मुम्बईमा प्रिमियर हुँदै ‘चिसो घर’

file photo
file photo

मुम्बई चलचित्र महोत्सव-२०२३ मा नेपाली चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको छ।

महोत्सव कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ। एभरेष्ट फिल्म एकेडेमीबाट चलचित्र अध्ययनमा डिप्लोमा गरेकी विदुर्षी गिरीले लेखनसँगै निर्देशन गरेकाे छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको हो। सामाजिक कथा वस्तुमा आधारित उक्त चलचित्र ११ मिनेट लामो छ। 'मैले गरेको पहिलो काम नै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित छु। विश्वभरका चलचित्रकर्मीसँग ज्ञान र अनुभव साट्नुका साथै त्यहाँ चलचित्र हेर्न र आफ्नो चलचित्रको प्रतिक्रियाका निमित तयार छु', निर्देशक गिरीले भने।

उनका अनुसार ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत चलचित्र छनोट भएको हो। चलचित्रमा सोनिका शाही ठकुरी, सरिता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन, मारिया कार्कीलगायतका कलाकारले अभिनय गरेका छन्। सोही महोत्सवमा चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ हुँदैछ।

महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ साउथ एसिया कम्पिटिसनअन्तर्गतको प्रतिस्पर्धामा छन्। महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर ः द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ । छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा छ। महोत्सवमार्फत नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सहयोग मिलेको जानकार बताउँछन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2023-10-16 16:16:00

प्रतिकृया दिनुहोस्