महावीर पुनकाे आत्मकथा बजारमा आउँदै

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनकाे आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बजारमा आउँदैछ। पुनद्वारा लिखित करिब तीन सय पृष्ठको आत्मकथामा उनको जीवनका राेचक, संघर्षशील र प्रेरणादायी प्रसङ्गहरु समेटिएकाे छन्।

म्याग्दीमा जन्मिएर पढाइकाे लागि चितवन झरेकाे, एसएलसी दिएपछि राजधानी काठमाडाैँमा आएकाे र यहाँबाट ३३ वर्षकाे उमेरमा अध्ययनकाे लागि अमेरिका पुग्दासम्मकाे संघर्षकाे कथा पुस्तकमा समेटिएकाे छ।

त्यस्तै पुस्तकमा पुनले एसएलसीपछि काठमाडाैँमा रहँदा भाइ–बहिनीलाई पढाउनकाे लागि शिक्षण पेसासमेत अपनाएकाे प्रसङ्ग पनि पुस्तकमा पेस गरेका छन्।

अमेरिकाबाट फर्किएर जन्मस्थल म्याग्दीकाे नागी गाउँमा स्वयम्सेवककाे रुपमा अध्यापनमा लागेर वाइरलेस (ताररहीत) प्रविधिद्वारा पाेखरादेखि गाउँसम्म इन्टरनेट पुर्‍याउँदा कथा पनि पुस्तकमा उल्लेख गरिएकाे छ।

‘अनुसन्धान र नवप्रवर्तनबाट मात्रै देशकाे विकास सम्भव हुन्छ’ भन्ने मान्यतासहित राष्ट्रिय आविष्कार केन्द्रकाे स्थापना गरी कार्य गर्दै जाँदा आइपरेका उत्तारचढाव र संघर्षका कथाहरु पनि पुस्तकमा समेटिएका छन्।

‘अहिलेसम्म मैले गरेका थुप्रै मुर्खतापूर्ण कामहरुजस्तै यो जीवनकथा लेख्ने काम पनि एउटा मुर्ख्याइँ नै हो,’ पुनले पुस्तक सार्वजनिक गर्न लागेकाे बारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्।

पुस्तक देशभरका किताब पसलहरुदेखि नेपालमा डिजिटल प्ल्याटफर्म ‘दराज’ र विदेशमा ‘किन्डल’ र ‘अमेजन’मा पनि उपलब्ध हुने पुनले जानकारी दिएका छन्।

पुस्तक बेचेर आएकाे सबै पैसा बीरगञ्जकाे कृषि औजार कारखानाकाे सुधार र सञ्चालनकाे लागि खर्च गरिने पुनले घाेषणा गरेका छन्। पुस्तककाे मूल्य नेपालकाे लागि ७५० र विदेशकाे लागि १० डलर ताेकिएकाे छ।

पुस्तक यसैसाता सार्वजनिक हुँदैछ।

प्रकाशित मिति: : 2023-10-15 19:27:00

प्रतिकृया दिनुहोस्