के थियो प्रदीप गिरी के पो भइदियो !
प्रदीप गिरीले संसार छोडेको वर्ष दिन पुगेको छ। यो वार्षिकीमा उनको जीवनलाई पछ्याइरहेका केही युवा अनि उनको जीवनभरि साथै रहेका केही केही अनुयायीहरूले उनको ‘अस्तु’ काशीसम्म लैजान कस्सिए।
तर, बीचबाटोमै गिरीका ‘परिवार’ले बाटो छेक्ने अ(सफल) प्रयास गरे। त्यो ‘परिवार’ भनेको उनका श्रीमती अनि बुहारीहरू हुन्। जो प्रदीप गिरीले बाँचेको जीवनभरि कतै साथ थिएनन्। अस्पतालमा मृत्यु कुरिरहेका प्रदीप गिरीसँग पनि उनीहरू थिएनन्।
मरेपछि प्रदीप गिरीको ‘आश्रम’ पनि कब्जा गर्न खोजिरहेका उनीहरूले उनको यो अस्तुयात्रालाई यसरी छेक्ने प्रयास गरे कि जहाँ उनीहरूले खोजेको प्रदीप गिरी नै थिएन। बरू त्यो त अब प्रदीप गिरीलाई चाहने हजारौं जीवनको आस्था बनिसकेको छ।
प्रदीप गिरीले बाँचेको जीवनमा कति मान्छे गाँसिए होलान् ? कति मान्छे छुटे होलान्। कति पाइला सँगसँगै हिँडे होलान् अनि कतिले उनलाई पछ्याए होलान्। अहिले पनि पछ्याइरहेका छन्।
उनका अनुयायीहरू रामपल्टन साह अनि कञ्चन झाहरूले अगुवाइ गरेर उनको अस्तु यात्रालाई समाजवादको यात्रासँग जोड्न एउटा ‘प्रदीप गाथा’को परिकल्पना गरेका थिए- ‘लोक एंवम लोकतन्त्रको सेतुगाथा…’
शनिबार पशुपतिबाट सुरु भएको यो यात्राले उनको अस्तु काशीमा विसर्जन गर्नेछ।
तर, केही दिनअघि प्रदीप गिरीकी श्रीमती भारती सिलवाल र उनका छोरा-बुहारीले एउटा बक्तव्य लेख्दै त्यसको विरोध गरे।
‘परिवारसँग गाँसिएको संवेदनशील विषयलाई कुनै पनि अमूक व्यक्ति वा संघ संस्थाद्वारा बिनास्वीकृति गर्न नपाउने हिन्दू परम्परा र कानुनतः कुनै पनि रूपमा ग्राह्य छैन’ त्यसमा उनीहरूले भनेका थिए ‘कैयौं पटक मौखिक आग्रह र लिखित रूपमा अस्तु विसर्जन नगर्न अनुरोध गर्दागर्दै पनि समितिका नायक कञ्चन झा, रामपल्टन साहलगायतले अस्तुको राजनीति गर्न खोजिरहेका छन्।’
‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति- २०८०’मा गाँसिएका उनका अनुयायीले विसर्जन गर्न लैजान थालेको यो अस्तुमाथि उनकै परिवार भनिएकाहरूले उल्टो राजनीति गर्न खोजे।
गिरीले आफ्नो सिङ्गो राजनीतिक जीवन अपनाएको नेपाली काँग्रेसलाई त उनको वार्षिकीसमेत सायद पत्तो छैन होला।
यी ‘परिवार’ले पनि प्रदीप गिरीलाई त्यो बेलामात्रै याद गरे जब उनी यो धरतीबाट अस्ताइसकेका थिए। उनी त थिए तर उनको प्राण थिएन, अनिमात्रै चुपचाप ढलेको प्रदीपको खोक्रो शरीरछेउमा ती ‘परिवार’ थिए। जसले आज फेरि उनको यो ‘अस्तु’यात्रा छेक्न खोजे।
