त्यो समयले वीपी पाएको थियो कि वीपीले त्यो समय पाएका थिए? वीपीले समयको निर्माण गरे कि वीपी समयका उपज हुन्?
वीपी कोइराला र उनका बारेमा हुने थरिथरिका बहसमा सधै मिसिइरहने एउटा बहसको विषय हो- वीपी र वीपीको समय।
वीपीले समयको निर्माण गरेका थिए कि थिएनन् वा त्यो समयले वीपी पाएको हो? यो एउटा अनन्त बहस हो।
बरू राजनीतिशास्त्री प्रध्यापक हरि शर्माको बुझाइमा ‘वीपी आफैँमा समयलाई पढ्नसक्ने महत्वपूर्ण व्यक्तित्व थिए।’
नेपाली काँग्रेसले वीपीको जन्मजयन्ती मनाउनका लागि तीन दिने ‘वीपी साहित्य महोत्सव’ लगाएको छ। नेपाली काँग्रेसका लागि वीपी साहित्यकार थिए कि काँग्रेस सिद्धान्तका गर्भरचना? यो बहस र आलोचनाभन्दा माथि उठेर वीपीलाई नेपाली काँग्रेसले साहित्यिक बिम्बमा सम्झियो।
बाटो भुलिरहेको काँग्रेसले धन्न वीपीलाई भुलेन यही ठुलो कुरा भो!
महोत्सवमा वीपीलाई जोडेर थरिथरिका ‘सेसन’हरू र थरिथरिका वक्ताहरू निम्त्याएर वीपी बहस चलाइरहेको यो महोत्सवमा सोमबार गगन थापाले एउटा बहसलाई सहजीकरण गरे।
‘वीपीले नपाएका १५ वर्ष’मा गगनले राजनीतिशास्त्री हरि शर्मा, संविधानविज्ञ विपिन अधिकारी, प्रध्यापक अच्युत वाग्ले र मञ्चला झासँग बहस गरे।
०००
जीवनका करिब ८ वर्ष निर्वासनमा बिताएका वीपी करिब ७ वर्ष जेलभित्र बन्द रहे। केही समय रोगसँग लडे। तर जहाँ रहे पनि जुनसुकै अवस्थामा रहे पनि शासकसँगै लडे। १८ महिना प्रधानमन्त्री भएर सरकार पनि चलाए।
निर्वासन र जेलको जीवन। वीपीले गुमाएका १५ वर्ष थिए कि उनले नपाएका वर्षदिनहरू? वीपीले ती १५ वर्ष पाएको भए वा वीपी अरू १५ वर्ष बाँचेको भए के हुन्थ्यो होला?
‘त्यो १५ वर्ष वीपीले पाएको भए के हुन्थ्यो? यो त काल्पनिक प्रश्न भयो’, हरि शर्मा भन्छन्, ‘यथार्थ त यो हो कि उनले ती १५ वर्ष पाएनन्। सायद पाएको भए उनले जे कामको सुरुवात गरेका थिए, त्यो पूरा गर्थे होलान्। बिडम्बना पाएनन्। यथार्थता यही हो।’
वीपीले कहिलेकाहीँ भन्थे, ‘म राजनीतिज्ञ कम, दार्शनिक बढी भएँ कि!’ वीपीले पहिलो विश्वयुद्धलाई ताजा अक्षरहरूमा पढे। जिउँदा दृश्यमा हेरे। र दोस्रो विश्वयुद्ध आफैँले भोगे।
त्यो भनेको एउटा युग चाहिएको समय थियो। त्यसको खोजीमा वीपी थिए। त्यही युग निर्माणको सपना थियो वीपीसँग। राजनीतिको हर्लिबर्लीमा उनी अलमलिए होलान् र तर जुन युग निर्माणको मिसनमा उनी थिए, त्यो भनेको परिवर्तन थियो। त्यो परिवर्तनका लागि एउटा साधन चाहिन्थ्यो। वीपीले त्यो साधन राजनीतिलाई बनाए।
‘त्यसैले वीपीलाई बुझ्दा उनी विचार, गतिशीलता र परिवेश अनि परिवर्तनलाई जोड्ने क्रान्तिकारी नायक हुन्’, शर्मालाई लाग्छ, ‘साहित्यमा वीपी चञ्चल भए होलान्। तर त्यो भने परिवर्तनलाई अपनाउने कुरा हो। विचारविहीन परिवर्तनले कुनै अर्थ राख्दैन भनेरै वीपीले समाजवादको सिद्धान्तलाई राजनीतिक जीवन दिएका हुन्।’
