महेश नेपाली
इन्टरसफ्ट नेपाल प्रालिका सञ्चालक नरेश शाहीसँग यतिबेला जलेर नष्ट भएकाे पसल मात्रै छ। शनिबार मुगु बजारमा आगलागी भएर जलेका छ वटा घर, एक घुम्ती र ९ वटा पसलमा उनकाे पसल पनि थियाे।
उनले एक महिनामा आफ्नै घरमा पसल सार्ने याेजना बनाएका थिए। निकै संघर्षपूर्ण जीवन गुजारेर सञ्चालनमा ल्याएकाे व्यवसाय पुरै जलेर खरानी भएपछि उनी निराश छन्।
बाल्यकाल आमासँग बिताएका उनीसँग कष्टदायी जीवनका अनकाैँ अनुभूति छन्। ती सबै दु:ख कष्ट सम्झिँदा उनलाई रिंगटा लाग्न थाल्छ। दिनरात एक गरेर सुरु गरेकाे पसल जल्दा उनलाई सम्हालिन निकै कठिन छ।
'जिन्दगीमा भोगेका कुनै एक/दुई दुःख भए पो सम्झिनु र सुनाउनु,' उनकाे दुखेसाे छ, 'गरिबी र अभावसँग नजिकको सम्बन्ध भएपछि सम्झिने र बिर्सने छुट्टै घटना नहुँदा रहेछन्। जिन्दगीको यात्रामा अभावको गोरेटो बहुत लामो लाग्यो।'

कष्टसाध्य जीवनसँग पाैंठेजाेरी खेल्दै नरेशले सुरु गरेका थिए, कम्प्युटर व्यवसाय। व्यवसाय सुरुवातीकाे पनि लामाे कथा छ नरेशकाे। २०६५ मा एसएलसी पास गरेपछि उनी पढ्न भनेर काठमाडौँ गएका थिए। बीबीएस सुरु गरेको बेला तीनवर्षे कम्प्युटर कोर्ष छात्रवृत्तिमा पढ्ने अवसर पाए। कम्प्युटर उनको सानैदेखि रुचिको विषय थियो। दुबै कोर्ष सँगसँगै लगे।
सन् २०१५ मा उनको कोर्ष पूरा भयो। मुगु फर्काैँला भन्ने सोचेका थिएनन्। त्यसैले विदेश जाने तयारी गरिरहेका थिए। त्यहीबेला मुगुमा रहेकी आमा बिरामी भएको खबर आयो। उनी मुगु आए। आएको तीन महिनामै आमा बितिहालिन्। त्यसपछि उनी काठमाडौँ फर्केनन्। त्यहीँ एउटा एनजीओमा काम थाले। केही समय काम गरे। त्यहीबेला केही कार्यालयका कम्प्युटरमा आएका समस्याको समाधान उनी गरिदिन्थे। त्यसले केही मात्रामा आम्दानी बढिरहेको थियो।
कोठामा सानो व्यवसाय थालेका थिए। समय बित्दै जाँदा जागिरभन्दा पनि आफ्नो रुचिको क्षेत्र कम्प्युटर व्यवसाय सुरु गर्ने सोच बन्यो। जसलाई मलजल गर्न देशको नयाँ राजनीतिक संरचनाले पनि सहयोग गर्यो। स्थानीय संरचनाले नजिकका व्यापार व्यवसाय र बजारलाई प्राथमिकता दिन्छ भन्ने उनले ठानेका थिए। ठूलो आशा थियो। त्यही आशाले कम्प्युटरको डिलर नै राखे।
सरकारी, गैरसरकारी तथा मुगुका जोसुकैले किन्नुपर्यो भने काठमाडौँको बजारमा प्रचलित दरभन्दा १० प्रतिशत सस्तोमा दिन्छु भन्ने प्रतिबद्धता गरे। अझ काठमाडौँको मोलभन्दा उस्तै परे १० हजार रुपैयाँ सस्तोमा दिन खोजे। तर, गाउँका सिंहदरबारको व्यवहार सोचेको भन्दा आकाश-जमिन अन्तर भैदियो। उनको डिलरका कम्प्युटर बिक्री भएनन्। जसले किन्दिए भने भारी छुट पाउने थिए, ती कोही किन्न आएनन्।