‘म उनका साख्खै भाइ हुँ। तर मभन्दा धेरै भाइहरू त उनका कति छन् कति। तीमध्यकै म साख्खै भन्दा त तपाईंहरू नै प्रदीप गिरीका भाइहरू हुनुहुन्छ’ दुई दिनअघि यो यात्राका बारेमा जानकारी दिन भएको एउटा पत्रकार सम्मेलनमा उनका भाइ शेखर गिरीले भनेका थिए ‘त्यसैले त प्रदीप गिरी, प्रदीप गिरी भएको रहेछ। जसले आफ्नो अशं र वंशमा कहिल्यै हक खोजेन। कहिल्यै विश्वास गरेन। अब सब तपाईंहरू नै हो।’
पशुपतिको आँगनछेउमा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले शनिबार यिनै साख्खै भाइ शेखर गिरीका हातमा प्रदीपको अस्तु राखिदिए अनि अस्तु सेलाउने टोली काशीको यात्रा हिँड्यो।
जाँदाजाँदै एउटा सम्बन्धको एउटा नमीठो परिभाषा पनि त्यो अस्तुमा मिसाउन खोजियो। जुन सम्बन्ध प्रदीप गिरीको परिभाषामा निकै उदार अनि फराकिलो थियो।
‘हामी नचाहँदा नचाहँदै पनि भन्न बाध्य भएका छौं कि, भौतिकरूपमा जीवित छँदा प्रदीप गिरी जहिल्यै उहाँहरूको बेवास्तामा परिरहनुभयो। उहाँलाई कुनै महत्व दिइएन। स्वास्थ्य सिथिल भइ अन्तिम अवस्थामा पुगिसकेपछि मात्र स्वार्थवस सम्झना आयो’ अस्तु सेलाउन जाँदाजाँदै उनका अनुयायीहरूले भनेका छन् ‘गाह्रोसाह्रो पर्दा आफ्नो कर्तव्य निर्वाह नगर्नेलाई सोधिरहनु हामीलाई पनि हाम्रो कर्तव्य जस्तो लागेन। र, हामीलाई लाग्छ कि पारिवारिक कर्तव्यबाट विमुख भइसकेपछि कार्यक्रमका लागि अनुमति दिने वा नदिने भन्ने अधिकार पनि उहाँहरूले गुमाइसक्नुभएको छ।’
को हुन् प्रदीप गिरीको अस्तु लैजानेहरू ?
कोही हैनन्, मात्रै उनलाई चाहनेहरू हुन्। उनका आदर्श, दर्शन अनि विचार बाँच्नेहरू हुन्।
उनले सिकाएको जीवनको परिभाषा अपनाउनेहरू हुन्। उनको प्रेमपरिभाषामा आफूलाई देख्नेहरू हुन्। अनि उनले देखाएको राजनीतिको एउटा आदर्श बाटोमा हिँड्न चाहनेहरू हुन्।
प्रदीपको अस्तु लैजाने उनीहरू हुन्, जो धिपधिधिपाइरहेको प्रदीपको प्राणको अन्तिम साक्षी थिए। उनको बाँचेको जीवनका अन्तिम पलहरू जो प्रदीपका आफ्नो भइबसेका थिए।
साइनो थिएन, सम्बन्ध थिएन प्रदीप्त त्यो जीवन थियो जसको उज्यालोमा सब अँध्याराका अस्तित्वै थिएन।
कतिको त चिनजान पनि थिएन। भेटाघाट पनि थिएन।
कतिले उनलाई पढेका थिएनन्। मात्रै सुनेका थिए। अब अझै पढ्न, सुन्न र जान्न चाहन्छन्।
परिवार अनि आफन्तहरूको घेरामा कहिल्यै नअटाएका प्रदीपका लागि बरू यो खुला संसार नै परिवारजस्तै थियो। अनि अरूका लागि प्रदीप थिए।
त्यसैले त उनले नदीछेउमा आश्रम बनाए। असहायहरूलाई पढ्न लेख्न सिकाए। जातपातको भाषा कहिल्यै जानेनन्। सब मान्छे बराबर देखे। वंश र अंश केही चाहेनन् सबका सब ‘फकीर’ सम्झे।
