चीनमा प्रधानमन्त्री प्रचण्डकाे तीव्र दाैडधुप !

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीनको ह्वानझाउ आइपुगेका छन्।

स्थानीय समयअनुसार शनिबार बिहान साढे १० बजे उनी ह्वानझाउको हाङ्चाओ विमानस्थलमा अवतरण गरेका थिए। उनी न्युयोर्कको जेएफके अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार शनिबार विहान १ बजे हङ्कङका लागि उडेका थिए । उनी हङकङ हुदै ह्वानझाउ पुग्दा विमानस्थलमा चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवम् चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए।

प्रधानमन्त्री दाहालले चीनको भ्रमण ह्वानझाउमा आजै उदघाटन भएको १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएर सुरू गरे । त्यहाँ उनलाई चिनियाँ खेलकुद अधिकारीहरूले स्वागत गरेका थिए।

आजै हाङ्झाउमा नै प्रधानमन्त्री दाहाल चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गरेकाे दिवाभोजमा सहभागी भए । दिवाभोजमा नेपालको भ्रमण दलका अन्य सदस्य पनि सहभागी  थिए।

आजै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्। उनीहरूबीचको सो वार्तामा द्विपक्षीय हित र चासोका साथै नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै प्रधानमन्त्री दाहाल भोलि आइतबार चीनको राजधानी सहर बेइजिङ आउने कार्यक्रम छ। उनी आइतबार बिहान ११ः१० बजे आइपुग्ने कार्यक्रम रहेको छ।

बेइजिङमा भोलि हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन्।

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ। उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ। 

आइतबार नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।

त्यस्तै सोमबार प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्ने छन्। त्यस्तै सोमबार नै प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ।

त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्किने कार्यतालिका रहेकाे छ।

प्रकाशित मिति: : 2023-09-23 21:25:00

प्रतिकृया दिनुहोस्