिएन होला, गायक श्रेष्ठको कर्ममा पनि विदेशिनु’ लेखिएको छ भनेर। तर, बहुचर्चित ‘कन्दरा ब्याण्डका’ गायक श्रेष्ठले जस्तो जस्तो गीत गाएर चर्चामा चुलिए, यथार्थ जीवनमा पनि उस्तै भोगे। वर्षौँ प्रवासको भूमिमा जीवन बिताए पनि गायक श्रेष्ठले नेपाली गीत संगीतको लगावलाई भने भुल्न सकेनन्। डायस्फोराको नेपाली समुदायलाई नेपाली गीत संगीत भने सुनाइरहे।

फलस्वरूप सन् २०१२ मा बेलायतमा उनी चर्चित वर्ष व्यक्तित्वको रुपमा सम्मानितसमेत भए। नेपाली समुदायलाई योगदान पुर्‍याउने १० चर्चित व्यक्तित्वहरुको सूचीमा उनको नाम पनि छुटेन। ‘सङ्ग फरएभर लाइभ म्युजिकल टूर २०१२’ मा लण्डनमा गुञ्जिएका गायक श्रेष्ठले कहिल्यै नबिर्सिने छाप छोडेका छन्। कन्दरा ब्याण्डका मेन भोकलिष्ट विवेक श्रेष्ठलाई नेपाल प्रेमले तानिनै रह्यो। अन्तत: एक दशकअघि उनी बेलायत छाडेर घरदेश फर्किए। कन्दरालाई कमब्याक गर्दै पुनरागमन गरे।

लोक पप शैलीका गीतहरु बोकेर ‘चञ्चले कान्छी’बाट सुरू गरेको कन्दरा यात्राले ‘डाँडापारि’, ‘हङकङ पोखरा’, ‘वर्षौंपछि’देखि भेडी गोठैमा’सम्म आइपुग्दा तीन दशक पूरा गरेको छ। कन्दरा ब्याण्डमा हालै गिटारिस्टहरू  हरी महर्जन र देव लामा, बेसमा पंकज झा, र ड्रममा सुन्दर महर्जन थपिएका छन्। ब्यवस्थापन पक्ष आदि ग्रुपले सम्हालेको छ। नयाँ व्यस्थापन पक्ष र ब्याण्डमा थपिएका नयाँ सदस्यहरुसहित रिफर्म भएको कन्दरा ब्याण्ड देश तथा विदेशमा गुञ्जने तयारी गरिरहेको छ। तीन दशकपछि ‘रिफर्म’ भएको कन्दरा ब्याण्डबाट दर्शक स्रोतामाँझ ठुलो आशा र उत्साह थपिएको छ।

‘चञ्चले कान्छीको जोवन’,‘लेककी हे माया’, ‘डाँडा परि’, ‘तिमीपारि’,‘विदेशिएर गइन उनी,‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’, ‘भेडी गोठैमा’ र ‘चन्द्रकोटकी नानी’लगायतका कन्दराका गीतहरु अहिले पनि संगीतप्रेमीको जनजिब्रोमा झुन्डिएका छन्।

रिफर्म भएको नयाँ टोलीले देशका सात वटै प्रदेशमा पुगेर सांगीतिक यात्रा गर्ने तयारी थालेको छ। कन्दरा ब्याण्डको ‘रिफर्म’ सहित पुनरागमनको तयारी र सांगीतिक यात्राबारे बिएल नेपाली सेवाका लागि पत्रकार मोहन बरालले गायक श्रेष्ठसँग टेलिफोनमा कुराकानी गरेका छन्। प्रस्तुत छ कन्दराका  गायक विवेक श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश:

अहिले के मा व्यस्त हुनुहुन्छ?

गीत/संगीत सिर्जनमा नै लागि परेका छौं। केही समयको विदेश बसाइलाई त्यागेर स्वदेश आइपुगेको पनि एक दशक नाघिसकेछ। यसबीचमा देश विदेशमा थुप्रै कार्यक्रमहरु पनि गर्यौं। कन्दरालाई नयाँ ढंगले कसरी लैजाने भन्नेमा नै हामी  केन्द्रित भएर काम गरिरहेका छौँ।

कन्दरालाई नयाँ ढंगले कसरी लैजादै हुनुहुन्छ, रिफर्म गर्ने तयारी हो?

