शनिबार बिहानैदेखि इजरायलका आकाशमा रकेटको धुँवाले ढाकिँदैं थियो। गाजापट्टीबाट प्यालेस्टाइन विद्रोही हमासले अचानक इजरायली भूमिमा रकेट हान्न थालेपछि सहरभरि ‘सुरक्षा साइरन’ बज्न थाल्यो।
आक्रमणबाट बच्नका लागि इजरायलका हरेक वस्ती र घरहरूमा सुरक्षित बङ्कर (सेल्टर) बनाइएका छन्। साइरन बज्नासाथ सम्भावित आक्रमणस्थलका मानिसहरू त्यही बङ्करभित्र छिर्छन्।
शनिबार हमासले गरेको यो आक्रमणका लागि इजरायल प्रतिरक्षात्मकरुपमा त्यत्तिधेरै तयार थिएन। जसका कारण इजरायललाई हमासको यो गम्भिर धावा थेग्न हम्मेहम्मे परेको छ।
हमासको यो ‘आकष्मिक आक्रमण’बारे आफूहरूको ऐतिहासिक ‘चूक’ भएको स्विकार गर्दै इजरायली गुप्तचर नियकाले यो आक्रमणको परिकल्पना नै नगरिएको स्विकार गरेको छ।
हमासले शनिबार बिहान २० मिनेटको अन्तरालमा कम्तीमा ५ हजार रकेट इजरायलको भूमिमा आक्रमण गरेको दाबी गरेको छ।
हमासले रकेट आक्रमण गरेपछि इजरायलले त्यसको जवाफी कारबाहीका लागि प्यालेस्टाइन क्षेत्रमा हवाइ आक्रमण थाल्यो।
इजरायलले हवाइ आक्रमण गरिरहँदा हमासका हजारौ लडाकुहरू भने जमिनी बाटो हुँदै गाजा क्षेत्र नजिकैका इजरायली वस्तीमा छिरिसकेको थियो।
‘यो निकै फिल्मी शैलीजस्तै थियो। उनीहरू बख्तरबन्द गाडीमा चढेर आए अनि ओर्लेर अन्धाधुन्ध गोली चलाउन थाले’ त्यहाँ रहेका एकजना नेपाली समुदायका अगुवा दीपकप्रसाद वलीले भने ‘अघिपछि यस्तो भएको थिएन। यो अलि फिल्मीशैलीमा हमासका लडाकुहरू युद्धमा उत्रिएका छन्।’
उनका अनुसार कतिपय मानिस सुरक्षित हुन बसेका बङ्कर(सेल्टर)हरूमा पनि हमासका लडाकुहरू छिरेर मानिसलाई अन्धाधुन्ध आक्रमण गरेका थिए।
यी हमास लडाकुहरूले धेरै बङ्करहरूमा छिरेका मानिसलाई बन्धक बनाएका छन्। उनीहरूले कैयौं इजरायलीलाई पनि ‘युद्धबन्दी’ बनाएर राखेको समाचारहरू सार्वजनिक भएका छन्।
हमासले गरेको रकेट आक्रमणमा कम्तीमा ४० जना इजरायली नागरिक मारिएको अपुष्ट समाचारहरू आएका छन्। र २०० जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।
तर मानवीय क्षतिबारे अहिलेसम्म दुवै पक्षका सरकारी अधिकारीहरूले प्रस्ट्याएका छैनन्।
स्थानीयका अनुसार वस्तीमा रहेका सुरक्षित स्थल बङ्करभित्रै छिरेर हमासका लडाकुहरूले त्यहाँ रहेका नागरिकलाई पनि अन्धाधुन्ध गोली हानेका थिए।
यो आक्रमणमा गाजापट्टी छेउछाउमा रहेका नेपालीहरू पनि परेका छन्। नीतिबोद भन्ने ठाउँमा रहेको किबुज(प्रायजसो प्रवासी कामदार बस्ने ठाउँ) वस्तीमा सुरक्षाका लागि बनाइएका बङ्करहरू पनि हमासले नियन्त्रणमा लिएको छ। यही बङ्करमा कम्तीमा १७ जना नेपाली बन्धक रहेको इजरायलका नेपाली समुदायका अगुवाहरू बताएका छन्।
यो भनेको धेरैजसो कृषि विश्वविद्यालयहरू रहेको ठाउँ हो। जहाँ नेपालबाट पनि कृषि तालिमका लागि कैयौ नेपालीहरू जाने गर्छन्। इजरायल सरकारसँगको सम्झौताअनुसार हरेक वर्ष कृषि तालिम र कामका लागि नेपाली त्यहाँ जाने गर्छन्।
नेपाली दूतावासका अधिकारीहरूले बन्धक बनेका नेपालीको उद्धारका लागि त्यहाँको प्रशासनसँग कुरा भइरहेको बताएका छन्। त्यहाँ रहेका नेपाली समुदायका अगुवाहरूले पनि स्थानीय सुरक्षा निकायहरूसँग उद्धारका लागि समन्वय गरिरहेको बताएका छन्।
‘म आफैले यहाँको डिफेन्स फोर्सका उच्चअधिकारीहरूसँग सम्पर्क गरिरहेको छु। दूतावास र परराष्ट्रका पदाधिकारीहरूसँग पनि संवाद गर्न सहजीकरण गरिरहेको छु’ वली भन्छन् ‘यहाँका सुरक्षाअधिकारीहरूले धैर्य गर्न र आफ्नो सरकारको तर्फबाट सम्पूर्ण प्रयासहरू भइरहेको भनेर आश्वस्त पारेको छ।’
हमास लडकु र इजरायली फौजबीच करिब २ दर्जन स्थानमा भीडन्तहरू भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
के छ नेपालीको अवस्था?
परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म नौजना नेपाली घाइते भएको र २ जनाको अवस्था गम्भिर रहेको जनाएको छ। मन्त्रालयले १४ जना नेपाली आक्रमण (बङ्करभित्र थुनिएको) भनेर जनाएको छ। तर त्यो क्षेत्रमा रहेको फायर वेस्टर्न युनिर्भसिटीमा मात्रै १७ जना नेपाल कृषि प्रशिक्षार्थी थिए।
त्यहाँ रहेका नेपाली समुदायको सम्पर्कमा ४ जना सम्पर्कमा आइसकेका छैनन्। बङ्करभित्र घाइते अवस्थामा रहेका नेपालीहरू रगतमा लतपतिएको अवस्थामा देखिएका थिए।
सुरक्षाका लागि बनाइएका बङ्करहरू कतिपय इन्टरनेट नचल्नेखालका पनि छन्। साइरन बजेपछि कतिपय नेपाली बङ्करभित्र छिर्दाछिर्दै हमासका लडाकुहरूले गोली हानेका थिए। तीमध्ये २ जना नेपाली गोली लागेको अवस्थामा भित्र छिरेका थिए।
‘बङ्करभित्र रहेका नेपालीसँग हामीले भिडियो सम्पर्क गरेका थियौं’ वली भन्छन् ‘रगत लतपतिएको अवस्थामा थियो। त्यहाँ अरु पनि धेरै मानिस छन्। तीमध्ये घाइते नेपालीले हामीसँग उद्धारका लागि अपिल गरेका थिए।’
पूरै इजरायलभरि कम्तीमा ४ हजार ५ सय नेपाली छन्। तीमध्ये धेरैजसो ‘केयर गिभर’मा गएकाहरू छन्। धेरै महिला स्वास्थ्यकर्मीहरू पनि छन्।
उद्धार
अहिलेसम्म इजरायली सुरक्षा निकायले उद्धारका लागि कुनै कदम उठाउन सकेको छैन। इजरायलले हवाइ आक्रमण थालेपछि हमासका लडाकुहरू इजरायली वस्तीमा घुसेर त्यहाँ मानिसहरू बन्धक बनाउन थालेका थिए।