सरकारी संयन्त्र जसको आशमा व्यवसाय सुरुवात गरिएको थियो। ऊ सस्तोमा किन्नेभन्दा पनि बार्गेनिङ गर्न थाल्यो। आपूर्तिकर्ताले कतिमा दिन्छ भन्दा पनि आफूलाई कति फाइदा आउँछ भनेर हिसाब गर्न थाल्यो। स्थानीय आपूर्तिकर्तासँग यस्तो हिसाब गर्यो भने कहिँकतैबाट लिक हुने सम्भावना धेरै रहने हुनाले ऊ कसैले नचिन्ने अर्थात् आफैँले समेत नचिनेको आपूर्तिकर्तासँग गयो।
नरेश यो खेलको भित्री तहसम्म त पुगेनन्। तर, उनले बुझ्नलाई भने कोसिस गरे। २० देखि ४० प्रतिशतसम्म उल्टो दिनुपर्ने रहेछ। अब उनले बेच्ने कम्प्युटर काठमाडौँको बजारमा यति पर्छ, त्यसको १० प्रतिशत वा १० हजारभन्दा सस्तोमा दिन्छु भन्ने भीष्मप्रतिज्ञाले काम गरेन। ४० प्रतिशतसम्म खरिदकर्तालाई कमिसन दिने बलियो संयन्त्र निर्माण गर्नुपर्ने रहेछ। यो खेलोमेलोमा टिम पनि बलियो हुनुपर्ने रहेछ। एक्ला उनले त्यस्तो केही गर्न सकेनन्।
यसले उनको युवा जोशलाई चरम निराशामा परिणत गराउने सम्भावना धेरै थियो। तर, उनी संयमित थिए। परिपक्व धारणा बनाएर व्यवसाय खाेलेका थिए। आफ्नो व्यवसायको स्वरुपमा केही परिवर्तन गरे। कम्प्युटर तालिम कक्षा सञ्चालन गर्न थाले। कम्प्युटर तालिम लिन आउनेको संख्या विस्तारै बढेको छ। तर पनि थोरै खर्च गरेर सूचना प्रविधिबारे ज्ञान लिनुपर्छ भन्ने चेतना बढेको छैन।
तीन हजारमा तीन महिने कोर्स सकाउनुपर्छ भन्ने छैन। बरु आवश्यक परेको बेला ३० हजार हालेर सर्टिफिकेट किन्ने चेतना हावी छ। 'चेतनास्तर कम भएको ठाउँमा यो तालिम महत्वपूर्ण छ भनेर सिक्न खोज्ने पनि कम हुँदा रहेछन्,' उनले दुखेसो पोखे, 'कम्प्युटर अप्रेटरको विज्ञापन खुल्यो भने तालिम लिएको सर्टिफिकेट किन्न खोज्नेको भिड हुन्छ। त्यस्तोबेला स्थानीय सरकारका प्रमुखदेखि कर्मचारीसम्मले पावर लगाउन खोज्छन्। यस्तो खालको चेतना भएको ठाउँमा काम गर्नुका कैयन अप्ठ्यारा छन्।'
हाल उनी जस्तो काम आउँछ, त्यही गर्न तयार छन्। सानो, ठूलो सबै काम नाई भन्दैनन्। सकेसम्म गुणस्तरीय सेवा प्रवाहमा उनको रुचि छ। 'हाम्रा कयौँ नेपाली दाजुभाइ विदेश जाँदा निम्नस्तरको काम गर्छन्। त्यहाँ कुनै हीनताबोध हुँदैन भने यता त्यतिको काम गर्नु परिरहेको छैन भने अब कामलाई सानो या ठूलो भनी किन वर्गीकरण गर्नु?', उनले भने।
उनी फ्रिल्यान्स डिजाइनर पनि हुन्। लोगो डिजाइन गर्छन्। डाटा इन्ट्री, वेभ डेभलपमेन्ट र मेन्टेनेन्स समेत गर्छन्। सुरुमा यस्ता काम धेरै पाइन्छन् भन्ने ठानेका थिए। तर, निर्वाचित जनप्रतिनिधि र कर्मचारीतन्त्र दुबै स्वार्थ मिलाउन सिपालु भएकाले काम पाइन छोड्यो।
