‘सम्भवत: अब विश्वव्यापी तापमान वृद्धि (ग्लोवल वार्मिङ)को युग सकिएको छ’ अघिल्लो साता एउटा पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले भनेका थिए ‘र अब उम्लिएको युग(ग्लोवल बोइलिङ)को सुरुवात भएको छ।’
त्यो पृथ्वीमा अहिलेसम्मकै तातो महिना(जुलाई) थियो। जसलाई वैज्ञानिकहरूले करिब करिब १ लाख २० हजार वर्षयताकै सबैभन्दा ‘तातो’ महिना भनेका छन्।
सन् १९४० देखि २०२३ सम्म पृथ्वीको तातोपना तुलना गरेका वैज्ञानिकहरूले यो वर्षको जुलाई महिना लाखौं वर्षदेखि गुज्रिएकामध्ये सबैभन्दा तातो महिना भनेर घोषणा गरे।
जलवायु वैज्ञानिकहरूले यसलाई मानवजाति र पृथ्वीका लागि निकै भयानक संकेत पनि भनेका छन्।
जलवायु परिवर्तनको यो एउटा डरलाग्दो सुरुवात हो। विज्ञहरूकाअनुसार पृथ्वीको यो तातोपनालाई १.५ डिग्री सेल्सियसमै अड्याइराख्न अझै सम्भव छ। मानवनिर्मित औद्योगिककरण(सन् १७००को शताब्दी)को युग सुरु हुनुभन्दा अघिको त्यो तापक्रमलाई (१.४) बढ्न नदिनका लागि अब पनि कडा कदम चालिएन भने यो तातोपनाले पृथ्वीकै अस्तित्वमाथि धावा बोल्ने निश्चित छ।
‘सिङ्गो मानवजाति अहिले अहिले एउटा तातो भुङ्ग्रोमा छ। खासगरी उत्तरी अमेरिका, एशिया अनि अफ्रिका र युरोपेली भूमि बेस्सरी तात्तिएको छ। जहाँ यो खरमाउलो गर्मी अझ क्रुर भएर चर्किरहेको छ’ उनले भनेका छन् ‘यो सब मानवीय क्रियाकलापकै कारण हो। त्यसैले मानवजातिले नै यसलाई नियन्त्रण गर्छ। नत्र हाम्रो यो ग्रह एउटा भयानक विपत्तिमा जानेछ।’
विश्वभरका राष्ट्र र सरकारहरूलाई यसअघि पनि वैज्ञानिकहरूले पटक-पटक चेतावनी दिँदै आएका छन्। अस्वभाविकरूपमा बढिरहेको तातो र निकै नाटककीय रुपमा चर्किरहेको पृथ्वी सेलाउनका लागि अब सायद झ्याल ढोकाहरू बन्द हुँदैछन्।
‘सायद अवसरका झ्यालढोकाहरू अब बन्द हुनसक्छन्’ यसअघि वैज्ञानिकहरूले भनेका थिए ‘यो तातिएको पृथ्वीभन्दा जलवायु परिवर्तनको संकटलाई प्रमाणित गर्न अर्को बलियो र जिउँदो साक्षी केही हुनसक्दैन।’
विश्व जलवायु परिवर्तन र त्यसका असरहरूलाई नजिकबाट अध्ययन र अनुसन्धान गर्दै आएको युरोपेली संघको कोपर्निकसका अनुसार गत जुलाई ६ मा वैश्विक तापमान १७.०८ सम्म पुगेको थियो। यो कैयौँ वर्षको रेकर्ड तोड्नै नयाँ मापन गरिएको तापमान हो।
‘पृथ्वीको हावा हावाजस्तो छैन, यो निल्न लायक छैन। गर्मी असह्यै भइरहेको छ’ उनले भनेका छन् ‘यो तातो पृथ्वीसँगै अब हरेक देशको नेतृत्व तातिएनन् भने सायद हाम्रो यो ग्रह बचाउन मुश्किल हुनेछ।’
