एयरपोर्टमा मलहोत्राको जगजगी: परिसरमा राइँदाइँदेखि १०० किलो सुनसम्म

उमेश थापा

काठमाडौं

कुनैबेला हङकङबाट सस्तो मूल्यमा घडीहरू ल्याएर काठमाडौंमा सडक व्यापार थालेका दीपक मलहोत्रा नेपालका ठूला व्यापारी बने। व्यापार र व्यवसायको विस्तारसँगै उनको चर्चा अनि विवाद पनि बढिरहे।

व्यवसाय विस्तारका लागि उनले सबै क्षेत्रमा हात हाल्दै गए। व्यापारमा आउने उतारचढावजस्तै उनका व्यावसायिक जीवनमा विवादहरू पनि उत्तिकै रहे। कर छलीदेखि अवैध धन्दाहरूमा नाम जोडिँदै र विवादमा तानिँदै आएका मलहोत्राले राजनीतिक साइनो पनि उत्तिकै बाक्लो बनाए।

कहिले राजनीतिका तिनै साइनोहरूबाट उनी जोगिए। कति मुद्दाहरूमा विवाद आए पनि उनले चुपचाप व्यापार व्यवसाय चलाइरहे। हङकङबाट सस्ता घडीहरू ल्याएर नेपालमा बेच्ने मलहोत्रा एक दिन नेपालको होनहार मोबाइल व्यापारी बने।

नेपालमा मोबाइलको प्रचलन सुरु नहुँदै उनले नेपाली बजारमा ‘ब्रान्डेड’ मोबाइल ‘सामसुङ’ भित्र्याइसकेका थिए। लगभग धेरै नेपालीले आफ्नो मोबाइल फोनको सुरुवात यही मोबाइलबाट गरे। कोरियाली यो मोबाइल र अरू इलेक्ट्रिक सामान नेपाली बजारमा उत्तिकै चल्तीका हुन्।

नेपालमा त्योबेला घडीमात्रै होइन, हङकङका कपडादेखि अनेकथरि इलेक्ट्रिक सामानहरू पनि आउँथे। हङकङका लागि त्योबेला नेपाल एउटा ठूलो व्यापारिक बजार थियो। नेपालका धेरै व्यापारीहरूले सामान ल्याउने र लैजाने गर्थे। अहिलेजस्तो कार्गो ढुवानी थिएन। हङकङबाट आउनेजानेहरूको पासपोर्टका आधारमा निश्चित परिणाममा सामानहरू ल्याउन र लैजान पाइन्थ्यो।

व्यापारिक समयको त्यो बहावलाई मलहोत्राले टिप्न सके र नेपाली बजारमा मोबाइल भित्र्याए। सन् १९९८ देखि नेपालीका हातमा मोबाइलको सिम आउन थाल्यो। त्यसका लागि मोबाइल सेट चाहिने भयो। तर मलहोत्राले त्यसको २-३ वर्षअघि नै नेपाली बजारमा मोबाइल ल्याइसकेका थिए। त्योबेला भारतमा मोबाइल सेवा सुरु भइसकेको थियो तर त्यहाँ मोबाइल सेटहरू महँगा थिए। त्यसैले भारतीय ग्राहकलाई मलहोत्राले हङकङबाट ल्याएर सस्तोमा मोबाइलहरू बेच्न थाले। पछि त नेपालीलाई नै मोबाइल सेट पुर्‍याइनसक्नु भयो।

सुरुवाती बेला नेपालीका हातमा देखिने मोटोरोला, सोनी एरिक्सन, नोकिया, पानासोनिकजस्ता मोबाइल उनै मलहोत्राले नेपाल भित्र्याएका थिए। घडीसँगै हङकङबाट मोटरका पार्ट्सहरू पनि ल्याएर व्यापार थालेका मलहोत्राको मोबाइल व्यापार त्योबेला घाटामा गयो, जतिबेला नेपाली बजारमा अरू मोबाइल ब्रान्डहरूले पनि जबर्जस्त व्यापार गर्न थाले।

बजारमा ओइरिएका धेरै ब्रान्डले सामसुङको बजार सुकायो। मलहोत्राको व्यापार पनि सुक्न थाल्यो। मोबाइल व्यापारमा झन्डै डुबिसकेका मलहोत्राले त्यसपछि आफ्नो व्यापारलाई अलिकति फराकिलो विविधता दिन थाले। व्यापारका अरू विधामा पनि मलहोत्रा जोडिन थाले।