यस्ता प्रकृतिका काम गर्ने व्यापारी मुगुका विचरा हुन्। उनीहरु मर्कामा छन्। किन्नेले सामान मात्रै खोज्दैन, कमिसन पनि खाेज्छ। दिएन भने अर्कोमा जान्छन्। यस्ता काममा गोपनियता कायम गर्न सकेन भने सरकारी कर्मचारीको खेल सकिने सम्भावना रहन्छ। त्यसैले पनि स्थानीय बजार र व्यापारी उनको नजरमा पर्दैनन्।
काठमाडौँभन्दा मुगुमा सस्तोमा सामान पाइन्छ भने त्योभन्दा ठूलो कुरा अरु केही हुन सक्दैन। धेरैलाई यो कसरी सम्भव हुन्छ भन्ने पनि लाग्छ। यो सम्भव थियो। नरेश आफैँले पूरा हिसाब गरेर तयारी गरेका थिए। उत्पादकले नेपालभरका डिलरलाई दिने रेट एउटै हो। काठमाडौँका व्यापारीले लाख बराबरको सटर भाडा तिर्छन्, ठूलो लगानी गर्न बैंकबाट ऋण लिएका हुन्छन्। त्यो सबै उठाउन मोल बढाउँछन्।

मुगुमा थोरै यातायात खर्च लाग्छ भने सटर भाडा निकै सस्तो छ। स्थानीय सरकारले यस्तो मौका छोप्न सकेको भए बचेको रकमले विकास निर्माणमा टेवा पुग्थ्यो। त्यसले थोरै भए पनि विकास बढी हुन्थ्यो। कर्मचारीदेखि जनप्रतिनिधि सबै जनताप्रति उत्तरदायी नहुँदा यस्ता समस्या आउने रहेछन्।
यही बीचमा उनले ट्युसन सेन्टर पनि खोले। तर, सरकारी शिक्षकको सिन्डिकेटले त्यो व्यवसाय फापेन। पढ्न आउने विद्यार्थीलाई प्राक्टिकल नम्बर नदिने। परीक्षामा चिट नचोराउने। कक्षामा नराम्रो व्यवहार गर्ने जस्ता समस्या विद्यार्थीले खेप्नुपर्ने भयो।
सरकारी शिक्षक आफू अवैधानिक रुपमा कक्षा सञ्चालन गर्ने र विद्यार्थी आफ्नोमा पढ्न नआए उनीहरुको भविष्यमा खेल्नेसम्मको हर्कत गर्न थालेपछि उनले विद्यार्थी पाउन छोडे। जिल्लामा कानुनी रुपमा दर्ता गरेर उनले खोलेको एकमात्र फर्म (ट्युसन सेन्टर) कानुनी रुपमै बन्द भयो। गैरकानुनी फर्म चलिरहेका छन्। सदैव चलिरहने छन्।
सर्वसाधारणको आम्दानी निकै कम छ। सुचना प्रविधि प्रयोग र पहुँचबारे कुनै खालको चेतना छैन। किन्ने सरकारले नै हो तर उसको चरित्र विचौलियाको जस्तो छ।
उनले सरकारी कम्प्युटर मर्मतलगायतका काम लिन थाले। राम्रो गरिदिएका हुनाले विस्तारै विश्वास बढेकाे थियाे। केही सरकारी कार्यालयको विश्वास जितेपछि ग्राहक बनेका थिए। सानो बजारमा सीमित ग्राहकले मात्र पत्याउँदा उनको ठूलो आकारको व्यवसाय राम्रो भैहाल्ने थिएन।
सीमित बजार, सीमित ग्राहक र सीमित चेतनास्तर भएको ठाउँमा काम गर्नु फलामको चिउरा चपाउनुजस्तै हो। फलामकाे चिउरा चपाउँदै सुरु गरेकाे व्यवसायबाट उनले बजारमा घर लगाउन सके। यही नै उनकाे जीवनकाे सफलता हाे।
आफ्नै घरमा आफ्नाे व्यवसाय संचालन गर्ने सपनालाई शनिबार मुगु बजारमा लागेकाे भिषण आगलागीले चकनाचुर पारिदिएकाे छ। र पनि एउटा आश राखेर बजेका छन्, नरेश। भन्छन्, 'एक अध्यायको समाप्ती सँगै जलेका घर र मन पुनः ठडिने छन्।'
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया