उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो लिएका छन्।
उनले आइतबार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्दारबारे जानकारी लिएका हुन्।
गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उनले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन्।
नेपाली राजदूत रिजालले घाइते एवम् युद्ध क्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्दारको पहल गर्ने काम भैरहेको बताएका छन्। त्यस्तै इजरायली राजदूत गदरले नेपालीहरूलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताएका छन्।
यता हमासको आक्रमणमा परी घाइते भएका ९ जना नेपाली विद्यार्थीमध्ये ३ जनालाई अस्पताल लगिएको छ। त्यहाँ रहेका १२ जना विद्यार्थी सम्पर्कविहिन भएकाे बताएकाे छ। सर्म्पक बाहिर रहेका उनीहरूकाे अवस्थाबारे खोजी भइरहेको नेपाली राजदूतावासले जनाएकाे छ।