काठमाडौँमै जन्मिएका उनका बुवा पनि व्यापारी नै हुन्। काठमाडौंकै स्कुलहरूमा पढेका मलहोत्राले आफ्नो बुवाको होटेल व्यापारमा भने हात हालेनन्। बरू क्याम्पस पढ्दापढ्दै उनले हङकङबाट सामान ल्याएर बेच्न थाले र नेपाली व्यापारिक क्षेत्रमा उनले आफ्नै पहिचान बनाए।

उनका बुवाले काठमाडौँमा कुनैबेला एकदमै चर्चित होटेल मानसरोवर चलाउँथे। सोल्टी होटेलभन्दा अघि खुलेको यो होटल त्योबेला खुबै चलेको थियो। आफ्नो व्यापार सुरु गर्नका लागि मलहोत्राले १९९३ मै आफ्नै नाममा आइएमएस कम्पनी बनाइसकेका थिए। यो त्यही कम्पनी हो, जो अहिले मलहोत्रा जोडिएका हरेक व्यवसायमा उत्तिकै विवादित छ।

०००

सामसुङ मोबाइल बेचेको करोडौं कर मिनाहा गराएकोदेखि विमानस्थलमा राइँदाइँ गरिरहेका मलहोत्राको नाम फेरि अहिले सुन तस्करी प्रकरणमा जोडिएको छ।

६ वर्षअघि विमानस्थलमा फेला परेको ३३ किलो सुनकाण्डमा पनि मुछिएका मलहोत्राको नाम यसपालि फेरि १०० किलो सुनमा जोडियो। यो सुन मंगलबार त्रिभुवन विमानस्थलबाट जाँच पास भइसकेको थियो र पछि सिनामंगलबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले यसमा संलग्न देखिएका ६ जनालाई पक्राउ गरेको छ र प्रारम्भिक अध्ययन गरिरहेको छ। त्यही अनुसन्धानको पहिलो घेरामै मलहोत्रा जोडिएका छन्। केमिस्ट्रीहरू उत्तिकै मिलेका छन्। यसअघि पनि मलहोत्रा जोडिएकै हुन्। विमानस्थल छिर्दादेखि निस्किँदासम्म मलहोत्राकै मान्छेहरू ठोक्किन्छन्। उनको व्यापारको सुरुवाती भूमि हङकङ नै हो। १०० किलो सुन पनि हङकङबाटै आएको हो। मोटरपार्ट्स र इलेक्ट्रिक सामानहरू मलहोत्राका सुरूवाती व्यापार हुन्। र, १०० किलो सुन पनि मोटरसाइकलकै पार्टपूर्जामा गाँसिएर आएका छन्।

विमानस्थल परिसरमा मनमौजी, सुनमा लगातार

त्रिभुवन विमानस्थल-मलहोत्रा सम्बन्ध जालो पनि उत्तिकै जेलिएको छ। अन्तर्राष्ट्रिय टर्मिनलको गेटदेखि भित्रैसम्म मलहोत्राको रजगज छ। जतिबेला उनले विमानस्थलको पार्किङस्थलको जमिन भाडामा लिए, त्यहाँदेखि उनले विमानस्थलमा लगभग कब्जा नै जमाए।

त्यहाँ कर्मचारीदेखि बाउन्सरहरूसम्म राख्न भ्याए। विमानस्थलको पार्किङस्थल र त्यहाँ रहेका सबै व्यावसायिक भवनहरूमा उनले नै लगानी गरेका हुन्। जसलाई उनले ३० वर्षका लागि विमानस्थलसँग जमिन भाडामा लिए। त्यो मामिलामा पनि उनी लामो विवादमा फसेका थिए।

उही छाता कम्पनी आईएमएस एयरपोर्ट सर्भिसेजको नामबाट उनले एयरपोर्ट गेटको लगभग ५२ रोपनी सरकारी जमिन भाडामा लिएका छन्। जहाँ पार्किङ तथा व्यापारिक मल र बगैँचाहरू छन्। यो क्षेत्रभरि उनले तोकेको पार्किङ शुल्कदेखि सबै नीतिनियम उनकै चल्छ। सबै कर्मचारीहरू पनि उनकै छन्, निजी सेक्युरिटी, बाउन्सरदेखि मालीसम्मै।

