लहलह झुलेका मार्सी धानका बालाहरु हल्का बतासमा पनि बेस्सरी हल्लिरहेका छन्। बालाकाे कुनै ताैल छैन। त्यसैले ती बेस्मारी हल्किएका छन्। कारण बालामा लागेकाे धानका दानाभित्र चामल छैन।
निहुरिएका बालाहरुमा हेर्दा लाग्छ, यिनकाे भित्र चामल पनि छ। तर जब नजिक गएर छामिन्छ, तब धानका बालाहरुमा खाेष्टा मात्रै भेटिन्छन्।
याे दृश्य हाे जुम्लाकाे तातोपानी गाउँपालिका-५ लाम्राकाे नुग्र्या जिउलाकाे। जिउलाकाे नामाकरणकाे पनि लामाे इतिहास छ। जाे यस प्रकारकाे छ- मार्सी धान रोप्ने जिउलामा सिँचाइ गर्ने पानी नपाएपछि महिलाका कोमल हातले खेत गोड्न सकिएनन्। त्यसपछि फलाम वा काठका तिखा नङ जस्ता देखिने नुग्र्याले मात्र खेत गोड्न सम्भव हुने भएपछि सिंगो जिउलाको नाम राखियो, 'नुग्र्या जिउलो'।
जिउलामा पानी नलागेपछि, मार्सी धानका बालामा दाना पोटिला नभएपछि। रातदिन खेतमा काम गर्ने महिलाको मन सन्तुष्ट नभएपछि, सिँचाइ गर्न जाने खेताला अनिदा रहेपछि, हाँकु र लाम्राका जनता कस्सिए। स्रिफ एक रात थप अनिदो रहने प्रण गरे।
अडै (अह्राउने वा अगुवाइ गर्ने मान्छे)को नेतृत्वमा सिंगो लाम्रा गाउँ उठ्यो। सारा देश दुनियाँ मस्त सुतेको बेला लाम्रा जाग्यो। लाम्रा उँठिल्या आयो। एक रातमा पाँच किलोमिटर जमिन चिरियो र कुलो बन्यो।
बाँकी दुनिया, त्यसमा पनि नजिकको श्रृढुस्का बिउँझने बेला धर्ती फाटेको थियो। धर्ती फाटेको देख्नेहरुको मन फाट्यो। मन फाटेकाहरुले राजा, देउता गरे। मुद्दा हाले। राजाका प्रतिनिधि बडाहाकिम निसाफ गर्न गाउँमै पुगे।
निसाफ लुम्रेलको (लाम्राका गाउँलेको) पक्षमा भयो। अनि एक रातमै बन्यो कुलो। त्यसयता लाम्राको नुग्र्या जिउलाले फलाइरहेको छ राणा, राजा, केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको जिब्रो रसिलो बनाउने मार्सी धान।
तर, यतिबेला भने मार्सी फलाउने किसानलाई रसिलाे नलागेर खल्लाे लागिरहेकाे छ। किसान निराश छन्। कारण सुरुमा देखाउन खाेजिएकाे दृश्य हाे।
खेतमा सिँचाइ गर्नका लागि हरेक वर्षझैँ याे वर्ष पनि पाँच मुरी फल्ने खेत हुनेले एक दिन, दश मुरी हुनेले दुई दिन, पन्ध्र मुरी हुनेले हरेक दिन र त्योभन्दा बढी हुनेले अप्ठ्यारो ठाउँमा समेत कुलो फाल्ने काममा सघाएका थिए। मार्सी धान खेती सुरु भएदेखि नै बसालिएकाे सिँचाइको रितअनुसार किसानले काम गरेका थिए।
जसले श्रम सहकार्य र श्रमदानको अटुट शृङ्खलालाई निरन्तरता दिँदै गरेकाे कामले फल नपाउँदा किसान निराश छन्। उनीहरुका हजार बिलाैना छन्। जसमध्ये केही प्रतिनिधि आवाजलाई हामीले यहाँ प्रस्तुत गर्ने काेसिस गरेका छाैँ।
तातोपानी-५ का किसान आनन्द हमाललाई भित्र्याउने बेलाकाे धान बिग्रेपछि ठुलै ब्रजपात परेकाे जस्ताे लाग्दैछ। काटेर भकारी भर्ने बेलाकाे धानमा राेग लागेर सखाप भएपछि उनी घरि आफ्नाे पेटमा हेर्छन्। घरि घरपरिवारतिर हेर्छन्। अनिकाल पर्नेवाला छ। उनलाई बीउ जाेगाउन पनि हम्मेहम्मे भइरहेकाे छ।