‘यहाँको सुरक्षा निकायले प्रयास त गरिरहेको छ। तर अहिलेसम्म त्यस्तो प्रयास सफल हुन सकेको छैन’ बन्धक बनाइएका ठाउँ वरिपरि इजरायली सुरक्षाफौंज तैनाथ छन्। अनि एम्बुलेन्स र उद्धारका साधनहरू घुमिरहेका छन्। तर हमासको बन्धनबाट मुक्त गर्न सकिरहेका छैनन्।’
उनका अनुसार तत्काल उद्धारको सम्भावना पनि छैन। इजरायली एयरफोर्सले प्यालेस्टाइका कतिपय ठाउँहरूमा जवाफी कारबाही गरिरहेको छ। तर गाजा क्षेत्रमा सिधै आक्रमण गर्न सकिरहेको छैन।
गाजा क्षेत्र हमासले आफ्नो नियन्त्रणमा रहेको र आफू नै त्यहाँको शासक भएको दाबी गरे पनि यो क्षेत्रमा इजरायली नागरिककै बसोबास छ।
कसले के भने?
अचानक सुरु भएको इजरायल-प्यालेस्टाइन युद्धका बारेमा संसारभरका राष्ट्रहरूले प्रतिक्रिया दिइरहेका छन्।
नेपालले इजरायलमाथि आक्रमणको निन्दा गरेको छ र यो घडीमा नेपाल सरकार इजरायलको साथमा रहेको जनाएको छ। शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै दुवैपक्षसँग ‘मानवियता’का लागि अपिल पनि गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो आक्रमणको निन्दा गरेका छन्। उनले इजरायलमाथिको आक्रमणलाई ‘आतंकवादी आक्रमण’ भन्दै दु:ख व्यक्त गरेका छन्। र ‘दु:खको यो घडीमा भारत इजरायलको साथमा रहेको’ बताएका छन्।
साउदी अरबको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर यो युद्धबारेमा गम्भिर ध्यानाकर्षण भएको बताएको छ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो, जर्मनका विदेशमन्त्री तथा युरोपियन कमिसनका अध्यक्ष प्रेसिडेन्ट उर्सुला वान डेर लेयेनले हमास आक्रमणको निन्दा गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई फोन गरेर अमेरिका इजरायलकै साथमा रहेको र उसलाई पूरै सहयोग अनि समर्थन रहेको बचन दिएका छन्। इरानका सर्वोच्च कमाण्डर आयातुल्लाह अलि खामेनेइले भने हमासको आक्रमणलाई समर्थन गरेको छ।
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अब इजरायल युद्धमा होमिइसकेको र गाजाको शासक हमासले कल्पना नै गर्न नसक्ने मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। इजरायलको रक्षा विभागले दर्जनौं लडाकु विमानहरू गाजा क्षेत्रमा पठाएर आक्रमण गरिरहेको छ।
हमासका नेता मोहम्मद डेफले आक्रमणपछि प्रतिक्रियामा भनेका छन् ‘हामीले भनिसकेका थियौं अब अति नै भयो। यो आक्रमण त्यसैको परिणाम हो। अति भनेको अति नै हुन्छ भनेर हामीले आक्रमणको निर्णय गरेका हौं।’
यसलाई हमासले ‘अपरेशन अल-अक्सा स्टर्म’ नाम दिएको छ।
रुस-युक्रेनको युद्ध नसकिँदै फेरि मध्यपूर्वले अर्को युद्धको सामना गर्नुपर्ने भय थपिएको छ। नेपालको छिमेकी भारत तथा अमेरिकालगायत विश्वका कतिपय राष्ट्रहरूले इजरायलमाथिको आक्रमणको निन्दा गरेका छन्।