युरोप तथा अमेरिकी राज्यहरूमा अहिले चलेको तातो हावाले धेरैको ज्यान पनि लिइसकेको छ। तातो हावाको आदत नभएका यहाँका मानिसले त्यसलाई सहनै सकेनन्।
अघिल्लो वर्षको एउटा अध्ययनअनुसार युरोपका ३५ देशहरूमा कम्तीमा ६१ हजार मानिसको ज्यान त्यही तातो हावाका कारण भएको थियो। यसपाली पनि यी देशहरूमा कम्तीमा २० हजार मानिसले तातो हावाकै कारण ज्यान गुमाइसकेका छन्। खासगरी वृद्धवृद्धाहरूको ज्यान थालेपछि युरोपका कतिपय देशहरूले घरघरमा स्वास्थ्यकर्मी खटाउन थालेका छन्।
मानिसको मृत्यु र अरू क्षतिको यो आंकडा अझै बढ्नसक्ने चेतावनी अनुसन्धानकर्मीहरूले दिइरहेका छन्।
समुद्र पनि भुङ्ग्राजस्ता
पृथ्वीको जमिनमात्रै होइन, विश्वका कैयौँ विशाल समुद्रहरू पनि अहिले अस्वभाविक रूपमा तातिइरहेका छन्। पछिल्लोपटक २०१६ मा अत्यधिक तातिएका समुद्रहरूको तातोपनाले यो वर्षको मे, जुन र जुलाई महिनामा रेकर्ड ब्रेक गर्यो।
सबैभन्दा आश्चर्य र जोखिमको कुरा त वैज्ञानिकहरूले उत्तरी एटलान्टिक समुद्रको अस्वभाविक तापक्रमलाई लिएका छन्। पृथ्वीमा बाँचिरहेका प्राणी तथा जीवहरूका लागि चाहिने करिब ५० प्रतिशत अक्सिजन समुद्रबाटै उत्पादन हुन्छ। सामुद्रिक पर्यावरणीय प्रणालीको सन्तुलन कायम राख्नका लागि त्यसको तापमान ५ डिग्री पनि निकै नै धेरै हुन्छ।
विश्वव्यापी रूपमा समुद्री सतहको तातोपना गत साता २०.९६ डिग्री सेल्सियस पुग्यो। जलवायु वैज्ञानिकहरूकाअनुसार यो आवश्यक औसत तापक्रम भन्दा धेरै नै हो।
पर्यावरणीय सन्तुलनमा समुद्रहरूको निकै ठुलो महत्व छ। जसले पृथ्वीलाई चाहिने आधाभन्दा धेरै अक्सिजन उत्पादन गर्छन् र बढी भएको ताप सोसेर लिन्छन्।
समुद्र तातिँदै जाँदा तातो पानीले कार्बनडाइअक्साइड सोस्ने क्षमतामा कमी आउँछ। जसले वायुमण्डलमा तापक्रम झन् बढाउँछ र पर्यावरणीय सन्तुलन खलबलिनसक्छ।
कतिपय सामुद्रिक जीवहरू चिसोमा सिकार गर्छन्। जस्तो कि ठुला शार्कहरू। पानी तात्दै जाँदा उनीहरूले आहार-विहारका लागि आफ्नो ‘इलाका’ फेर्नसक्छन्। जसका कारण खाद्य श्रृङ्खलामा मात्रै होइन पूरै इकोसिस्टम खलबलिनसक्छ।
‘सायद हामीले यी समुद्र, महासागरहरूलाई आवश्यकताभन्दा पनि बढी दोहन र शोषण गरिरहेका छौं। उसका प्राकृतिक नियमहरू खलबल्याइदिएका छौं’ बेलायती वैज्ञानिक डा. म्याट फ्रस्ट भन्छन्, ‘सायद समुद्रको पानी पनि उम्लिने तहमा पुग्न लागेको त्यसकै कारण हो।’
वैज्ञानिकहरूकाअनुसार मार्च-अप्रिल महिनामा समेत समुद्री सतह यसरी तातिएको थिएन। जुलाई-अगस्टमा आएर समुद्र यसरी तातिनु भनेको आश्चर्यमात्रै नभई एउटा नराम्रो संकेतका रूपमा वैज्ञानिकहरूले लिएका छन्।
किन यस्तो भइरहेछ ?