०००

२०६७ कात्तिकमा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यो जमिन रसुवा केडी जेभीलाई ३० वर्षका लागि भाडामा दिएको थियो। त्यहाँ व्यावसायिक भवन, आधुनिक पार्किङ र पार्कलगायतकका संरचनाहरू बनाएर सञ्चालन गर्नका लागि रसुवा केडीले वार्षिक ७० लाख रूपैयाँ भाडा बुझाउनुपर्ने थियो। सम्झौताअनुसार २१ महिनामा सबै भौतिक संरचनाहरू बनाइसकेर सञ्चालनमा ल्याइसक्नुपर्ने थियो। तर निर्माण कम्पनीले समयमै काम गर्न सकेन। केही पटक समय थप त भयो तर पनि काम सकिएन।

त्यही बीचमा ३३ किलो सुन प्रकरणमा मुछिएर यो कम्पनीका मालिक विमल पोद्दार पक्राउ परे। त्यसपछि अलपत्र पारेको कामको जिम्मेवारी सबै सम्हाल्ने गरी मलहोत्राकै कम्पनी आइएमएसले स्वामित्व लियो। अनि संरचनाहरू बनाएर विमानस्थलमा राइँदाइँ गर्न थाल्यो।

बजारमूल्यभन्दा निकै महंगोमा सामानहरू किनबेच हुने यो पार्किङ क्षेत्रमा रहेको व्यापारिक मलमा मलहोत्राले खेल गरे। उनीसँग ३ तलाको मात्रै भवन बनाउने अनुमति थियो। तर पाँच तलाको भवन ठड्याइदिए। विमानस्थलभित्रै बनेको यो अग्लो भवन हवाइ उडानका लागि असुरक्षित मानिन्छ। तर उनले पछि मात्रै महानगरबाट फेरि त्यो पूरै भवनको स्वीकृति र नक्सापास पनि बनाए।

यसअघि इन्डियन प्रिमियर लिग(आइपिएल)को सट्टेबाज धन्दामा पनि जोडिएका मलहोत्रा त्यस्ता अनेकन धन्दा र विवादमा तानिइरहन्छन्। आइपिएलमा अनलाइन सट्टेबाज गराएको आरोपमा पक्राउ परेका एकजना भारतीयले प्रहरीसँगको बयानमा मलहोत्राको नाम पनि मुछेका थिए।

व्यापार-व्यवसाय र सारा जनजीवन नै अस्तव्यस्त बनाएको कोरोना महामारीको सुरुवातमा भएको लकडाउनका लागि मेसिन ल्याएर मास्क उत्पादन थालेका मलहोत्राले सुरुमा नेपाली बजारमा सस्तोमा मास्क दिए। सुरुको लकडाउनका बेला नेपालमा मास्कको निकै अभाव थियो। कालोबजारी समेत हुन थालेपछि सरकार मास्क जुटाउने अभियानमा थियो, त्यहीबेला मलहोत्राले मास्क उत्पादन गरेर पाँच रुपैयाँमै बेच्न थाले।

०००

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब १०० किलो सुन तस्करीमा नाम जोडिएका व्यवसायी मलहोत्राले आफ्नो चरित्रहत्या गर्न सम्बन्धै नभएको मुद्दामा नाम जोडिएको बताएका छन्।

बिएल नेपाली सेवासँग कुराकानी गर्दै मलहोत्राले भने, ‘यो विशुद्ध मेरो व्यावसायिक र निजी चरित्रहत्या गर्ने प्रयत्न हो। हुँदै नभएको कुरामा मेरो नाम जोडिएको छ। म यसमा कहिँकतैबाट संलग्न छैन।’

‘यो मेरो चरित्रहत्या गर्ने पराकाष्ट पनि हो’, उनले भने, ‘यो आरोपबारे मैले कानुनी बाटोमा पनि जानेछु।’

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद गरेको थियो। विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप चार जना गरी हालसम्म ६ जनालाई पक्राउ गरिएको छ।

विभागका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। सुन हङकङबाट ल्याइएको खुलेको छ। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो।

व्यापार, व्यवसाय सधैँ भनेजस्तो हुन्न। कहिले ह्वात्तै उक्लिन्छ, कहिले सडकमै पुगिन्छ। मलहोत्राको व्यावयासिक जीवन पनि त्यस्तै रह्यो। अनेकन अवैध धन्दा र तस्करीका प्रकरणमा गाँसिइरहने मलहोत्रा कहिलेकाहीँ पत्रकारहरूसँग भन्छन्- अब खेतीपाती गर्छु।

प्रकाशित मिति: : 2023-07-20 21:00:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