विमानस्थलमा सब छन्। नेपाल प्रहरी छ। सशस्त्र प्रहरी अनि नेपाली सेना छन्। राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र भन्सार विभाग छन्। नागरिक उड्डयन प्रधिकरण र एयरलाइन्सका कर्मचारी छन्। तर न गतिलो चेकजाँच छ, न सुरक्षा।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भन्सार जाँचपास’ बाट उम्किसकेको करिब एक क्विन्टल बराबरको सुन केही बेरपछि राजश्व अनुसन्धान विभागको एउटा टोलीले समायो। हङकङबाट क्याथे प्यासेफिक जहाजबाट उतारिएको त्यो सुन विमानस्थल परिसरबाट बाहिरिँदै थियो।
पहिलोपटक राज्यले नियन्त्रणमा लिएको यो धेरै ठूलो परिणामको सुन हो।
यो घटनामा अनेक मान्छेका नाम जोडिएका छन्। एकजना चिनियाँ र भारतीय नागरिकसहित ७ जना पक्राउ परिसकेका छन्।
तर यो घटनासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कुरिबसेका भन्सार र त्यहाँका कर्मचारीहरूबारे मात्रै होइन, विमानस्थल सुरक्षाका बारेमा पनि गम्भीर प्रश्नहरू उठेका छन्। यद्यपि भन्सार विभागका केही कर्मचारीहरूलाई निलम्बन र अरू विभागीय कारबाहीका प्रक्रिया पनि अघि बढाइएको छ।
कसरी छिर्यो सय किलो सुन?
‘हामीले लगाएको एउटा घडी खोलेनौं भने, एउटा मोबाइल कोटको गोजीमा हालेर छिर्दा मेसिनबाट डिटेक्टर कराउँछ’, बिहीबार राष्ट्रियसभा बैठकमा सदस्य रमेशजंग रायमाझीले भने, ‘तर एकपटक होइन २२ पल्ट। अनि एकैपटक त्यत्रो १०० किलो सुन निस्किँदा त्यो डिटेक्टर किन कराएन?’
प्रश्न सामान्य हो। तर विमानस्थल सुरक्षासँग गाँसिएको एउटा गम्भीर सवाल पनि यही हो।
करिब आठवटा पोकाभित्र राखिएका मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भित्र बेरेर ल्याइएको त्यो क्विन्टल सुनबारे कसैले छनक पाएन। न मेसिनले, न कुरिरहेका भन्सार कर्मचारीले।
त्यो भन्सार पास भइसकेको सुनलाई एउटा ट्याक्सीमा हालेर कार्गो परिसरबाट बाहिर लैजाँदै गर्दा राजश्व अनुसन्धान विभागको टोलीले समात्यो।
विमानस्थलमा रहेको जाँचपास प्वाइन्टमा नेपाल प्रहरी वा अरू सुरक्षा निकाय हुँदैनन्। त्यसैको परिणाम हो, यो विमानस्थलसम्म जहाज चढेर हतियारै आइपुग्छ।
विमानस्थलको भन्सार विभागबाट फुत्किसकेको राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत राखिएको छ। भन्सार भने अर्थ मन्त्रालयले हेर्ने एउटा विभाग हो। प्रहरीहरू गृह मन्त्रालयअन्तर्गत हुन्छन्, सबै निकाय विमानस्थलमै हुन्छन्। तर एकअर्कासँग कुनै समन्वय हुँदैन।
यो सुन समाउँदा पनि राजश्वको टोली आफ्नै ‘अपरेशन’ लिएर त्यहाँ पुग्यो। भन्सारले जाँचपासै गरेर पठायो। प्रहरीलाई सुइँकै भएन।
सुन समाउन आफैँ पुगेका राजश्व विभागका निर्देशक नवराज ढुङ्गानाका अनुसार यसबारे उनीहरूलाई १० दिनअघि नै जानकारी थियो। त्यो सुइँको उनीहरूले कतै चुहाएनन्। प्रधानमन्त्रीलाई भनेका थिए। उनले ‘रिपोर्ट’ गर्ने निकाय नै सिधै प्रधानमन्त्री हुन्। गत असारमा मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई राजश्व अनुसन्धान विभागको निर्देशक बनाएका थिए।