यो सब मानवजातिकै क्रियाकलपाको कारण हो। औद्योगीकिकरण सँगसँगै विकासको होडबाजीमा दौडिरहेको मान्छेले प्रकृतीको बाटो बिथोलिरहेको छ। त्यसको ढाँचा र स्वरुप बदलिदिएको छ।
खनिज इन्धन(जीवाश्म)को प्रयोग सबैभन्दा घातक हो। अहिले विश्वशक्ति राष्ट्रहरूको सबैभन्दा ठुलो लडाइँ पनि यही इन्धनको युग अन्त्यका लागि हो।
केही राष्ट्रहरूले यो इन्धनको उत्पादन र प्रयोगलाई घातक भन्दै त्यसको अन्त्यका लागि दबाव दिइरहेका छन्। तर, धेरै राष्ट्रहरूले त्यसलाई कार्यान्वयनमा ल्याइरहेका छैनन्। हरेक वर्ष हुने विश्वजलवायु सम्मेलनमा पनि यही नै मुख्य मुद्दा हुन्छ।
खनिज इन्धनको बढ्दो उत्पादन र प्रयोगका कारण उत्पन्न हुने कार्बन र हरितगृहका कारण वायुमण्डल बिथोलिएको छ। जसका कारण ओजोन तह पातलिँदा पृथ्वीमा अस्वभाविक हलचल आउँछ।
एक अध्ययनअनुसार विश्वमा सबैभन्दा धेरै कार्बन उत्पादन गर्ने देश चीन हो। जसले वायुमण्डलमा बाक्लिरहेको करिब ३० प्रतिशत कार्बनको हिस्सा ओगट्छ। त्यसपछि अमेरिका जसले १४ प्रतिशत कार्बन वायुमण्डलमा फ्याँकिरहेको छ। यो भनेको चीनको करिब १० हजार ६५ मिलियन टन कार्बन हो भने अमेरिकाको करिब ५ हजार ४ सय १६ मिलियन टन हो।
त्यसपछि तेस्रो नम्बरमा भारत छ जसले २ हजार ६ सय ५४ मिलियन टन कार्बन उत्पादन गर्छ। त्यसपछि रसिया १ हजार ७११, जर्मनीले ७ सय ५९, इरानले ७ सय २०, साउथ कोरियाले ६ सय ५९, साउदी अरबले ६ सय २१ र इन्डोनेसियाले करिब ६१५ मिलियन टन कार्बन उत्पादन गर्छन्।
औद्यागिक क्रान्तिको होडमा लागेका यी ठुला देशहरूका कारण जलवायु परिवर्तनको मार नेपालजस्ता साना देशहरूले खेपिरहेका छन्, जो कार्बन उत्सर्जनमा निकै कम जिम्मेवार छन्।
ग्रीस, स्पेन तथा इटलीलगायत युरोप र अमेरिकाका कतिपय राज्यहरूमा गर्मी सहन नसकेर धेरै मानिसको मृत्यु पनि भयो। यसअघि उतिसारो तातोपना नभोगेका यहाँका मानिसलाई त्यसको आदतै थिएन।
विश्व मौसम विज्ञान केन्द्रकाअनुसार जुलाईको अन्तिम साता केही ठाउँमा ४५ डिग्री सेल्सियससम्म तापक्रम पुग्यो।
यो भनेको लगभग नेपाललगायत दक्षिणी एशियाका तराई क्षेत्रमा हुने अत्यधिक गर्मी हो।
यहाँजस्ता त्यहाँ पनि ‘लु’(तातो हावा)का कारण धेरै मानिसको मृत्यु भयो र कैयौ बिरामी परे।
मौसम प्रणाली बिथोलिँदा वायुमण्डलमा अड्किइरहने तातो हावा, माटोको आद्रताका कारण ‘लु’ फैलिन्छ। जसको मूल कारण जलवायु परिवर्तन नै हो।
यसै कारण हो पृथ्वीमा उत्पन्न भएको करिब ९० प्रतिशत कार्बन सामुद्रिक सतहमा सञ्चित भएको छ। जसले समुद्रको करिब २००० मिटरसम्म अत्यधिक तातो बनायो।
यसले पृथ्वीलाई अझ तातोमात्रै बनाएको छैन। त्यसले हिमालयका हिउँ पग्लिने दरलाई अझ बढाएको छ। जसका कारण समुद्रको जल सतहलाई खतराको विन्दुमा पुर्याउनसक्छ। हिउँ तालको विष्फोटले मानवजातिमा अर्को खतरा निम्त्याउनसक्छ।
केही अध्ययनहरूले आगामी २१०० को दशकसम्म हिमालयसँग गाँसिएका हिमनदीहरूले आफ्नो ८० प्रतिशत हिउँ गुमाइसकेका हुने छन्।
जलवायु वैज्ञानिक जोयस किमुताई भन्छिन्, ‘यो एउटा बाध्यकारी चेतावनी हो। हामीले अब के गर्ने भनेर कुरामात्रै होइन, तत्कालै त्यसको कार्यान्वयनमा उत्रिन जरुरी भइसकेको छ।’