क्विन्टल सुनमा गृहमन्त्रीको नाम जोड्दै कांग्रेस–एमाले नेताहरू

रविन भण्डारी

काठमाडाैँ
File Photo
File Photo

बरामद भएको अवैध सुन अब के हुन्छ ?


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं भित्रिएको ‘एक क्विन्टल सुन प्रकरण’ले राजनीतिक वृत्त तातिएको छ।

आम नागिरकले एउटा सामान्य मोबाइलसमेत पास गराउन हम्मेहम्मे पर्ने विमानस्थल भन्सारबाट ‘कसरी छिराइयो १०० केजी सुन,’ यो प्रश्नले शीर्ष राजनीतिज्ञदेखि सुरक्षा निकाय र कर्मचारीतन्त्र लखेटिरहेको छ।

मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमार्फत् ल्याइएको झण्डै एक क्विन्टल सुन विमानस्थल बाहिरबाट बरामद गरेकाे थियो, त्यो पनि प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिनामंगल लगिएको सुन ट्याक्सीबाट बरामद गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ताले जनाएका छन्। बरामद गरिएको १०० केजी सुनबारे अनेकौँ अड्कलबाजी चलिरहेकै छन्।

‘यो सुन कुनै सामान्य व्यक्तिले ल्याएको होइन। हुन त अहिले एकातिर अनुसन्धन भइरहेको छ। तर अर्कातिर हाम्रो आशंका चाहिँ शक्तिकेन्द्रसँगै जोडिएका पात्र र ठुल्ठूला नेताहरू हुनसक्छन् भन्ने छ,’ राजस्व अनुसन्धान विभागका एक अधिकारीले भने।


किन घरिघरि विवादमा आइरहन्छ विमानस्थलको सुरक्षा ?


सत्ता र पहुँचको आडमा पछिल्लो समय दिनदिनै भइरहेको भनिएको सुन तस्करीमा माओवादी केन्द्रका शीर्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासमेत जोडिएका छन्। महराका बाउछोरा र चिनियाँ नागरिक संलग्न भइ सुन तस्करी गरेको समाचार सेलाउन नपाउँदै बुधबार साँझ फेला परेको १०० केजी सुन प्रकरणले यतिबेला नेपाली समाजमा खैलाबैला मच्चाएको छ।

एक क्विन्टल सुन प्रकरण छताछुल्ल भएपछि शीर्ष पार्टीका शीर्ष नेताहरू मौन छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीका विषयमा खासै चासो देखाएका छैनन्।

अर्कातिर सत्तापक्षको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले १०० केजी सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अन्य माओवादी नेताहरूको संलग्न रहेको बताएका छन्।

सानेपामा चलिरहेको केन्द्रीय समितिको चौथो दिनमा नेता बस्नेतले गृहमन्त्री श्रेष्ठको नाम सुन तस्करीमा आएको भन्दै पदबाट राजीनामा माग्नुपर्ने बताएका छन्।

‘सुन काण्डमा नारायणकाजीको नाम आयो, महराको नाम आयो। केपी ओलीको पनि नाम आएको छ। अब उहाँको राजीनामा माग्न जाने कि नजाने? आफ्नो पार्टीको नेताको नाम आउँदा जाने, अनि अहिले नजाने?’ उनले भने।


हतासिएका मलहोत्रा र सुनको साइनो 


बस्नेतसहित कांग्रेसका संस्थापन इतर समूह र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता बालकृष्ण खाँणनिकट अधिकांश युवा नेताहरूले ठूलो परिमाणको सुन विमानस्थलबाट पार गरेर बाहिर फेला परेको हुँदा गृह मन्त्रालय र अर्थ मन्त्रालयतिरै शंकाको सुइ घुमाउन सकिने प्रशस्तै सम्भावना रहेको बताउँछन्।

सुन तस्करीलाई लिएर सत्तापक्षका नेताहरूसँगै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का दोस्रो तहका नेताहरूले समेत गृहमन्त्री श्रेष्ठप्रति आशंका व्यक्त गरेका छन्।

त्यस्तै, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमको समर्थन गर्दै नैतिकता आधारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्रीको राजीनामा मागेका छन्।

बुधबार साँझ राजस्व अनुसन्धान विभागको सक्रियतामा १०० केजी सुन फेला पारे पनि पछिल्लो समय दिनदिनै यसै प्रकारले विमानस्थलबाटै सुन तस्करी भइरहेको आशंका छ।


एयरपोर्टमा मलहोत्राको जगजगी: परिसरमा राइँदाइँदेखि १०० किलो सुनसम्म


बरामद भएको सुन गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट व्यवसायी दीपक मलहोत्राको वा अन्य कोही शक्तिकेन्द्रसँग साँठगाँठ भएका बलिया व्यक्तिको हुनसक्ने भन्दै अहिले राजनीतिक नेताहरूले कुरा उठाउन थालेका छन्।

शुक्रबार विमानस्थल अवलोकनका लागि त्यहाँ पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘तपाईंकै नाम मुछिएको छ नि!’ भनेर जिज्ञाशा राखेका थिए। जवाफमा हाँस्दै गृहमन्त्री श्रेष्ठले उल्टै प्रश्न गरे– यो प्रश्न गर्न लायक विषय हो?

प्रकाशित मिति: : 2023-07-21 21:10:00

प्रतिकृया दिनुहोस्