पंक्तिकार अमेरिकाको बारेमा जानकार व्यक्ति होइन तर विभिन्न अनलाइन पोर्टलमा समय-समयमा अमेरिका र अरु देशमा बसोबास गरेका नेपालीहरुले आफू बसोबास गरेको देशको नकारात्मक कुरा मात्र लेखेको देखेर केही पंक्ति कोर्ने दुस्साहस गरेको हुँ।
विश्वको एउटा अल्पविकसित देशबाट विश्वकै अति विकसित देशमा आउन पाउनुलाई व्यक्तिगत रुपमा मैले सुवर्ण मौका प्राप्त गरेको ठान्छु। र यहाँ आएर कसैलाई बेकारमा आइएछ जस्तो लाग्छ भने खुरुक्क नेपाल फर्किन सल्लाह दिन्छु।
यदि कसैले ‘इच्छा त थिएन तर बाध्यताले बसिएको छ’ भनेर भन्छ भने देश छोडेर परदेशमा बस्नु हाम्रो बाध्यता हो न कि अमेरिकी सरकारको। यसरी आफ्नो फाइदाको लागि अरुको देशमा बसेर निरर्थक गनगन गर्नु कुनै बुद्धिमानी होइन। यहाँ बस्ने मान्छेहरुले भित्रभित्र खुशी भएपनि आफूलाई इच्छाविपरीत बस्नु परेको जस्तो देखाउन अरुको अगाडि केही कारणहरु दिने गर्छन्, जसलाई तल उल्लेख गरेको छु।
०००
सबैभन्दा पहिलो अमेरिकामा दुख छ भन्ने भनाइलाई लियौँ। यदि काम लाई दुखको रुपमा लिने हो भने यो संसारमा कतै पनि सुख छैन। हाम्रो देश नेपालमा श्रम गर्नेलाई अपमान र बाबु-बाजेले कमाएर छोडेको सम्पत्तिमा मोज गर्ने कामचोरहरु र दिनभरि सडक नापेर हल्लिरहनेहरुलाई सम्मान गर्ने अनौठो र उल्टो चलन छ। तर अमेरिकामा त्यस्तो रहेनछ, श्रम गर्नेलाई सम्मान गरिँदो रहेछ। चाहे त्यो जस्तोसुकै काम गरोस्। अमेरिकामा एउटा श्रमजीवीले काम गरेर आफ्नो जीवनयापन राम्रोसँग गर्न सक्छ। तर नेपालमा दिनभरि घोटिँदा पनि पेटभरि खान नपाउने अवस्था छ।
दोश्रो- फुर्सद नै हुँदैन र सामाजिक जीवन छैन भन्ने कुरामा, संसारमा कर्मयोगी मान्छेहरुलाई फुर्सद नै हुँदैन। आफ्नो काममा व्यस्त रहेको मान्छेलाई अर्काको नानाथरि कुरा गर्ने न त फुर्सद हुन्छ, न त त्यस्ता तल्लोस्तरको कुरामा कुनै रुचि नै हुन्छ। यो कुरा नेपालमै रहेका मान्छेहरुमा पनि लागु हुन्छ। तर त्यो मान्छे कर्मयोगी हुनुपर्छ, फुर्सद भनेको काम नभएको मान्छेहरुसँग मात्र हुन्छ। चाहे त्यो अमेरिका होस् वा नेपालमा। जहाँसम्म सामाजिक जीवनको कुरा छ, बरु यहाँ होला नेपालमा धनीहरुको मात्र सामाजिक जीवन छ, गरीबहरुलाई कसैले वास्ता गर्दैन। नेपालमा गरीबको कुनै इज्जत गर्दैनन् र गरीबी एउटा अभिशापजस्ताे ठान्छन्।
तेस्राे- सोचेको जस्तो भएन भन्ने कुरामा। एउटा मान्छेले के सोच्छ र सोचेको जस्तो पाउँछ वा पाउँदैन भन्ने कुरा त्यो संयाेग मात्र हो। साधारणतया कुनै पनि मान्छेले पाउने काम र उसले कमाउने धन भनेको उसको व्यक्तिगत योग्यता र क्षमतामा भर पर्छ। अमेरिकामा मात्र होइन कि संसारको जुनसुकै कुनामा।
कहिलेकाहीँ योग्य व्यक्तिले सानो पद र अयोग्य व्यक्तिले ठूलो पद पाउने भनेको अपवाद मात्र हो। यस्तो अमेरिकामा भन्दा नेपालमै बढी हुन्छ। अब कसैले आफ्नो क्षमताभन्दा ठूलो कुरा सोचेर बस्छ र उसले त्यो कुरा पाउँदैन भने उसले अमेरिकालाई भन्दा आफ्नो बुद्धिलाई गाली गर्नु लाभदायक हुन्छ।
