काठमाडौँस्थित अमेरिकी दूताबासले २०२३ डिसेम्बरदेखि २०२४ मे सम्मका लागि भिसा अपोइन्टमेन्ट बुकिङ खोल्ने घोषणा गरेको छ। दूताबासले असोज १७ देखि १९ सम्म तीन दिन दिउँसो २ बजेदेखि अपोइन्टमेन्टका लागि बुकिङ गर्न सकिने जनाएको छ।
यसका लागि ustraveldocs.com/np वेबसाइटबाट गई आफ्नो अकाउन्टमा लग इन गरेर आफ्नो अपोइन्टमेन्ट बुक गर्न सकिने छ। अनलाइन अकाउन्ट नहुनेले तुरून्तै अकाउन्ट खोलेर लग इन गरी बुकिङ गर्न सकिने जनाइएको छ।
अपोइन्टमेन्ट बुकिङ गर्नका लागि भिसा शुल्क पहिले नै तिरेको हुनुपर्छ। अक्टोबर ४ बुधबार दिउसो २ बजेअघि नै भिसा शुल्क तिरेकाहरुले अपोइन्टमेन्ट खुल्ने बित्तिकै बुक गर्न सक्ने बताइएको छ।
पहिले नै अपोइन्टमेन्ट लिइसकेकाले पनि नयाँ मिति बुकिङ गर्न सक्नेछन् । अपोइन्टमैनट भिजिटर भिसा लगायतका गैर आप्रवासी भिसाका लागि हो ।
हजारौँका लागि खोलिएको दाबी गरिएको यो भिसा अपोइन्टमेन्ट बुकिङ कति सहज हुन्छ?, त्यसको लागि चाहिँ बुधबार २ बजेसम्म कुर्नैपर्छ। कसैले अपोइन्टमेन्टका लागि आफ्नो अकाउन्ट लग इन गरेर प्रक्रियामा गएपछि मात्र यसको परीक्षण हुनेछ।
अमेरिकाको गैरआवासीय भिसा अपोइन्टमेन्ट लागि २०२५ को मेसम्म कुर्नपर्ने खराब स्थिति सिर्जना गरेर काठमाडौैस्थित अमेरिकी दूताबास आलोचनाको निशानामा पर्दैआएको छ। २०२३ मा भिसाका लागि आवेदन दिनेलाई त्यसको दुई वर्षपछि अपोइन्ट दिनु हाँस्यास्पद कुरा हो। त्यसमा पनि अमेरिकाजस्तो पब्लिक डेलिभरीको च्याम्पियन हुँ भन्ने देशका लागि त एक किसिमको लज्जाको विषय नै हो।
यही लाज बचाउनकै लागि भए पनि खोलिएको यो बुकिङबाट नेपाली भुक्तभोगीहरू लाभान्वित हुन्छन् कि हुँदैनन्, त्यो भने हेर्न बाँकी नै छ।
यसैबीच दूताबासले दशैं र तिहारको साताका अक्टोबर २६ र २७ तथा नोभेम्बर १६ र १७ मा पनि अपोइन्ट उपलब्ध गराएको छ । यी दिनका लागि अपोइन्टमेन्ट बुकिङ गर्न सकिने जनाइएको छ।