भौगोलिक र धरातलीय विविधताले भरिएको नेपाल प्राकृतिक आपत र विपदहरूबाट सधैं घेरिइरहने देश हो।
त्यसमाथि मानवीय गतिविधि र हस्तक्षेपका कारण निम्तिने विपदहरू त छँदैछन्।
यसबाट नेपालले हरेक वर्ष अर्बौं रुपैयाँको क्षतिमात्रै होइन कैयौँ मानव जीवनको मूल्य पनि चुकाइरहेको छ।
बाढी, पहिरो, भू-कम्प, जनावरको आक्रमण, अगलागी, हावाहुरी आदिका तंथ्याक केलाउँदा नेपालमा वर्षेनि औसत ५ हजार ५ सय ५७ विपदका घटना हुन्छन्। र त्यसबाट सयौंले ज्यान पनि गुमाइरहेका छन्।
एउटा सरकारी तथ्याङ्ककाअनुसार अघिल्लो वर्ष यस्ता विपदहरूबाट देशले करिब ३ अर्ब रुपैयाँ क्षति भोग्नुपर्यो।
विपद् न्यूनिकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–२०३० को एउटा विवरणअनुसार बितेकका ४५ वर्ष (सन् १९७१देखि २०१५) मा अवधिमा ४० हजारभन्दा बढी मानिसले यी विपदमा परेर ज्यान गुमाएका छन्।
त्यस्तै ७५ हजारभन्दा धेरै मानिस त्यसबाट घाइते भए। करिब ३० लाख मानिस प्रभावित भए।
०००
नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन्। यसका मनसुनको यही बेला झाडापखाला, हैजाजस्ता पानीजन्य रोग, सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्छन्।
जसकारण मनसुनजन्य विपद्ले सबैभन्दा धेरै नागरिकलाई प्रभाव पार्छ र सबैभन्दा धेरै आर्थिक क्षति निम्त्याउँछ।
नेपालको वर्तमान संविधानमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको विषयलाई विभिन्न भाग, धारा र अनुसूचीमा उल्लेख गरिएको छ।
संविधानको भाग ४ धारा ५१ (छ)मा प्राकृतिक साधन स्रोतको संरक्षण, सम्बर्द्धन र उपयोगसम्बन्धी नीति अन्तरगत जलउत्पन्न प्रकोप नियन्त्रण गर्ने तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्नुपूर्व सूचना, तयारी, उद्धार राहत एवम् पुनस्थापना गर्ने र अनुसूची ७ ले प्राकृतिक तथा गैरप्राकृतिक विपद् पूर्वतयारी उद्धार तथा राहात र पुन: लाभ कार्यलाई संघ र प्रदेशको साझा अधिकारका रुपमा दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका प्रवक्ता ध्रुबकुमार खड्काकाअनुसार यसपालि पनि अघिल्लो वर्षको जस्तै मानवीय र अन्य क्षतिको आंकलन छ।
तर त्यसको पूर्वानुमान भने छैन।
‘विगतका वर्षहरुमा नेपालले मनसुनबाट ठुलै मानवीय र आर्थिक क्षति व्याेहोरेको थियो’, उनले भने, ‘विगतको अनुभव हेर्दा यस वर्ष पनि एक तिहाइ जनसंख्यालाई प्रत्यक्ष रुपमा कुनै न कुनै प्रकारको सहयोग चाहिने प्रक्षेपण गरेका छौँ’, खड्काले भने।
नेपालमा मनसुन प्रणाली जेठबाट सुरु भएर असोजसम्म रहने हुँदा यस अवधिमा निरन्तर वर्षा हुने गर्दछ। नेपालमा हुने कुल वार्षिक वर्षाको लगभग ८० प्रतिशत मनसुनी वर्षाको रुपमा जेठदेखि असोज महिनको अवधिमा हुने गर्दछ।
यसरी छोटो अवधिमा निरन्तर र ठुलो मात्रामा वर्षा हुँदा यसले विपदको रुप लिन सक्छ। र, यस वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपद्का घटना हुन थालेका छन्। जसकारण पछिल्लो एक महिनामा मात्रै बाढी पहिरोमा परी १६ जनाले ज्यान गुमाएका छन्, भने, ३० जनाभन्दा बढी घाइते भएका छन्।
१२ लाखभन्दा बढी मानिस प्रभावित हुने
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागको तंथ्याकअनुसार यस वर्ष पनि मनसुनका कारण उत्पन्न हुने प्रकोपबाट सिर्जना हुने विपद्का घटनाहरुबाट यस वर्ष १२ लाख ५० हजारभन्दा बढी मानिसलाई उद्धार वा राहतको आवश्यक्ता पर्ने देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले जनाएको छ।
जसका लागि सरकारले देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्दार सवारी तथा ‘ए क्लासका एम्बुलेन्सहरु खरिद गरी सातै वटा प्रदेश र काठमाडौँ उपत्याकामा एक–एक वटा रहने व्यवस्था मिलाएको छ। भने, भण्डारण गरिएका आपतकालीन उपकरण र सामाग्रीको जानकारी उपलब्ध हुने स्रोत व्यवस्थापन प्रणाली ‘गोदाम’ र १ लाख ४ सय २२ स्वंयमसेवक तयारी अवस्थामा रहेको विभागले जनाएको छ।
कुन-कुन ठाउँमा छ उच्च जोखिम ?
यसपालि मनसुनका कारण हुने विपतिमा साढे दुई लाख घरहरु प्रभावित हुन सक्ने विभागले अनुमान छ।
विभागकाअनुसार यस वर्ष औसतभन्दा कम वर्षा भए पनि कोशी र मधेस प्रदेशमा औसत वर्षा हुने अनुमान गरिएको छ।
विभागकाे तथ्यांकअनुसार इलाम, पाँचथर, धनकुटा, ओखलढुङ्गा, सिन्धुपाल्चोक, नुवाकोट, तनहुँ, स्याङ्जा, पाल्पा, बाग्लुङ, रोल्पा, रुकुम, दैलेख, अछाम, र बैतडी आदि पाहिरोको जोखिम रहेका छन् भने, झापा, मोरङ, सुनसरी, उदयपुर, महोत्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, चितवन, बाँके, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर बाढीको जोखिममा रहेका छन्।
२०७३ पछि बढ्दै विपद्का घटना
एक दशकको तथ्यांक हेर्दा २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए। तर, २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लाग्न थालेको हो। ०७३ देखि उकालो लाग्न थालेको विपत्तिका घटनाहरु हाल आएर साढे ५ हजारसम्म पुगेको छ।
पछिल्लो एक दशक (वि.सं. २०६९–२०७९) मा विपद्का २४ हजार ५८६ घटना भए। जसमा परेर ५ हजार ६ सयको मृत्यु भएकोमा त्यसको आधा मानवीय क्षति बाढी र पहिराले गराएको छ।
यसैगरी पछिल्लो एक वर्षको तथ्यांक हेर्ने हो भने पहिराे, बाढी, चट्याङ, अगलागी, भारी वर्षा, हावाहुरी, भू-कम्प, जनावरको आक्रमणबाट क्रमश: ५७४, १४४, २८४, ३५७३, १६५, ११८, ४३, ३२८ प्राकृतिक विपत्तिका घटना भएका छन्।