एसियाली खेलकुद: स्क्वासमा दिदी-भाइका जोडी

BreaknLinks
BreaknLinks

एसियाली खेलकुदमा पहिलोपल्ट भाग लिन लागेका नेपाली महिला स्क्वास खेलाडी आफ्नो प्रदर्शनलाई अविस्मरणीय बनाउन यतिबेला सात दोबाटोस्थित स्क्वास कोर्टमा कडा अभ्यास गरिरहेका छन्।

उनीहरूलाई इटालियन प्रशिक्षक रेन्जो अन्डर्नाले विगत एक महिनादेखि विशेष अभ्यास गराइरहेका छन्। यसपालि एसियाडमा ३ पुरुष र ३ महिला गरी ६ खेलाडीले भाग लिँदैछन्।

१९औँ संस्करणको एसियाड चीनको हानचाउमा सेप्टेम्बर २३ देखि सुरु हुँदैछ।

यसपालि नेपाली महिला र पुरुष खेलाडी एकल, मिक्स डबल र डबल गरी ६ वटा पदकका लागि भिड्दैछन्। महिलातर्फ विपना ब्लोन, कृष्णा थापा र स्वस्थानी श्रेष्ठले राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दैछन्।

यस्तै पुरुषतर्फ अरहान्त केशर सिंह, अमृत थापामगर र अमिर ब्लोन छन्। ‘पहिलोपल्ट एसियाडमा भाग लिँदैछौँ। त्यसैले मनमा थुप्रै कौतुहलता छ। हामी हानचाउमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छौँ’, नवौँ बृहत राष्ट्रिय खेलकुदमा महिला एकलतर्फ स्वर्ण जितेकी विपना ब्लोनले बिएल नेपाली सेवासँग भनिन्।

नेपालका तर्फबाट पुरुष खेलाडीले दोस्रोपल्ट एसियाडमा भाग लिन लागेका छन्। यसअघि इन्डोनेसियामा आयोजना भएको १८औँ एसियन गेम्समा दुई पुरुष खेलाडी अरहान्त केशर सिंह र अमृत थापामगरले भाग लिएका थिए।

अमिर र विपना तथा अमृत र कृष्णा दिदी–भाइ हुन्। अमिरले पहिलोपल्ट एसियन गेम्समा मौका पाएका हुन्। उनी पनि आफ्नो पहिलो सहभागितालाई लिएर उत्साहित छन्।

‘मलाई सपना जस्तो लागेको छ। आफूभन्दा अगाडिका दाजुहरूले एसियन गेम्सको कुरा गर्दा कहिले मौका पाइन्छ जस्तो लागेको थियो। तर, त्यो सपना पुरा हुँदैछ’, उनले भने।

एसियाली खेलकुदका लागि स्क्वासले नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएसँगै तयारी सुरु गरेको थियो।

तर, औपचारिक रुपमा अभ्यास भने असार १ गतेबाट सुरु भएको हो। नेपाल स्क्वास एण्ड र्‍याकेट्स संघले भने खेलाडीलाई साउन १ बाट बन्द प्रशिक्षणमा राखेको हो।

‘इटालीबाट आएका प्रशिक्षकले धेरै मेहनत गरिरहनुभएको छ। तयारी राम्रो भइरहेको छ,’ नेपाली प्रशिक्षक हिरा थापामगर भन्छन्, ‘हामीले एसियाडको लागि निकै अघिदेखि तयारी थालेका थियौँ। साउनदेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छौँ।’

बिहान र बेलुका गरि दिनमा दुई पटक खेलाडीले प्रशिक्षण गरिरहेका छन्।

हाल अमृत थापा मगर आफ्नै खर्चमा अहिले इटालीमा एसियाडको तयारी गरिरहेका छन्। बाँकी ५ खेलाडीलाई इटालीका प्रशिक्षकले नेपालमै प्रशिक्षण दिइरहेका छन्।

रेन्जोले तेस्रो पटक नेपाली स्क्वास टोलीलाई प्रशिक्षण दिएका हुन्। स्क्वासले यसपालिको एसियाडमा पदक जित्नेभन्दा पनि राम्रो प्रदर्शन गर्ने आशा राखेको छ।

स्क्वासमा भारत, पाकिस्तान, मलेसिया निकै राम्रो मानिन्छन्। यी देशका खेलाडीसँग खेल्न निकै गाह्रो पर्ने नेपाली खेलाडीको भनाई छ।

नेपालले साग गेम्समा भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो। यी देशका खेलाडी धेरै अनुभवी छन्। अझ पाकिस्तानको स्क्वास पहिलेदेखि नै उत्कृष्ट मानिन्छ। भारतले पनि पछिल्लो समय निकै प्रगति गरेको छ।

‘हाम्रो चान्स भनेको थाइल्यान्डसँग छ। थाइल्यान्डसँग जित्न सकिन्छ होला। अहिले हारजित भन्दा आफ्नो उत्कृष्ट दिने हो,’ अमिर भन्छन्।

नेपाली प्रशिक्षक हिरा थापामगर यसपालि खेलाडीहरूले राम्रो प्रदर्शन गर्नेमा ढुक्क छन्। ‘तीन इभेन्ट्समध्ये एकमा एउटा स्वर्ण जित्ने चाहना छ,’ थापा मगर भन्छन्।

काठमाडौँमा सम्पन्न १३औँ साग प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ कास्य पदक हात पारेका थिए। इन्डोनेसियामा सम्पन्न १८औँ एसियाडमा नेपाली पुरुष खेलाडीले पुरुष एकल र टिम इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति: : 2023-09-14 18:39:00

प्रतिकृया दिनुहोस्