'१२ भारी खेतमा मार्सी धान राेपेकाे हुँ। चाडपर्वकाे मुखमा धानमा आगाे लगाउने अवस्था आयाे। मन भतभती पाेलेकाे छ,' उनले भने, 'धानकाे एक बालाे पनि काम लाग्ने नाई। दसैँ कसरी मनाउने भन्ने पीर छ।'
उनकाे घरमा ६ जना छन्। कृषि कर्मलाई मुख्य पेसा बनाएकाे हमाल परिवारलाई याे वर्ष हात मुख जाेर्न निकै कठिन हुनेवाला छ।
तातोपानी-५ का पुन्या सार्कीले १० भारी खेतमा धान लगाएका थिए। भकारी भरी धानले भर्ने आशैआशले खेती गरेका उनी रित्तिएका भकारी हेरेर भावुक हुन्छन्। अन्य काम सकेर धान भित्र्याउने तयारी गरेका उनीसँग आफ्नै मन बुझाउने शब्द छैनन्।
'घरपरिवारकाे मन कसरी बुझाउँ? राेगले धान खायाे, मन पीरले खाएकाे छ,' उनले भने, 'हामी गरीबलाई सधैँ सास्ती। जे गरे पनि सुख छैन।'
तातोपानी गाउँपालिका–५ का किसान धनप्रसाद चौलागाईंको रित्ताे भकारी नयाँ धान कुरेर बसेकाे छ। वर्षकाे २२ मुरी खेतबाट झण्डै २२ क्विन्टल मार्सीधान उत्पादन गर्ने चौलागाईंका भकारी याे वर्ष कसै गरी पनि भरिनेवाला छैनन्।
भित्र्याउन लागेको मार्सीधानमा रोगको संक्रमण हुँदा पुरै धान सखाप भएर उत्पादन शून्य भएको छ। 'अहिले धान भित्र्याएपछि वर्षभरि पुग्थ्यो। भित्र्याउन लागेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको छ,' उनले भने, 'वर्षभरिको श्रम बालुवामा पानी हालेजस्ताे भयाे। भकारी रित्तिएका छन्। पेट भाेका हुनेवाला छन्। अब भोकमरी र खाद्य संकट झेल्नुको विकल्प छैन।'
तातोपानी–५ की रुपकेउडी सार्की एकाएक भित्र्याउन लागेको धानमा क्षति भएपछि छाक कसरी टार्ने भन्ने चिन्तामा छिन्। घरको पाँच भारी खेतमा उत्पादन भएको धानले ४/५ महिना धान्थ्याे। यस वर्ष त्यो आश पनि टुट्यो।
'आयस्रोत छैन। अरुकाे साझाे(अधिया) खाएर घर चलाउँदै आएको थिएँ,' उनले भनिन्, 'मुखैमा चाडपर्व आएकाे छ। निको नौली खाने धानसमेत नहुने भए। पाेहाेर साल तीन बोरी धान उत्पादन भए। यसपालि एक सुपो पनि नपाइने भयाे।'
८ भारी खेतमा धान राेपेकाे ताताेपानी-५ श्रीनगरका सुरबहादुर हमाल सयाैँ किसानकाे परिश्रम खेर गएकाे बताउँछन्। यसपालिकाे दसैँ खल्लो हुने उनकाे चिन्ता छ।
'बालीकाे हालत हेर्नुभयाे। सबै जान्नेसुन्ने आउनुभएकाे छ। हाम्रो समस्या देख्नुभएकै छ,' उनले भने, 'अब सरकारले राहत दियाे भने दसैँ मनाउन सकिएला। दिएन भने के गर्ने थाहा छैन।'
नुग्र्या जिउलाेमा खेत भएका तातोपानी गाउँपालिका–४, ५, ६ र चन्दननाथ–९ का सयौँ किसानलाई ठूलो पीर परेकाे छ। भित्र्याउने बेलामा धान खेतीमा राेग लागेपछि किसान मर्कामा छन्।
यसरी सारा किसान मर्कामा पर्ने गरेर कसरी समस्या आयाे? यसबारे किसानलाई केही जानकारी छैन। तर रैथाने बीउ नभएका कारण र हरेक वर्षजसाे उही बाली मात्रै दाेहाेर्याइरहँदा पनि समस्या आएकाे कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा बताउँछन्।
'यहाँ लगाइएको बीउ चन्दननाथ नगरपालिकाबाट ल्याइएको रहेछ। बीउ पनि धेरै पुरानो भइसकेको छ,' उनले भने, 'यसकाे प्रतिरोधात्मक शक्ति कम छ। राेग किराहरू सहन सक्दैन। उही बाली एउटै खेतमा निरन्तर लगाइरहँदा यस्ताे समस्या आउँछ।'
उनका अनुसार भित्र्याउने बेला मात्रै राेग देखिएकाले समस्या समाधान गर्न सकिने अवस्था छैन। त्यसमाथि नेक ब्लाष्ट (घाँटी मरूवा) राेग लागेपछि त्यसकाे कुनै उपचार हुँदैन।
खासगरी ब्लाष्ट राेग तीन किसिमकाे हुन्छ। पहिलाे, याे पातमा हुने संक्रमण। दोस्रो, फिंगर ब्लाष्ट (धानको डाँढमा) लाग्ने रोग। यी दुबैलाई नियन्त्रण गर्न सकिने कृषि अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक सुशीलराज सुवेदीले बताए।
उनका अनुसार तेस्रो नेक ब्लाष्ट जसलाई घाँटी मरुवा पनि भनिन्छ। जसकाे कुनै उपचार हुँदैन। उनले भने, 'याे अन्तिम अवस्थामा लाग्ने हुनाले समाधान छैन। बाली सखाप हुन्छ।'
नेक ब्लाष्ट लागेपछि बाला चारिउने, पोटिलो नहुने, धानमा दुध नभरिँदै झर्ने लगायतका समस्या देखिने कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाे भनाइ छ।
'पसाउने बेला पानी पर्दा र आद्रता बढी हुँदा याे राेग लाग्छ,' उनले भने, 'नेक ब्लाष्ट अन्तिम अवस्थामा लाग्ने रोग भएकोले पनि नियन्त्रणमा समस्या छ। आगामी वर्ष समयमै ध्यान दिनुपर्छ।'
काँचो मल, बिउ राखेको बेर्ना, सिँचाइ असुविधा, अत्यधिक वर्षालगायतका कारणले पनि याे राेगकाे प्रकाेप बढ्ने वैज्ञानिक सुवेदीले बताए।
नेक ब्लाष्ट रोगका कारण धानबाली सखाप भएपछि तातोपानीका किसानले पहिलाेपल्ट अप्रत्यासित रुपमा यति ठूलो क्षति बेहोर्नु परेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।
'पालिकाबाट राहत दिएर सम्भव छैन। दिन पनि सकिँदैन। जिल्ला विपद् व्यवस्थापनको बैठक बसेर, कार्यपालिका बैठक राखी किसानको राहत र पुन:स्थापनाका लागि पहल गर्छौं,’ उनले भने, 'क्षेत्रफलका हिसाबले ८० हेक्टर मार्सीफाँटको धानबालीमा क्षति भएको छ। एकिन विवरण आउन बाँकी नै छ।'
सबै धान नष्ट भएपछि किसानले क्षतिपूर्तिकाे माग गरेका छन्। 'याे क्षति सानाे हाेइन। चार वडाका किसानलाई क्षति पुगेको छ। स्थानीय सरकारकाे एक्लाे प्रयासले किसानलाई राहत हुँदैन,' अध्यक्ष चाैलागाईंले भने, 'हामी प्रदेश र संघमा पहल गर्छाैं। कार्यापालिका बैठक बसेर उपयुक्त निर्णय लिनेछाैँ।'
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायत दलका प्रतिनिधिले तत्काल जिल्लामा विपद्को बैठक बसेर किसानको राहतका लागि पहल गर्ने बताए।