प्रदीप भट्टराई
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको चारदिने औपचारिक भ्रमण गरेका छन् । शान्ति प्रक्रियाको बाँकि काम ६ महिनामा सक्ने वाचा गरेर २०६७ माघ १ गते राष्ट्रसंघीय मिशन अनमिन फिर्ता पठाएका नेपालका राजनीतिक दलले त्यसयताका १३ वर्षमा केही गरेनन्, उल्टै फेरि राष्ट्रसंघ गुहार्न पुगे । राष्ट्रसंघका महासचिव गुटेरस त्यही हारगुहारको सम्बोधन गर्न नेपाल पुगेका हुन्। यसबीचमा उनले बाक्लो राजनीतिक भेटघाट गरेर नेपालको शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्याई संक्रमणकालीन न्याय टुंग्याउन सम्बन्धित सबै पक्षलाई सम्झाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निम्तोमा नेपाल आएका उनको मूल एजेण्डा नेपालको शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्याई संक्रमणकालीन न्याय टुंग्याउन मार्गप्रशस्त गर्ने नै हो । मूलतः उनी त्यही प्रयोजनका लागि नेपाल आएका हुन् । साथमा, जलवायु परिवर्तन पनि उनको एक एजेण्डा रहेको छ । शान्तिका अग्रदूत गौतमवुद्धको जन्मभूमी लुम्बिनी र जलवायु परिवर्तनले असामान्य हिउँ पग्लिरहेको स्याङ्बोचे आफ्नो भ्रमण तालिकामा समावेश गरेर उनले आफ्नो भ्रमणको उद्देश्य प्रतिविम्वित गरेका छन् ।
नेपालको माओवादी सशस्त्र द्वन्दको शान्तिपूर्ण निकास निकाल्न संयुक्त राष्ट्रसंघले अनमिनमार्फत् अहम् भूमिका निर्वाह गरेको थियो । तर, त्यतिबेला द्वन्दपछि गर्नुपर्ने राष्ट्रिय मेलमिलाप तथा युद्धका पीडितहरूको न्याय र क्षतिपूर्तिको संकरमणकालीन न्यायको काम बाँकि नै रह्यो । त्यो सारा काम द्वन्दमा यो वा त्यो पक्षबाट संलग्न रहेर विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका नेपालका राजनीतिक दलहरूले गर्नुपर्ने थियो ।
तर, दुर्भाग्य यतिका वर्ष वितिसक्दा पनि शान्ति प्रक्रियाका बाँकि कामहरू उनीहरूले सल्ट्याउनतिर चासो नै दिएनन् वा दिए पनि सकेनन् । बरू यसबीचमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने एक पक्षका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाको निधन भयो । अर्को हस्ताक्षरकर्ता पुष्पकमल दाहालको राप र ताप सकिएर सन्ताप मात्रको अवस्थामा पुगे ।
अरू, नेताहरू पनि क्रममशः उमेरले बुढा र समयले असान्दर्भिक हुँदै गए । जनतामा न उनीहरूप्रतिको आकर्षण रह्यो, न विश्वास । एकआपसको सम्बन्ध पनि तिक्ततमपूर्ण हुँदैगयो । हुँदाहुँदा स्थिति यस्तो बन्दै गयो कि कतै यी नेताहरू शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमै नपुर्याई परमधाम जाने त हैनन् ?