र, वीपीलाई अपालिरहेको नेपाली काँग्रेसलाई शर्माको सुझाव छ- वीपी व्यक्तिभन्दा बढी विचार हो। उनको वरिपरि हामीले संसारको परिकल्पना गरिरहेका छौँ। वीपी आफैँ पूर्ण मान्छे त होइनन् तर उनले पछ्याउन खोजेको बाटो समातौँ।’
उनलाई लाग्दैन आजको राजनीतिक नेतृत्वले वीपीको त्यो ओजको बोझलाई बोकेर हिँड्नसक्छ। न उनको हुटहुटीमा नेपाली काँग्रेस बाँच्नसक्छ।
‘हाम्रो राजनीतिक नेतृत्व वीपीजत्तिको तयार छन् कि छैनन् भन्ने कुरा हो। १८ महिना प्रधानमन्त्री हुँदा जति गरे। केही गरुँ भन्ने हुटहुटी थियो। १८ महिनामा १५ वर्षको नीव तिखारेका थिए’, शर्मा भन्छन्, ‘केही गर्नका लागि हुटहुटी चाहिन्छ। वीपीले गरेको त्यही हुटहुटीको परिणति थियो। उनीसँग योजना थिए। विचार थिए र त्यसलाई फत्ते गर्ने हुटहुटी थियो।’
प्राध्यापक अच्युत वाग्लेले वीपीले चलाएको सरकार, उनले अख्तियार गरेको नीति तथा कार्यक्रम र वीपीले बनाएका योजनाका बारेमा कुरा गरे। ‘वीपीले हरेक नेपाली किसानसँग एक हल गोरु र एउटा दुहुनो गाई हुनैपर्छ भने। जमिनसँग जुध्ने, जमिनसँग खेल्ने र जमिन जोत्नेकै जमिनमाथि स्वामित्व हुनुपर्छ भन्थे’, वाग्ले भन्छन्, ‘उनले देखेको समाजवाद यही थियो।’
आज वीपीलाई जसरी विश्लेषण गरिएको छ। उनका विचारधारामाथि बहस गरिएका छन्, ती अपूर्ण छन्।
‘हामीले वीपीको आर्थिक भिजनका बारेमा पर्याप्त बहस गरेकै छैनौँ। उनीसँग आधारभूत केही भिजनहरू थिए। केही मिसनहरू थिए। योजना त सबले बनाएकै थिए, बनाइरहेकै थिए। तर वीपीसँग ती सबका साथमा भिजन थिए’, वाग्ले भन्छन्, ‘आज हामीले वीपीलाई प्रजातान्त्रिक समाजवादको बहसमा मात्रै गोलमटोल गरिरहेका छौँ।’
आफ्नै जीवनकालमा फरकफरक जीवन बाँचेका वीपीलाई आज त्यही समाजवादको ऐनामा मात्रै हेरिएको छ। एउटा साँघुरो घेरामा सीमित पारेर वीपीको पूर्ण चित्र देखिन्न।
‘वीपीले समाजवादलाई कसरी बुझेका थिए भनेर हामीले कहिल्यै बहस गरेनौँ’, वाग्ले भन्छन्, ‘२०-३० वर्षको जनताको परिश्रम र नेताको दृष्टिकोणकै आधारमा परिवर्तन हुन्छ भन्ने वीपीका नजरमा समाजवादसम्म पुग्ने बाटो नै त्यही थियो, जहाँ जनताको जीवन पहिलो प्राथमिकता हुन्छ।’
संविधानविद् विपीन अधिकारीका अनुसार ती १५ वर्ष पाएको भए, १७ सालको कु नभएको भए वा १५ सालको संसदीय अभ्यासले निरन्तरता पाइरहेको भए सायद हाम्रो कल्पनाभन्दा बेग्लै देश हुन्थ्यो।
वीपीको नेतृत्व सबैभन्दा ठूलो महत्वको विषय थियो। पुनर्जागरणको युग थियो। उनले बाँचेको जीवन र समाजका लागि गरेको योगदानलाई हेर्ने हो भने वीपीले त्यो समयमा परिस्थितिहरूलाई कसरी अगाडि बढाउने भन्नेबारेमा नेतृत्वदायी भूमिका निभाउनसक्थे।