आदर्शको यही जीवनविम्ब बाँच्न खोजिरहेकाहरूले उनको अस्तु लगेका हुन्। एउटा प्रदीपगाथा बोकेर उनीहरू काशीसम्म जान कम्मर कसेका हुन्।
‘यसलाई मृत्यु भएका व्यक्तिको परिवारसँग गँसिएको विषय भनिएको छ। परिवार भनेको के हो ? परिवारको परिभाषा के हो ? तपाईंको परिवारको परिभाषाभित्र सायद मानवीयता, समाज, संस्कृति, कर्तव्य, जिम्मेवारी र दायित्वजस्ता आधारभूत तत्व पर्दैनन्’ प्रदीपको अस्तु समाउँदा समाउँदै उनीहरूले भनेर गएका छन् ‘तर हामी तपाईंहरूले छाडिसकेका सबै पारिवारिक तत्वहरूलाई आत्मसाथ गरिरहेका छौं। त्यसैले तपाईंहरूले हामीलाई प्रदीप गिरीबाट अलग गरेर प्रदीप गिरीलाई आफ्नो विर्ता बनाउने प्रयास असुहाउँदो छ। सिंगो लोकले नै ताज्जुब मानिरहेको छ कि, परिवारवाद र वंशवादका विरोधी प्रदीप गिरीको स्वभाव, आचरण, सोच अनि मन नै नबुझ्ने तपाईंहरू आफूहरूलाई कसरी वहाँको परिवार दाबी गरिरहनुभएको छ!’
यसअघि पनि थुप्रै कहलिएका व्यक्तित्व र महापुरुषहरूको अस्तु विसर्जन यसरी नै सुभेच्छुक, अनुयायी, समर्थक, सहयोगीहरूबाट भएका छन्। जुन परम्परा हो, आदर्श मान्छेप्रति गरिने एउटा सम्मान हो।
धेरै पर जानै पर्दैन, प्रदीप गिरीको ८औं दिनको पुण्यतिथिमा उनै ‘परिवार’को अनुरोधमा रामपल्टन साह, जसलाई नामै किटेर मुख्य आरोपी बनाइएको छ। एक्लै बिहारको सिमरिया नजिकै पर्ने गंगा नदीमा प्रदीप गिरीको अस्तु विसर्जनसहित अन्तिम संस्कारको विधि गर्न गएका थिए।
‘भन्दा नमज्जा लाग्ला तर त्यसबेला सिमरियामा ८औं दिनको काम गर्न रामपल्टन साहले आफैं खर्चको जोहो गरेको होइन ? तपाईंहरूले परिवारकै सदस्य ठानेर त खर्च नदिएरै काममा पठाउनुभएको थियो होला, हैन र ?’ अहिले ती परिवारलाई अस्तु लैजाने यी अनुयासीहरूले भनेका छन् ‘तपाईंहरूलाई लाग्दासम्म ‘रामपल्टनहरू' परिवारका सदस्य हुने अनि नलाग्दैमा नहुने पनि हुन्छ ! तपाईंहरूले हामीलाई शत्रुको व्यवहार गर्नुभएको मा पनि हामीलाई कुनै आश्चर्य लागेको छैन। तर, कसैको हार्दिकतापूर्ण सम्बन्धलाई मानिसले यतिविघ्न ईर्ष्याको कारण कसरी बनाउनसक्छ भन्नेमा भने हामी अचम्मित छौं।’
प्रदीप गिरीबाट यिनीहरूले जे सिके त्यही गरे। उनलाई पढेर, उनको जीवन देखेर जे जाने त्यही गरे। प्रदीप गिरीले जुन बाटो देखाए त्यही बाटो हिँड्ने कोसिसमा छन्। जीवन र जगतलाई हेर्ने र बुझ्ने जुन ‘नजरिया’ प्रदीप गिरीले दिए त्यहीँबाट यो सांसारिक चक्र हेरे र हेरिरहनेछन्।
