शिक्षक आन्दोलन: माइतीघर-बानेश्वर सडक अस्तव्यस्त

शनि शाक्य

काठमाडौं

प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरू आज पनि आन्दोलनमा उत्रिएका छन्।

सरकारले आफ्ना माग सम्बोधन नगरेकाे भन्दै शिक्षकहरूले आज तेस्राे दिन पनि आन्दोलनमा जारी राखेका हुन्।

शिक्षकहरूकाे आन्दोलनले माइतीघर-बानेश्वर सडक अस्तव्यस्त भएकाे छ भने काठमाडौँको मुख्य क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ।

नाराबाजी गर्दै नयाँ बानेश्वर आएका शिक्षकहरूले माइतीघरमै बसेर अनुशासित भइ आन्दोलनका कार्यक्रमलाई अगाडि बढाउने भन्दै फर्किएका छन्।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर नेपाल शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौँमा आन्दोलन गर्दै आएको छ।

शिक्षकहरूले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन्।

सरकार र महासङ्घबीच २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते भएका सम्झौताहरुलाई विधेयकले यथोचित सम्बोधन नगरेको महासङ्घको गुनासो छ।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।

प्रकाशित मिति: : 2023-09-22 12:34:00

प्रतिकृया दिनुहोस्