‘वीपीका नजरमा राष्ट्र निर्माण भनेको साझा दायित्व हो। त्यसलाई निखार्दै जानुपर्छ भन्ने थियो’, अधिकारी भन्छन्, ‘बिडम्बना देशको सबैभन्दा ठूलो उर्जा झ्यालखानामा कैद हुनुपरर्यो। १५ वर्ष वीपी भएको भए सामाजिक न्याय र भूमिसुधार र शिक्षालगायत धेरै आधारभूत कुराहरूमा अझ युगान्तकारी सुधार हुने थियो। तर रुपान्तरणको त्यो उर्जा त झ्यालखानामा बन्द थियो।’
अधिकारकर्मी मञ्चला झाका नजरमा वीपी सिद्धान्त र व्यवहारमा एउटै खाले जीवन बाँचेका व्यक्ति थिए। वीपीलाई उनले सिद्धान्त र व्यवहारमा एक भएको देखिन्। वीपीले जे अपनाए त्यही बाँचे। जे सोच थियो त्यही अपनाए।
‘आफूले पाएको एकै वर्षमा त्यो बखत १६ सय विद्यालय स्थापना गर्नु चानचुने थिएन। जुन काम उनले पाएको समयमा गरे, त्यो काम गर्ने नेता अहिलेसम्म जन्मिन सकेको छैन। अहिले त २० वर्षमा एउटा गौरवका योजना सम्पन्न हुन सकेको छैन’, उनलाई लाग्छ, ‘सायद वीपीले ती १५ वर्ष पाएको भए लाखौँ युवा विदेश जानुपर्ने थिएन। पाँच किलो मलका लागि नेपाली किसानले भारतीय सिमानामा एसएसबीको डन्डा खानुपर्ने थिएन।’
समतामूलक समाज र सामाजिक न्यायका लागि वीपीले जुन सिद्धान्त अपनाउन सके, आज उनकै पार्टी नेपाली काँग्रेसले त्यसलाई अपनत्व दिन सकेको छैन।
‘वीपीले नपाएका ती १५ वर्षलाई कल्पना होइन, यथार्थतामा लिनुपर्छ। वीपीले समाजको जुन विविधतामा बाँचेका थिए, त्यसैलाई मनन गरेर नीति कार्यक्रम ल्याएका थिए। प्रत्यक नेपालीको मुहारमा हाँसो ल्याउन चाहेका थिए’, उनी भन्छिन्, ‘प्रजातान्त्रिक समाजवादको त्यो आन्दोलनमा तराई-मधेस, पहाड र हिमाल सबैलाई साथ लागाए। कहिँकतै विभेद देखिएन।’
वीपीले त्यो १५ वर्ष पाएको भए आज देशको स्तर हामीले कल्पना गरेजस्तै हुनेथियो कि!
त्यसैले वीपीलाई कमाइरहेको नेपाली काँग्रेसलाई मञ्चलाको सुझाव छ, ‘वीपीले यो गरे वा त्यो गरे भन्र आलाप-बिलाप गर्नुभन्दा काम गरौँ। अब त्यसमा सोचौँ। काँग्रेसले यो कुरा बुझिसकेको छ। व्यवस्था फेरियो अब अवस्था फेरौँ। पार्टीभित्रको अवस्था फेरौँ अनि जनताको अवस्था फेरौँ।’
पहिलोपटकको आम निर्वाचनबाट पहिलो जननिर्वाचित प्रधानमन्त्री भएर कुर्सीमा बस्नुभन्दा अघि वीपीले २०१५ सालमा भनेका थिए, ‘१५ वर्षको समय भयो भने प्रत्यक नागरिकलाई प्रधानमन्त्रीको हैसियतसम्म पुर्याउने सपना छ।’
र, त्यही सपनाको गोलमटोल बाटोमा हिँडिरहेको नेपाली काँग्रेसले त्यसपछिका ६ दशक वीपीको नाममात्रै फलाकिरह्यो। न वीपीलाई बुझ्यो, न वीपीले बुझेको र देखाएको बाटोमा सरासर हिँड्नसक्यो।
नेपाली काँग्रेसका महामन्त्री गगन थापा भन्छन्, ‘वीपीले नपाएको १५ वर्ष होइन, नेपालले नपाएको १५ वर्ष पनि हो। उनले गुमाएकोमात्रै होइन, त्यो १५ वर्ष हामीले नपाएको १५ वर्ष पनि हो।’
फरक यत्ति हो, आज पनि नेपाली काँग्रेस वीपी के हो र वीपी के होइन? भन्ने बाटोमै अलमलिइहेको छ, वीपीको त्यही विचारको खोल ओढेर।