नेकपा एसले असोज १४ देखि ‘समाजवाद जागरण यात्रा’ गर्ने

नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि ‘समाजवाद जागरण यात्रा’ गर्ने भएको छ। पूर्व झापाको काँकडभिटास्थित मेची नदीबाट सुरु हुने ‘समाजवाद जागरण यात्रा’ पश्चिम महाकाली पुगेर सकिनेछ।

जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्प पोख्रेलको संयोजकत्वमा उपसमिति गठन भएको छ। बुधबार बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले पोख्रेलको संयोजकत्वमा उपसमिति गठन गरेको हो। 

समाजवाद जागरण यात्रामाथि प्रकाश पार्न असोज १३ गते काँकडिभिटामा पत्रकार सम्मेलन गर्ने, सोही दिन काँकडभिटामा सडक नाटक मञ्चन गर्ने र ५ बजेदेखि ७ बजेसम्म स्थानीय पार्टी बैठक हुने भएको छ।

समाजवाद जागरण यात्राले असोज १५ गते बिहान इटहरीमा विषयगत छलफल, १० देखि ११ बजेसम्म इटहरी सभा, २ बजे इनरुवामा कोणसभा र ३ बजे कोशी ब्यारेजबाट बिदा हुने कार्यक्रम तय भएको छ। 

त्यसपछि समाजवाद जागरण यात्राले विभिन्न ठाउँमा छलफल गर्दै पश्चिम महाकालीमा पुगेर अन्तिम कार्यक्रम गर्नेछ। 

प्रकाशित मिति: : 2023-09-20 21:04:00

प्रतिकृया दिनुहोस्