गुटेरेसले नेपाल भ्रमणका क्रममा वृहत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने नेताहरूलाई ऐना देखाइदिएका छन् । ऐनाले उनीहरूको अनुहारभरि पोतिएको नालायकीपन र गैरजिम्मेवारीपनको हिलो देखाइदिएको छ । अब हेर्नुछ, नेताहरू अनुहार फोहोर देखाउने ऐना फोर्नतिर लाग्छन् कि अनुहारमा पोतिएको हिलो धुनतिर ?, त्यो हेर्न चाँहि फेरि समयकै ऐना हेर्नुपर्ने हुन्छ ।
स्थिति यतातिर ढल्कदै गएपछि तत्कालिन माओवादी सशस्त्र द्वन्दका सुप्रिमोसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सहयोगका लागि संयुक्त राष्ट्रसंघ गुहारे । उनले यसपटक राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन न्युयोर्क गएको बेला राष्ट्रसंघका महासचिव गुटेरेसलाई भेटेरै नेपाल भ्रमणको निम्ता दिए ।
महासचिव गुटेरेसले नेपालको अप्ठ्यारो फुकाउन सहयोग गर्ने मनसाय राखेर तुरून्तै नेपाल भ्रमणको कार्यक्रम पनि बनाए । तर, मध्यपूर्वमा बढेको द्वन्दका कारण उनको निर्धारित पहिलो कार्यक्रम रद्द भयो । तर, त्यसको लगत्तै अर्को भ्रमण कार्यक्रम बनाएर उनी नेपाल आए ।
मध्यपूर्वमा मानवीय संकटसहितको अशान्ति बढिरहेको बेला महासचिव गुटेरेसको यो नेपाल भ्रमणले राष्ट्रसंघका लागि नेपालको शान्ति प्रक्रिया तार्किक निस्कर्षमा पुर्याउने काम निक्कै महत्वपूर्ण रहेछ भन्ने प्रमाण मिल्छ ।
हुन पनि नेपालको शान्ति प्रक्रियामा एक महत्वपूर्ण मध्यस्थकर्ताका रूपमा सहभागी भएको राष्ट्रसंघका लागि अनमिन एक अधुरो मिशन हो । राष्ट्रसंघको त्यो मिशन पूरा गर्नका लागि पनि महासचिव गुटेरेसको यो भ्रमण भएको हो । भ्रमणका क्रममा उनले सम्बन्धित सबै पक्षलाई सम्झाउन निक्कै मेहेनत गरेका थिए ।
महासचिव गुटेरेसले सत्ता पक्षका नेताबाट सकारात्मक जवाफ पाए । उनीहरूले छिटोभन्दा छिटो शान्ति प्रक्रियालाई तात्विक निस्कर्षमा पुर्याउने वचन दिएर उनलाई उत्साहित बनाए । तर, एमाले अध्यक्ष ओलीले भने सत्तापक्ष त्यसमा पनि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड नै शान्ति प्रक्रियालाई तात्विक निस्कर्षमा पुर्याउन बाधक रहेको भनेर पोल लगाए । यद्यपि, उनले पनि शान्ति प्रक्रियालाई तात्विक निस्कर्षमा पुर्याउन असहयोग गर्नेचाँहि भन्न सकेनन् ।
ओलीको आफू मात्र ठीक र अरू सबै बेठीक भन्ने बानी प्रवृतिकै रूपमा झ्यांगिसक्यो । घरभित्र होस् वा बाहिर, उनी हेक्का नराखी जे पनि बोल्छन् । बोल्दा ओलीको जिब्रोलाई कहिलै ठेस लाग्दैन । त्यही ठेस नलाग्ने भएर ओलीको बोली भन्ने संकथन बहुचर्चित छ ।
सात पार्टी गठबन्धनको सरकार तथा युद्धरत नेकपा (माओवादी)ले सन् २००६ अगस्त ९ मा राष्ट्रसंघका तत्कालिन महासचिव कोफी अन्नानलाई अनुरोध पत्र लेखेपछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्ताव नं १७४० अनुसार नेपालमा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को स्थापना भएको थियो । २००७ जनवरी २३ मा स्थापना भएको अनमिन २०११ जनवरी १५ मा फिर्ता हुनुअघि सातपटक म्याद थपिएको थियो । यतिका म्याद थप्दा पनि नेपालको शान्ति प्रक्रियाको महत्वपूर्ण काम मेलमिलाप र संक्रमणकालीन न्यायको काम भने अधुरै रहेको थियो ।
