उनी मलाई फकाउन लागिपरिरहेकी थिइन्। म भने बेवास्ता गर्दै थिएँ। कक्षाकोठामा उनले देखाएको व्यवहारले म दुःखी थिएँ। त्यसैले पनि उनीसँग पर–पर भाग्दै थिएँ।
उनी अर्थात्, स्कुलमा बनेको मेरो पहिलो साथी, मिना तामाङ।
सर्लाहीकी मिना अध्यनको लागि काठमाडौं छिरेकी थिइन्। उनीसँग मेरो भेट गोकर्णेश्वरको देसे गाउँमा भएको थियो। ‘तलेजु भवानी’ स्कुलमा भर्ना भएपछि मेरो साथी भएकी थिइन् मिना।
सानाे छँदा गुपचुप र बोल्न नरुचाउने मलाई उनै मिनाले पहिलोपल्ट साथी बन्न प्रस्ताव राखेकी थिइन्। त्यही दिनदेखि हामी मिल्ने साथी भएका थियौं। पढाइमा अब्बल मिना मेरो प्रतिस्पर्धी नै थिइन्।
म ‘फर्स्ट’ हुँदा उनी दोस्रो हुन्थिन्, अनि उनी ‘फर्स्ट’ हुँदा म ‘सेकेण्ड’।
तर, पनि हामीबीच कुनै प्रतिस्पर्धा थिएन। किनकि कक्षाकोठामा सधैं हाम्रै ‘राज’ हुन्थ्यो। कक्षा एकदेखि चारसम्म सँगै पढेका हामी एकअर्कोसँग कहिल्यै झगडा गरेनौं न त रिसायौं। तर, कक्षा–पाँच पुगेपछि म मिनासँग रिसाएकी थिएँ, त्यही पनि पहिलोपल्ट।
कक्षाकोठामा उभिएर ‘मनु’ मिसले कालोपाटीमा चकले केही लेख्दै हुनुहुन्थ्यो। तर, हामी भने कानेखुसी गर्दै हाँसो–मजाक गरिरहेका थियौं। हाम्रो आवाज सुनेर मिसले कराउन थाल्नुभयो।
सधैं मधुर स्वरमा बोल्ने मिसको एकाएक चर्किएको आवाज सुनेर म काप्न थालेँ र चुप भएँ। उता मिनाले भने मतिर औंला देखाउँदै मलाई दोषी बनाइदिइन्।
मिसको अगाडि उसले लगाएको आरोपलाई मैले आधा घण्टा खेप्नपर्यो। त्यही पनि बेञ्चमाथि उभिएर। एक त मिसको प्यारी र ज्ञानी विद्यार्थी अर्को सधैं अब्बल नम्बर ल्याएर पास हुने विद्यार्थी। मन त्यसै नै खल्लो भइरहेको थियो।
तर, मेरो नजर भने मिनातिर थियो। उनी मलाई नै एकटक हेरिरहेकी थिइन्। मानौं कि उनी मलाई केही भन्न चाहन्छिन्, र बोल्न खोजिरहेकी छिन्।
भोलिदेखि स्कुलको बिदा सुरु हुँदै थियो। सबै साथीहरू एकअर्कोसँग ‘ह्यापी दसैं’ भन्दै रमाइरहेका थिए। मैले पनि मिनालाई बाहेक सबैजनालाई दसैं–तिहारको शुभकामना दिएँ।
स्कुलबाट एक महिना छुट्टी हुने थियो। त्यसैले पाँच कक्षाका सबै विद्यार्थीहरू कक्षाकोठामा नै नाचगान गर्न थाले। तर, म भने अन्योलमा थिएँ। मिनासँग बोल्यौ कि नबोलौं।
मनमा खेलिरहेको थियो, प्रश्न। तर, सानैदेखि अलि घमण्डी स्वभावकी मैले बोल्नै चाहिनँ। किनकि झुकेर बोल्ने मेरो आदत नै थिएन। किनकि मलाई लाग्थ्यो, रिसाएर कसैसँग बोल्नु भनेको शत्रुको अगाडि शीर निहुराउनुजस्तै हो।
स्कुलको त्यो अन्तिम दिन साथीहरूसँग बिदा लिएर भारी मन बनाएर घर फर्किएँ। सधैं मिनासँग प्रेमील अंगालो हालेर छुट्टिने म दसैंको बिदामा पनि बोलेकै थिइनँ। त्यही कुराले मन उत्तलपुत्तल थियो।
घर आइपुगेपछि मिनाको बारेमा एकाएक सोच्न थालेँ। र, साथी बनेको पहिलो दिनदेखिको कुराहरू सम्झिएँ। त्यसपछि मलाई मैले उसलाई गरेको व्यवहार देखेर आफैंसँग रिस उठ्न थाल्यो।
उनीसँग म बोल्न चाहन्थें तर विडम्बना त्यो सम्भव नै थिएन। किनकि त्योबेला अहिलेजस्तो च्यापच्याप्ती मोबाइलहरू नै थिएन। मसँग हुने त झनै टाढाको कुरा थियो।
कक्षा– १ देखि उनीसँग सँगै पढेको कुराहरूलाई स्मरण गर्दै थिएँ। मेरो ध्यान आफैंले खाटमाथि राखिएको स्कुल ब्यागमा गयो। र, दसैं–तिहारको छुट्टीमा सर–मिसहरूले दिनुभएको ‘होमवर्क’को याद आयो।
तर। नेपाली विषय पढाउने ‘जमुना’ मिसले ‘अरु सामान अनुमतिबिना छुनु हुँदैन’ भनेर पढाएको सम्झिएँ। र, त्यो कार्डलाई झोलाभित्रै थुनें।
मलाई लागिरहेको थियो, त्यो पोस्टकार्डलाई कसैले झुक्किएर मेरो ब्यागमा राखिदियो।
र, त्यसलाई स्कुल गएपछि फिर्ता गरिदिनेछु।
तर, सोचेको जस्तो कहाँ हुँदोरहेछ र!
१० वर्षकी मैले के सोचे थाहा छैन, एक्कासी आफैंले ब्यागभित्र राखेको त्यो पोस्टकार्ड निकालेर खोलिदिएँ। त्यहाँ ‘निरुता सिंह’ थिइन्।
उनी मेरो मनपर्ने हिरोइनमध्येकी एक थिइन्।
तस्बिर देखेर लोभिएकी मैले तस्बिरलाई राम्रोसगँ नियालेँ। अगाडि–पछाडि गरेर पल्टाइ–पल्टाइ हेरेँ। तस्बिरको पछाडि साइडमा केही लेखिरहेको रहेछ, ‘मसँग रिसाए पनि सधैं हाँसिरहनु। यही छ तिमीलाई २०६६ सालको विजया दशमी तथा तिहारको धेरै–धेरै शुभकामना’।
दसैंको शुभकामना दिएको त्यो कविताको तलपट्टी नै अर्को कविता लेखिएको थियो, ‘रोजेज आर रेड, स्काई इच ब्लू, ओ माइ डियर फ्रेण्ड आइ फ्रेण्डसिप इच ट्रु’।
तस्बिरको दाइनेपट्टी कविता थियो र देब्रोपट्टी पोस्टकार्ड पाउने र पठाउनेको नाम लेखिएको थियो।
भलै, प्रत्यक्ष नभए पनि उसले मलाई अप्रत्यक्ष रुपमा दसैं–तिहारको शुभकामना दिएकी थिइन्। त्यही मेरो स्कुल र कलेज लाइफमो यादगार दसैं थियो।