हो। तपाईंहरूले विभिन्न संचार माध्यमहरूबाट थाहा पाइहाल्नु भो होला। नेपालका प्रख्यात गितारिस्ट हरि महर्जनलाई गितारको जिम्मेवारी सुम्पेका छौँ। उहाँ लामो समय नेपथ्य, कर्मा, रबिन एण्ड न्युरिभोलेसनजस्ता प्रतिष्ठित ब्याण्डहरुमा आवद्ध हुनुभयो। युवाहरुमाँझ चर्चित गितारवादक देव लामा, उदयमान बेस गितारिस्ट पंकज झा, ड्रमरमा सुन्दर महर्जनलाई समावेश गर्दै कन्दराले ब्यान्डको पुनर्संरचना गरेको छ।

ब्याण्डलाई हेर्ने व्यवस्थापन टोली पनि थपिएको हो? पूर्ण रुपमा ब्याण्ड रिफर्म भएकै हो?

हो। हामी संगीत कर्ममै व्यस्त हुने हुँदा स्वयम् व्यवस्थापन हेर्न सक्दैनौं। यो एउटा अन्तराष्ट्रिय अभ्यास पनि हो। व्यवस्थापनको जिम्मेबारी आदि ग्रुपबाट हुनेछ। यसलाई आशिष पराजुलीले ह्याण्डलिंग गर्नुहुन्छ। उहाँसँग लामो समयदेखि सांगीतिक कार्यक्रम व्यवस्थापनको अनुभव पनि छ। त्यो जिम्मेबारीमा निपूर्ण हुनुहुन्छ। आदि ग्रुपले नै कन्दरालाई नयाँ सिर्जनाको लागि वातावरण तयार गर्नेछ। देश–विदेशको सांगीतिक कायर्क्रमको योजना बनाउनेछ। देश विदेशमा हामी लाइभ ब्याण्डकै प्रस्तुतिका साथ उपस्थित हुनेछौँ। साउण्ड इन्जिनियरदेखि लाइटलगायत प्राविधिक पक्षलाई हेर्ने हाम्रो प्राविधिक टोली पनि रहनेछ।

त्यसो भए, रिफर्म भएको कन्दरा ब्याण्डले अहिले कन्सर्टहरु कहाँ-कहाँ गर्दैछ?

हामीले देशभित्र र देश बाहिर गरी दुई सयभन्दा बढी कन्सर्ट गरिसकेका रहेछौँ। पहिले घर देशमा कार्यक्रम गर्ने योजनामा छौँ। मंसिर १६ गते पोखरामा विशेष कार्यक्रम गर्दैछौँ। यसलाई ‘पहिला घरदेश अनि परदेश भनी उद्घोष  गरेका छौँ। कार्यक्रमसँगै पर्यटन पर्वद्वनमा पनि जोड दिएका छौ। यो अभियानलाई पोखराका विभिन्न पर्यटनसँग सम्बन्धित व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्ले सघाउँदैछ। घरदेश घुमौँ पर्यटनको प्रवर्द्धन गरौँ भन्ने उद्घोषका साथ देशका सातै प्रदेशका मुख्य सहरहरुमा पुग्ने छौं।

अनि विदेशमा पनि लाइभ ब्याण्डको प्रस्तुतिको लागि जाँदै हुनुहुन्छ नि?

विभिन्न देशहरूबाट हाम्रा शुभ-चिन्तकहरूले कार्यक्रमका लागि निम्ताहरू पठाइरहनु भएकै छ। विदेशमा पनि कार्यक्रम गर्छौँ, नगर्ने होइन। पहिले सात प्रदेशमा केन्द्रित हुँदैछौ। विदेशमा कार्यक्रम तय गर्न अब हामीलाई झन् सजिलो हुनेछ। व्यवस्थापन हेर्दै आएको आदि ग्रुपले छिट्टै कार्यक्रमहरुको टुंगो लगाउनेछ।

अमेरिकामा कहिले आउँदै हुनुहुन्छ?

हामी ढिलो चाँडो तपाईंहरूमाझ पनि अवश्य आउने छौँ। अहिले हाम्रो घरदेशको कार्यक्रम हुँदैछ। यदि तपाईंहरू बिदामा नेपालमा हुनुहुन्छ भने आउनुहोला। विदेशबाट पनि कन्दराको कार्यक्रम हेर्न परिवारमा खबर गरिदिनुहोला। ‘वर्ड अफ माउथले’ ठुलो भूमिका खेल्छ। नेपालमा हुने आफन्तजनहरूलाई जानकारी गराइदिनुहुन तपाईंको माध्यमबाट अनुरोध गर्न चाहान्छु।

अब एकैछिन गीत संगीतको कुरा गरौँ, यसै साता ‘बिचारा म’ गीत ल्याउनुभएको छ नि, योबारे केही भन्नुहुन्छ?

हामीले हालै रेडियो नेपालमा पाँच वटा गीतको ‘वान टेक रेकर्डिङ र सुटिङ’ गरेका छौं। प्रसिद्ध साहित्यकार आनन्द अधिकारीको रचना रहेको गीत ‘बिचरा म’लाई गत शुक्रबार हाम्रो हाम्रो आधिकारीक युट्युब च्यानलबाट पनि प्रसारण गरेका छौं।

के कस्तो प्रतिक्रियाहरू पाउनुभएको छ?

देश विदेशमा रहनुभएका स्रोताहरूबाट एकदमै अर्गानिक प्रतिक्रिया पाएका छौँ। त्यसले निकै उत्साहित भएका छौँ। सामाजिक संजालहरुमा पनि राम्रो प्रतिक्रिया पाएका छौँ। नयाँ जोस् र उत्साहका साथ अघि बढ्न यसले झन् प्रेरणा मिलेको छ। हाम्रो स्थापानादेखिको थिमलाई आम दर्शक स्रोताहरूले मन पराइरहनु भएको छ। ‘बिचरा म’ बोलको गीतमा हरिजीहरूको कला र सुनिलजीहरूको मेलोडी दुवै शसक्तरूपमा सुन्नसक्नु हुन्छ।

फेरि नयाँ सिर्जना कहिलेसम्म सुन्न पाइन्छ?

व्यक्तिगत रूपमा संगीतकै क्षेत्रमा प्रतिष्ठित भइसकेका हाम्रा नयाँ सदस्यहरू पाएपछि उत्साहित छौँ। नयाँ गीतहरू रेकर्ड पनि गराइसकेका छौँ। अब बिस्तारै ३-४ महिनाको अवधिभित्रै नयाँ गीत संगीत लिएर आउनेछौँ। हाम्रै आधिकारिक च्यानलहरूबाटै क्रमशः प्रसारण गर्दै जानेछौँ।

प्रतिष्ठित साहित्यक व्यक्तित्वलाई कन्दरासँग जोड्न पाउदा कस्तो लाग्छ?

मुलत: हामी पनि अरूलेझैं रमणीय प्राकृतिक परिवेशको चित्रण, प्रेम, बिछोड मानवीय संमवेदना, देश प्रेमले ओतप्रोत भएका शब्दहरूलाई लोकपप शैलीमा गाउँछौँ। स्रोताहरुमाँझ हाम्रो पहिचान पनि यही नै हो भन्ने लाग्छ।

हामी भाइरल हुने दौडमा अनावश्यक शब्दहरू बुनेर गीतहरू गाउँदैनौँ। हाम्रै गाउँ परिवेशमा बोलिने टिपिकल शब्दलाई लोकपप फ्युजन गरेर गाउँछौँ। यो नै राम्रो मौलिक स्वाद हो जस्तो लाग्छ। हाम्रा अधिकांश गीतहरूमा ब्याण्डकै मेरूदण्डका रूपमा रहेका सुनिल थापाजीको रचना रहेको छ। उहाँले मिठा धुनहरू पनि भर्नुहुन्छ। वरिष्ठ साहित्यकार सरु भक्त दाइसँग ‘हङकङ पोखरा’ र ‘भेडी गोठैमा’मा स्वर्गीय बिनोद गौचन दाइसँग ‘तगारोमा रुमाल राखी’, र ‘चन्द्रकोटकी नानी’मा, विम्ब कवि रमेश श्रेष्ठसँग ‘चमेलीले गाउँ छोडिन रे’ हुँदै पछिल्लो समय आन्नद अधिकारीसँग ‘बिचरा म’मा सहकार्य गर्ने मौका पाएका छौँ। उहाँहरूजस्ता प्रतिष्ठित साहित्यक व्यक्तित्वहरूका सिर्जनालाई कन्दरासँग जोड्न पाउँदा गौरवान्वित छौँ।

प्रकाशित मिति: : 2023-11-02 07:57:00

प्रतिकृया दिनुहोस्