‘निष्काम भावले प्रदीप गिरीज्यूको विचार, दर्शन र विद्वता प्रवाह गर्न गरिएको काम कसरी अशोभनीय हुन्छ? बरु अशोभनीय काम त त्यो ठहरिन्छ जुन प्रदीप गिरीको व्यक्तित्वलाई 'खोपीको स्वामी' बनाएर सीमित पार्न रचिएको हुन्छ। त्यसैले हामीले गरेको निष्काम कर्म र उहाँहरूले चालेको दुराग्रहपूर्ण कदम कुन कति शोभनीय र कुन कति अशोभनीय भन्ने यस लोकले प्रष्ट नियालिरहेको छ’ अनि उनीहरूले भनेका छन् ‘पवित्र उद्देश्य राखेर गरिएको यो हाम्रो निष्काम कर्मलाई अनावश्यकरुपमा विवादित बनाउने गतिविधिहरूप्रति हामी गम्भीर छौं। यसैमा खेलेर 'अनैतिक राजनीति' गरिरहेका कथित नेता र त्यस्ता नेताहरूका चाकडीबाजहरूका हरेक क्रियाकलाप हामीले नजिकबाट नियालिरहेका छौं। समय आउँदा यसको पटाक्षेप जरुर गर्नेछौं।’
प्रदीप गिरी एक नेतामात्रै थिएन, राजनीतिज्ञमात्रै पनि होइनन्। जीवनका साधक र साधनामात्रै गरेनन्। चिन्ता र चिन्तनमात्रै पनि गरेनन्।
जस्तो थिए त्यस्तै बाँचे। जस्तो जीवन बाँचे त्यस्तै विचार निर्माण गरे।
र, काठमाडौंदेखि काशीको यात्रा गरिरहेको प्रदीप गिरीको ‘अस्तु’मा राजनीति मिसिएको छैन। बरू यसमा त उनलाई चाहने र उनका पाइला पछ्याउने हजारौं आस्था र विश्वास गाँसिएको छ।
प्रदीप गिरीज्यूप्रति स-सम्मान यो सुन्दर कार्यक्रमको परिकल्पना गर्ने कञ्चन झाले ‘अस्तुको राजनीति गरेको’ भनेर परिवारबाट आरोप लगाइएका कञ्चन झा उनका ती अनुयायी हुन्, जो नि:श्वार्थ प्रदीप गिरीको सेवामात्रै होइन, जीवन लक्ष्यको एउटा आदर्श शिखर मानेर आफूलाई त्यही बाटोमा हिँडाउन खोजिरहेका छन्।
कञ्चन झा प्रदीप गिरीको विचार, दर्शन र सिद्धान्तबाट प्रभावित व्यक्ति हो। प्रदीप गिरीज्यूसँगको परिष्कृत समयमा भएको सङ्गत र अभिभावकत्व पाएपछि राजनीतिमा बामे सर्दै गरेका व्यक्ति हुन्, कञ्चन झा। कञ्चन झाको राजनीतिको जरिया प्रदीप गिरीबाट सिञ्चित विचार र दर्शन हुन्छ न कि, 'अस्तु'।
‘त्यसैले तपाईंहरूको समूह कञ्चन झासँग तर्सिनुपर्ने कुनै कारण छैन। अस्तुलाई त हामीले प्रदीप गिरीज्यूले सम्बर्द्धन गर्ने गरेको प्राकृतिक-सांस्कृतिक पक्षसँग समेट्न खोजेका मात्र हौं। त्यसैले हामीलाई 'अस्तुको राजनीति' भयो भन्ने तपाईंको आरोप कदापि स्वीकार्दैनौं। बरु तपाईंतिरै तेर्स्याउँछौं।’
पशुपतिबाट हिँडेको यो अस्तु प्रदीप गिरीले जीवनका पलहरू बिताएका नदीहरूमा मिसिँदै मिसिँदै काशीसम्मै पुग्नेछ। जहाँ प्रदीप गिरीले एउटा जवानी बाँचेका थिए।
र, यो कुनै नदीमा सेलाइने ‘अस्तु’मात्रै बन्ने छैन बरू यो त उनका विचार र आदर्श जीवनको एउटा ‘सेतुगाथा’ पनि बन्नेछ।