आफ्नो कमी कमजोरी कहिल्यै स्विकार नगर्ने ओली प्रवृतिका कारण राजनीतिक जीवनको उत्तरार्धमा उनी ‘पुनः मुसिको भव’ स्थितिमा पुगेका छन् । उनको यो उल्टरवुद्धिले एमाले त सकिने भयो नै, नेपालको वामपन्थी आन्दोलन पनि रसातलमा पुग्ने सम्भावना बढेर गएको छ । यही कोणबाट एकपटक डा. बाबुराम भट्टराईले धन्धुकारी भन्दा उनी नराम्ररी बिच्किएका थिए ।
महासचिव गुटेरेसले सबै पक्षलाई भेटेपछि नेपालको शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउन अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरूको परिपूर्ति गरी तीनबुँदै सूत्र सुझाएका छन् । उनले यी बुँदा सम्बन्धित सबै पक्षले इमान्दारीपूर्वक आत्मसात गर्ने हो भने पीडितले संक्रमणकालीन न्याय पाउँने र नेपालमा स्थायी शान्ति बहाली हुने ठानेका छन् ।
यसका लागि कुनै एक पक्षले अर्को पक्षको आत्मसम्मानमा चोट पुग्ने गरी अडान नलिन पनि उनले आग्रह गरेका छन् । उनले नेपालका नेताहरूलाई उमेर र समय दुबैले असान्दर्भिक हुँदै गएको ऐना देखाउँदै समयमा आफ्नो जिम्मेवारी पूरा गर्न सम्झाएका छन् । उनले यसबाट नेपालका सम्बन्धित राजनीतिक दल, तिनका नेताको मात्र हैन, संयुक्त राष्ट्रसंघको पनि शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्याउने दायित्व पूरा हुने सम्झाएका छन् र राष्ट्रसंघ सबै किसिमको सहयोग गर्न तयार रहेको विश्वास पनि दिलाएका छन् ।
अब प्रश्न उठ्छ, के यसका लागि सम्बन्धित सबै पक्ष तयार छन् त ? यसका लागि सत्तारूढ गठबन्धन तयार भए पनि प्रमुख प्रतिपक्षी दल एमाले अझै पनि त्यसका लागि तयार भइसकेजस्तो देखिँदैन । त्यसका लागि ओलीले यही बीचमा केही सौदाबाजी गर्ने छनक देखाएका छन् ।
त्यस्तो सौदाबाजीको सूचीमा फागुन १ गतेको जनआन्दोलन दिवस फिर्ता लिनुपर्ने, झापाको गिरिबन्धु चियाबगानको जग्गा साटफेर प्रकरणमा अभयदान दिनुपर्ने, माधव नेपाललाई प्रधानमन्त्री बनाउन नहुने, दुर्गा प्रसाईँलाई पक्राउ गर्नुपर्नेलगायतका हुन सक्छन् । किनकि, ओली हलो अड्काएर गोरू चुट्न जति बदनाम छन्, पर्दाभित्र आफ्ना लागि सौदाबाजी गर्न पनि त्यत्तिकै लिच्चड छन् । उनको देखाउने दाँत र चपाउने दाँत नितान्त फरक छन् ।
मध्यरातमा भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई बालुवाटारमा रेडकार्पेट ओछ्याउने ओली यथार्थमा सधैँभरि भारतको गुडबुकमा छन् तर उनले नेपालमा भने भारतविरोधी राष्ट्रवादीको छवि बनाएका छन् । त्यही छवि भजाएर उनले २०७४ मा निर्वाचन जितेका थिए ।