विमानस्थलबाट हुने यस्ता तस्करी अनि सुरक्षा प्रणालीबारे उठ्ने प्रश्नहरू नयाँ होइनन्। पटकपटक त्यसको आलोचना र टिप्पणीहरू हुनेगर्छन्।
केही समयअघिसम्म विमानस्थलको भन्सार जाँचपास प्रहरीले नै गराउँथे। तर पछि त्यो भन्सारकै क्षेत्राधिकार भएको भन्दै विवाद भयो। त्यहाँबाट प्रहरी हटाउनका लागि भन्सारका कर्मचारीले ‘पेनडाउन’ गरेर विरोध जनाए। त्यसपछि ‘भन्सार’को क्षेत्राधिकारबाट प्रहरी पछि हट्यो।
‘तर यस्ता अवैध धन्दा अनि सुरक्षा खतरा र संगठित अपराधहरूको अनुसन्धान गर्ने निकाय त प्रहरीकै हो नि’, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा भन्छन्, ‘विमानस्थलको सुरक्षाका विषयमा पटकपटक कुरा उठ्नु र यस्ता बदनामी हुनु यसैको कारण होला। एकअर्कासँग समन्वय नै हुँदैन।’
पूर्व अख्तियार प्रमुख सूर्यनाथ अधिकारी भन्सार विभागको सुरक्षा कमजोरीका कारण चेकजाँच फितलो हुने गरेको बताउँछन्।
‘भन्सार विभागको कमजोर सेक्युरिटीका कारण अहिले भन्सार चेकजाँच नै फितलो भएको छ। आउने-जानेहरूका सामाग्री चेकजाँच गर्ने जिम्मा भएकाहरूले राम्रोसँग चेकजाँच नगर्नु, चेक गरेपनि राम्रोसँग नजाँच्नु, चेक-जाचँ गर्ने मेसिन गतिलो नहुनुजस्ता थुप्रै समस्याहरू छन्। चेकजाँच गर्नेहरूले पनि सिरियस्ली गर्दैनन्’, उनी भन्छन्, ‘जाँच्ने काम सम्बन्धित कर्मचारीको हो भने चेक त मेसिनले गर्छ। त्यही चेक हुँदा कर्मचारीहरू गड्बडी गरिहाल्छन्। यस्तै कारण हो, अन्तर्राष्ट्रिय रुपमा देशकै बेइज्जत हुन्छ।’
विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, भन्सार विभाग, नागरिक उड्डयन प्रधिकरण र एयरलाइन्सका कर्मचारीसमेत आ-आफ्नो भूमिकामा हुन्छन्।
यसपालि समातिएको सुन अहिलेसम्मकै ठूलो परिणामको हो। ६ वर्ष पहिले अथात् २०७४ सालमा एउटा समूहले दुबईबाट ल्याएको ३३ किलो सुन त्यत्तिकै हरायो। सुन खोज्ने क्रममा त्यो सुन ल्याउने भरिया मारिए र उनको शव भेटियो। तर सुन भेटिएन। त्यसपछि त्यो अनुसन्धानले ठूलै छलाङ मार्यो। बहालवाला कैयौं प्रहरी अधिकारी अनि थुप्रै हाइप्रोफाइलहरू पनि त्यसमा तानिए।
त्यतिबेला गठन भएको छानिबिन उच्चस्तरीय समितिले ३३ किलो सुन काण्डका मुख्य नाइके भनिएका ‘गोरे’को समूहले करिब ३८ क्वीन्टलभन्दा बढी सुनको व्यापार गरिसकेको निष्कर्ष निकालेको थियो।
प्रहरी प्रधान कार्यालयको एउटा तथ्याङ्कअनुसार २०७४/०७५ पछि सुन बरामद हुने दर घटेको थियो। विमानस्थलबाट केही ग्राम वा केही केजीसम्ममात्रै सुन बरामद हुन्थ्यो।
त्यो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा लगभग २०० किलो सुन बरामद गरेको प्रहरीले त्यसयता २०७५/७६ मा ५१ केजी, २०७६/०७७ मा ३० केजी, २०७७/०७८ मा ३२ केजी, २०७८/०७९ मा २३ केजी र आव २०७९/०८० को फागुनसम्ममा ५ किलो गरी ५ वर्षमा जम्मा १४१ किलो सुन बरामद गरेको थियो। त्यसपछि यो आर्थिक वर्षको सुरुवातमै यो ठूलो परिणामको सुन बरामद भएको हो।