काठमाडौँको चन्द्रागिरि नगरपालिकाले इँट्टाभट्टा, होटल, यात्रायात क्षेत्र तथा कृषि कर्ममा प्रयोग भएका तथा घरेलु कामदारका रुपमा राखिएका बालश्रमिकको खोजी गरी पुनःस्थापनका कामलाई तीव्र पारेको छ।
उनीहरूलाई स्कुलमा पढाउने, घर फर्काउने तथा विभिन्न सीपमूलक कार्यक्रम आयोजना गरी बालश्रमिक हटाउने अभियानमा नगरपालिका लागेको हो। बाल विकास समाज, वल्ड भिजन इन्टरनेशनल नेपाललगायत विभिन्न सङ्घसंस्था र स्थानीय समूह एवं बाल क्लबको संयोजन तथा सहकार्यमा उक्त अभियान चलाइएको र त्यसबाट धेरै कम हुँदै गएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए।
इँट्टा उद्योगमा रहेका बालबालिकाको उत्थानशील विकास परियोजनाको उपलब्धिका विषयमा भएको अन्तरक्रियामा नगरपालिकाका प्रमुख गिरीले बालबालिकालाई पहिचान गरी बालश्रम मुक्त बनाउन थालिएको जानकारी दिए। उक्त परियोजना चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिका २२ बुंमती क्षेत्रमा लागू गरिएको छ। चन्द्रागिरि नगरपालिकाका पूर्वउपप्रमुख लिशा नकर्मीले पछिल्लो पाँच वर्षमा बालअधिकारका क्षेत्रमा चन्द्रागिरिमा ठूलो काम भएको बताए।
उनले विगतमा पूर्वाधारमा बढी केन्द्रित भएकाले अब भने समाज सुधार तथा सामाजिक कामलाई प्राथमिकतामा राखेर सुशासन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। समारोहमा राष्ट्रिय बालअधिकार परिषद्का सदय सचिव इन्द्रादेवी ढकालले बालश्रम अन्त्य गर्न नेपाललले प्रतिबद्धता जनाइसकेकाले चुनौतीपूर्ण रहे पनि सबैको सहयोग भएमा सफल हुने बताए।
उनले केही बालबालिका रहरले र धेरैजसो बाध्यतामा बालश्रम गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले इँट्टाभट्टा र होटर, रेष्टुराँमा धेरै बालश्रम रहेको बताए। काठमाडौँ इँट्टा उद्योग व्यवसायी सङ्घका अध्यक्ष केदार गोसाईंले उद्योगमा पछिल्लो समयमा बालश्रम मुक्त हुँदै आएको र अब त्यस्ता व्यक्तिको जीवनयापनमा सुधार ल्याउन जरुरी रहेको बताए। उनले नेपालको पाँच प्रदेशमा इँट्टा उद्योग रहेको र ती प्रदेशमा आर्थिक मन्दीका कारण उद्योग घट्दो क्रममा रहेको बताए।
उनले नेपालमा एक हजार दुई सय इँट्टा उद्योग रहेकामा घटेर अहिले ६०० मा झरिसकेको बताए। सहभागीहरूले बालश्रम मुक्त गर्न स्थानीय तहले भूमिका बढाउनुपर्नेमा जोड दिएका छन्। समारोहमा बालविकास समाजका कार्यक्रम व्यवस्थापक प्रदीपकुमार श्रेष्ठले इँट्टा उद्योगभित्रको बालश्रमको अवस्था र परियोजनाले पारेको प्रभावका विषयमा जानकारी गराएका थिए। पछिल्लो समयमा चन्द्रागिरि नगरपालिकाले विभिन्न वडालाई बालश्रम मुक्त बनाउँदै लगेको छ।