नेपालको शान्ति प्रक्रिया तार्किक निस्कर्षमा पुर्याएर पीडितहरूको संक्रमणकालीन न्याय नटुंग्याउनु नेपालमाथि लागेको एक किसिमको कालो धब्बा हो । शान्तिका अग्रदूत गौतम वुद्धको देशका लागि यो पटक्कै सुहाउने कुरा हैन । अझ, स्वयम्भूका दुईवटा आँखाले न्याय÷अन्याय छुट्याई हेर्ने देश भनिन्छ नेपाल, त्यस्तो देशमा माओवादी सशस्त्र द्वन्दका बेला बिद्रोही र राज्यपक्षबाट पीडा भोगेका द्वन्दपीडितहरूले वर्षौसम्म पनि न्याय नपाउँनु लाजमर्दो कुरा हो ।
यसका लागि को जिम्मेवार छ त?, यसको सहज उत्तर छ, कांग्रेस, एमाले र माओवादी । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने मूल राजनीतिक शक्ति यिनै हुन् । र, त्यो सम्झौता हस्ताक्षर गरेयता यी तीन दलका नेता मात्रै यो देशमा आलोपालो गर्दै प्रधानमन्त्री भएका छन्, सभामुख भएका छन्, राष्ट्रपति भएका छन् । अरूको त कुरै नगरौं, सर्वोच्च अदालतका प्रधानन्यायाधीश पनि यिनीहरूको सत्ता कोठरीमा हरियो बत्ती नबली भएका छैनन् ।
साँच्चै भन्ने हो भने त्यसयता यो वा त्यो नाममा देउबा, ओली र प्रचण्डकै रजगज चल्दैआएको छ । अहिले पनि प्रचण्ड प्रधानमन्त्री, देउवा सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो घटकका सभापतिका हैसियतले पालो पर्खिरहेका प्रधानमन्त्री र ओली प्रमुख प्रतिपक्षी दलका नेता हुन् । अहिले उनीहरूका दल भनेकै यी तीन हुन् । उनीहरूका दल भनेका त निर्णयको माइन्युट उठाएर सही गर्ने कारिन्दाहरूको मण्डली मात्रै हो ।
नेपालमा एक किसिमले भन्ने हो भने यी सर्वशक्तिमान तीन नेताको सिण्डिकेट नै चलिरहेको छ । यस्तो अनुकुल स्थितिमा पनि आफैंले हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौताका बाँकि काम पूरा नगर्नु भनेको बेइमानी हो, एक किसिमको राष्ट्रघात नै हो । यसबाट पनि यिनीहरू नालायक छन्, कामचोर हुन् र यिनीहरूको नियत ठीक छैन भन्ने प्रष्ट हुन्छ ।
ढिलै भए पनि फेरि एकपटक उनीहरू राष्ट्रसंघ गुहार्न पुगेका छन् । प्रचण्डले मुख बाए पनि यसका लागि यी तीनै नेता जिम्मेवार छन् । महासचिव गुटेरेस आउँदा उनीहरूले जे जस्तो परस्परविरोधी धारणा राखे, त्यसले पनि उनीहरू अरू बढी खुइलिएका छन् ।
तर, एउटा कुरा के सत्य हो भने उनीहरूले माने पनि नमाने पनि महासचिव गुटेरेसले उनीहरूलाई ऐना देखाइदिएका छन् । ऐनाले उनीहरूको अनुहारभरि पोतिएको नालायकीपन र गैरजिम्मेवारीपनको हिलो देखाइदिएको छ । अब ऐना फोर्छन् कि अनुहारमा पोतिएको हिलो धुनतिर लाग्छन्?, त्यो भने सयमकै गर्तमा छ ।
संयोग नै भन्नुपर्छ कि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको बेला महासचिव गुटेरेसको भ्रमण भएको छ । र, उनले संसदको संयुक्त सत्रलाई सम्बोधन पनि गर्दैछन् ।
आशा गरौं, यही संसद अधिवेशनमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानवीन आयोग गठन गर्ने विधेयक पारित हुने छ र त्यसले नेपालमा संक्रमणकालीन न्याय प्रदान गर्ने मार्गप्रशस्त गर्ने छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया