इजरायल–हमास तनावः दशकौँदेखि किन भइरहेछ द्वन्द्व?

Photo - Reuters
Photo - Reuters

शनिबार एकाबिहानैदेखि इजरायलमाथि प्यालेस्टाइनले स्थल र रकेट आक्रमण सुरु गरेपछि गाजा क्षेत्रमा युद्ध चलिरहेको छ।

इजरायलमा सर्वसाधारण, विदेशी नागरिक र महिला तथा बालबालिकालाई हमास समूहले बन्धक बनाएर क्रूर तरिकाले हत्यासमेत गरेका छन्। नेपाली विद्यार्थीहरू पनि यो आक्रमणको चपेटामा परेका छन्।

मध्यपूर्व लडाइँमा इजिप्टमाथि कब्जा गरेको ३८ वर्षपछि सन् २००५ मा गाजा क्षेत्रबाट इजरायली सेना फर्कियो। त्यो क्षेत्र प्यालेस्टाइनको नियन्त्रणमा भयो। २५ जनवरी सन् २००६ मा इस्लामिक समूह हमासले चुनाव जित्यो।

निर्वाचन परिणामपछि अमेरिका र इजरायलले त्यहाँ दिइने सहायत रोकिदिए। हमास समूहले इजरायललाई देशको मान्यता दिँदैन। हमास हिंसाको बाटोमा सुरुदेखि नै अघि बढिरहेको संगठन पनि हो।

के हो हमास?

प्यालेस्टाइनका जनताको मुक्तिका लागि भनेर शेख अहमद यासिनले हमासको स्थापना गरेका थिए। सन् १९८७ मा इजरायलका विरुद्ध इंतिफदा गरेक थिए यासिनले। त्यो भनेको इजरायलसँग विद्रोह थियो।

इस्लामी प्रतिरोध आन्दोलन हरकत अल–मुक्वाम अल–इस्लामिया अर्थात इस्लामिक रेसिसटेन्ट मुभमेन्ट सन् १९८७ मा सुरु भयो। त्यो अभियानको सिद्धान्त मुस्लिम ब्रदरहूडको विचारधारा निकट हो। यो इजिप्टबाट सञ्चालित संगठन भएपनि मध्यपूर्वमा यसकाे भूमिका अपत्यारिलो देखिन्छ।

इरानले त्यो मुभमेन्टलाई साथ दिएको थियो। मुस्लिम ब्रदरहूड सन् १९२० ताकादेखि नै संगठित भएको संगठन हो। सन् १९२८ मा हसन अल–बन्नाले मुस्लिम ब्रदरहूड स्थापना गरेका हुन्। यता हमासले आफ्नो संगठनमा सन् १९९२ मा सशस्त्र विभागको संरचना तयार पार्यो। सन् १९९३ देखि हमास लगातार इजरायलमाथि आक्रमक रहँदै आएको छ।

हमासले प्यालेस्टाइनी लिबरेशन अर्गनाईजेशन (पिएलओ) प्रमुख राषट्रपति महमूद अब्बासलाई युद्धमा ठुलो क्षति पुर्याएको थियो। सन् २००६ को निर्वाचन हमासले जित्यो। गाजा क्षेत्रमा हमासको शासन छ। त्यहीबेला सन् २००७ देखि प्यालेस्टाइन गाजा क्षेत्र हमासको नियन्त्रण छ।

उता पिएलओ नेता अब्बासले गाजा क्षेत्रमा हमास समूहबाट 'कू' भएको आरोप लगाइरहे। यता हमासले अब्बासलाई हमासविरुद्ध षडयन्त्र गरेको आरोप लगायो। आफ्नो सशस्त्र गतिविधिलाई प्रतिरोध बताउँदै हमास समूह बर्षौँदेखि लगातार इजरायलमाथि आक्रमण गर्दै आइरहेको छ।

हमासको तागत भनेको उसकाे 'इज अल–दीन अल–कसम ब्रिगेड' हो। हमासको यो विभाग हातहतियार, बमसहित आत्मघाती कार्यकर्ताको व्यवस्थापनका लागि कुख्यात छ।

सन् १९९० ताका इजरायल र प्यालेस्टाइनी लिबरेशन अर्गनाईजेशन(पिएलओ) बीच भएको 'ओस्लो शान्ति सम्झौता'को उतिबेलैदेखि हमासले विरोध गर्दै आइरहेको विषय हो।

सन् १९८८ को दशकमै हमासका संस्थापक समूहले इजरायलको सर्वनाश गर्न अपील गरिसकेका थिए। पछिल्लो आक्रमण त्यसकै निरन्तरता हो। हमास समूहमा प्रवेश गर्ने प्रत्येक सदस्यले 'इजरायल मेटाउनेछु' भनेर सपथ सँगै क्रिया खाने गर्छन्।

सन् १९६७ मा भएको युद्धताका इजरायलको नियन्त्रणमा रहेको प्यालेस्टाइनको कतिपय स्थानलाई हमास कब्जा गरिएको रुपमा लियो। त्यो त्यस्तो अवधि थियो, जतिबेला हमासले दीर्घकालीन संघर्ष विरामका लागि भनेर 'हुदना'को प्रस्ताव गरेको थियो। तर इजरायलले त्यो प्रस्तावलाई षड्यन्त्र भनेर खारेज गरिदियो।

हमासलाई लिएर विश्व समुदाय ध्रुविकृत छन्। जस्तो कि अमेरिका, युरोपीय संघ, क्यानाडा, इजिप्ट र जापानले हमास समूहलाई आतंकवादी संगठन भन्छन्। यता ब्राजिल, चीन, इरान, नर्वे, कतार, रुस, सिरिया र टर्कीसहितका राष्ट्र हमास समूहलाई आतंकवादी संगठन नभएको मान्यता दिन्छन्।

हमासका लागि काम गर्नेहरू संसारभरिबाट संगठनका लागि काम गर्छन्। खासगरी अमेरिकाको नीतिको विरोध गर्ने अन्य संगठनसँग पनि हमासले सहकार्य गर्छ। जस्तो कि लेबनान, सिरिया र इरानमा सक्रिय रहेको शिया इस्लामी समूह हिजबुल्लासँग हमासको निकटता रहेको देखिन्छ। हमास र हिज्बुल्ला संगठनका नेताहरू कतारलगायतका मध्यपूर्वका अरु देशहरूमा समेत सक्रिय रहेका हुन्छन्।

पछिल्लो २ दिनदेखि जारी युद्धमा इजरायलको खुफिया संस्थाको असफलता देखियो। उता हमासले रणनीतिक रुपमा इजरायल प्रवेश गरेर बस्ती र सहरमा गरेका धरपकड, आक्रमण, हत्याले इजरायलले हमासको सामना गरिरहनु परेको छ।

प्रकाशित मिति: : 2023-10-08 14:40:00

प्रतिकृया दिनुहोस्