चिसा र डरलाग्दा रातहरू काट्दै बाँचेको पनि धेरै समय भइसकेको छ। अचेल भयानक-भयानक सपनाहरूले लखेटेर ब्युँझाउन थालेका छन् मलाई।
खै के सपना देखेँ! म आफैँलाई थाहा हुन्न। कहिले खाईतिर चिप्लेर झर्छु। कहिले काला कुकुरहरूले झम्टिन आएका देख्छु। ब्युँझिदा मुटु असह्य दुखेको हुन्छ र शरीर पसिनाले निथ्रुक्क भिझेको हुन्छ। म असाध्यै डराएकी पनि हुन्छु।
बेलाबेला बम र गोली विस्फोटका आवाजहरू आफ्नै छानामाथि नै हो कि झैँ महसुस हुन्छ। रातको सन्नाटालाई चिर्दै कतै टाढाबाट आएका कुकुरका रोदनले डरको सीमालाई झन् च्यातिदिन्छ।
अनि सास घाँटीमा अड्किए झैँ हुन्छ। निस्सासिन थाल्छु। रातको अँध्यारो परिवेशभित्र उज्यालोको एक टुक्रा खोज्दै झ्यालको नजिक पुग्छु र झ्यालको एक पाटो विस्तारै उघारिदिन्छु।
बाहिरको एक मुठ्ठी चिसो हावा छिटोछिटो मुटुभित्र हुल्छु। बल्ल अलिक आराम मिल्छ अनि मुटु दुख्न पनि कम हुन्छ कि!
कतिसम्म सहनुपर्ने होला यी पीडादायी दिनहरू।
सुनसान छन् हाम्रा गाउँघरहरू। आफू बसिरहेको थलो छोड्दैछन् मान्छेहरू।
धनीहरू आफ्नो धनसम्पत्ति बोकेर ठुल्ठूला सहर गइसके। धेरै पैसा खर्च गरेर छोराछोरी विदेश पढ्न पठाए। गरीब, रोजीरोटी खोज्नेहरू बेरोजगार सहर छोडेर काम खोज्दै विदेशतिर भौँतारिइरहेका छन्। गाउँमा हामीजस्ता मध्यम वर्गका मान्छेहरूमात्रै।
बाटो हराएका यात्रीजस्तै, लाग्न थाल्यो जिन्दगी पनि।
हिजोको रमझम, व्यापार र व्यवसायको प्रमुख थलो। आज सुनसान मान्छे नभएको मरुभूमि जस्तो भइसक्यो हाम्रो सहर।
यहाँ कसैको मुहारमा खुसीको रंग छैन अचेल। सबका सब उदास र उराठलाग्दो जीवन बोकेर हिँडिरहेका छन्। पीडा हाँसेको मुस्कान।
अझै कतिसम्म चल्ने हो युद्धको यो आतंक। कसैलाई यसको अनुमान छैन।
तर यसको परिणाम भने भोगिरहेकाे छ यो देशले। यहाँका मान्छेले। यो सहरमा युद्धसँगै मौलाएको लुटपाट, चोरी, डकैती र हत्याजस्ता अपराधहरू पनि उस्तै छन्। जसले मान्छेलाई आफ्नो जन्म अनि कर्मथलो छोड्न बाध्य पारिरहेको छ।
कति निर्दोषहरू मारिएका छन्। रगतका छिटाहरूले इतिहासका पानाहरू रंगिइसकेका छन्।
आफ्नै घर, आफ्नै घरका गल्लीहरू पनि सुरक्षित छैनन्। कानुन भन्ने शब्द सैनिकका जुत्तामुनिको धुलोजस्तै अस्तित्वमा बाँचिरहेको छ। अभिभावक बिनाको घर जस्तो लाग्छ देश पनि।
न पैसाको मोल रह्यो, न शिक्षाको कुनै महत्व। युवाको भविष्य भन्नु विदेशमा अर्काको जुठो भाँडा माझेर पेट पाल्नुबाहेक अर्को केही छैन।
चलिरहेको जिन्दगीको रफ्तार नै छिन्नभिन्न भयो। यहाँ बाँच्नु भनेको केवल सास फेर्नुलाई मात्र हो कि! प्रश्न उठ्न थालेको छ मनमा, म रातको गर्भभित्र समाहित हुँदै उज्यालोको पछि दौडिरहेकी थिएँ। अचानक एउटा लाटोकोसेरोको आवाजले जिउ सिरिङ्ग हुन्छ।
म झ्याल बन्द गर्छु।
जुनेली रात नभए पनि ताराका पुञ्जहरू आकाशभरि चम्किरहेका थिए। चन्द्रमाको आकार एक सुन्दर आँखीभौँजस्तै लाग्थे। आकाश झिलमिलि थियो।
तर मेरो मन औँसीको रात जस्तै निष्पट्ट।
म रातको पर्दा उघारेर एकछिन त्यो आकाश, सितारा र जूनको मोहकमा मोहित हुन्छु।
बाहिर कतै बाटामा सत्ताधारी सैनिकका बुटहरू पो बजिरहेछन् कि!
उज्यालो हुन धेरै बाँकी छ, अँध्यारोले छोपेको यो पल चाँडै सकिए त…!