मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था गरेका छौँः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायका लागि आफ्नो पार्टीमा समानुपातिक समावेशी आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताएका छन्।

काँग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज आइतबार उनले मुस्लिम समुदायलाई राज्यका निकायमा पनि संविधानअनुसार समानुपातिक समावेशी आरक्षणको व्यवस्था गरिएको उल्लेख गरे। सभापति देउवाले निर्वाचनमा जातका आधारमा मात्र भोट दिने चलन हटिसकेको र राम्रो उम्मेदवार हेरेर भोट हाल्ने गरेको सन्दर्भमा त्यसतर्फ समेत ध्यान दिन नेता कार्यकर्ताको ध्यानाकृष्ट गराए।

उनले मुस्लिम समुदायमा रहेको एकता र सौहार्दताको प्रशंसा गर्दै यसले अन्य समुदायलाई पनि प्रेरणा मिलेको विश्वास व्यक्त गरे। सो अवसरमा सभापति देउवाले सङ्घले समयमै महाधिवेशन गरेको र यसले अन्य भ्रातृ संस्थालाई पनि प्रेरणा मिल्ने बताउँदै महाधिवेशनबाट एकताका साथ सफल नेतृत्व चयनका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रममा काँग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी सबै जातजाति, धर्म र समुदायको प्रतिनिधित्व गर्ने राष्ट्रिय चरित्रको पार्टी भएको उल्लेख गर्दै पार्टी र सरकारमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी काम गर्ने विश्वास दिलाए। उनले हाम्रो समाजमा परापूर्व कालदेखि नै साम्प्रदायिक सद्भाव रहेको उल्लेख गर्दै यसमा कहीँ कसैले खलबल्याउने नियोजित प्रयास गरे त्यसप्रति सबै एकजुट भएर सचेत हुनुपर्ने बताए। 

 

प्रकाशित मिति: : 2023-09-24 20:34:00

प्रतिकृया दिनुहोस्