केही वर्षअघि हालका राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकामा सबै नेपाली भाँडा माझ्दा रहेछन् भनेका थिए। मलाई लाग्छ, उनले यो भाँडा माझ्नु भनेको सानोतिनो कामलाई भनेको हुन सक्छ। मेरो विचारमा यदि कुनै मान्छेले इमान्दारीपूर्वक भाँडा नै माझ्छ भने पनि त्यो आदर गर्न लायककाे कुरा हो। तर पौडेलले सायद देखेनन् होला अमेरिकामा नेपालमा जस्तो परालको मस्कोले खरानी चोप्दै भाँडा माझ्नु पर्दैन। कि त मेसिनले माझ्छ कि त चौबिसै घण्टा धाराबाट आउने तातो पानीले साबुन लगाएर माझ्न सकिन्छ।
राष्ट्रपति पौडेललाई विनम्रतापूर्वक मेरो एउटा प्रश्न छ, अमेरिकामा रहेका तपाईंको छोरा वा छोरीले भाँडा माझ्छन् कि माझ्दैनन्? किनकि, अमेरिकामा नेपालमा जस्तो सबैले जुठो पारेको भाँडा एउटा मान्छेले माझ्ने चलन हुँदैन। प्रत्येक व्यक्तिले आफूले प्रयोग गरेको जुठो भाँडा आफैँले माझ्ने चलन छ। घरेलु कामदार राख्न कानुनले प्रतिबन्ध लगाएको छ। यदि कसैको सहयोग लिउँ भन्यो भने पनि त्यो सम्भवत: कुनै नेपालीले मूल्य तिर्न सक्दैन। राष्ट्रपति जस्तो मान्छेको यस्तो तल्लोस्तरको विचार छ भने सर्वसाधारण मान्छेको कुन स्तरको विचार होला? हामीले आफूलाई के भनेर गर्व गर्ने?
यसको साथै प्राय: सबै नेपालीहरुमा एउटा ठूलो भ्रम भनेको यहाँका महिलाहरुले बाटोमै अँगालो हाल्छन् भन्ने छ। कसैले व्यक्त गरुन् कि नगरुन्, हुन त अंग्रेजी सिनेमामा नायिकाले नायकसँग गरेको प्रेमालाप देखेर मलाई पनि यस्तै हुन्छ कि भन्ने धारणा बनेको पनि हुन सक्छ। तर सत्य कुरा के हो भने, हामी नेपाली यो देशमा अहिले पनि ढंगेयुगका मान्छेजस्तै देखिन्छौँ। अब अपवादको रुपमा कुनै अमेरिकी महिलाको नेपालीसँग प्रेम हुन सक्ला तर यो घटनाले पूर्ण रुपमा प्रतितिधत्व गर्दैन।
अत: विभिन्न कारण र प्रक्रियाले अमेरिका आएका सज्जनहरुले आफूले काम गरेर जीवन चलाएको तथा आर्थिक रुपमा सबल भएको देशको बारेमा केवल नकारात्मक कुरा गरेर आफ्नो कर्मदेशप्रति बेइमानी नगरौँ। उसै पनि आफ्नो जन्मभूमि छोडेर हामीले आफ्नो देशप्रति त अन्याय गरिसकेका छौं, तर म व्यक्तिगत रुपमा यो कुरा स्वीकार गर्दिनँ।
‘कुण्डकुण्ड पानी र मुण्डमुण्ड बुद्धि’ भनेको जस्तो झिँगालाई फोहर नै र मौरीलाई फूल नै मनपर्छ भनेजस्तो म भने अमेरिकाबाट पूर्ण रुपमा सन्तुष्ट छु। यदि कुनै दिन कुनै पनि कारणले सन्तुष्ट हुन सकिनँ भने खुरुक्क नेपाल फर्किन्छु। यहाँ बेकारको गनगन गरेर बस्दिनँ।
अन्तमा, जसलाई देशको माया लाग्छ, उनीहरु आफ्नै देशमा बसुन्। जसलाई विदेशमा गएर बस्ने इच्छा छ र त्यो मौका पनि पाएका छन्, उनीहरु विदेश जान्छन्। अरुको व्यक्तिगत जीवनमा यो गर्नु र त्यो नगर्नु भनेर उपदेश दिनु कुनै सभ्यता होइन र त्यस्तो कुनै अधिकार पनि छैन। मेरो भन्नु यति मात्र हो कि अनेकौँ प्रयास र तिकडम गरेर पनि यहाँ आउन नसकेर पिल्सिरहेकाहरुले अमिलो अंगुर जस्तो विरोध गर्नु उचित होइन। तर यसको मतलब अमेरिकामा बस्ने सबै महान र नेपालमा बस्ने सबै तल्लोस्तरका हुन् भन्ने अर्थ नलागोस्।