नेपाली रंगमञ्चका युवा निर्देशक सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘हिउँभन्दा चिसो’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ। यो नाटक भारतीय चर्चित नाटककार सौरभ शुक्लाले लेखेको नाटक ‘बर्फ’को नेपाली अनुवाद हो।
नाटक हेर्न नाट्यघर पुगेका बिएल नेपालीले निर्देशक सोमनाथ खनालसँगको जम्काभेटमा उनलाई केही प्रश्न गरेकाे छ:
तीन बर्ष पहिले नै स्क्रीप्ट तयार भएको नाटक मञ्चनका लागि किन यति लामो समय लाग्यो?
मैले स्क्रीप्ट तयार पारेको बेला लकडाउन थियो। लकडाउनकै बेलामा साथी र म मिलेर तयार पारेका हौं। यसपालि समय मिल्यो। मण्डलाको प्रोडक्सनमा एउटा नाटक गरौं भन्ने सल्लाह भयो, साथीहरूले पनि साथ दिनुभयो र मञ्चन भयो।
यही नाटक किन रोज्नुभयो नि?
यो नाटकको कन्टेन्ट युनिभर्सल छ। लकडाउनकै बीचमा पनि मञ्चन गर्न मिल्ने भए गर्ने थियौँ। बीचमा हामीले अन्य कामहरू गरेका थियौँ। डिरेक्टरका रुपमा कमब्याक गर्दा यही खालको कन्टेन्टमा काम गर्नुपर्ने थियो।
साहित्य, नाटक, सिनेमाहरूमा अझ राजनीतिमा पनि कर्णाली नै किन प्रयोग भइहन्छ होला?
एक हिसाबले आउनु राम्रै हो। हामी संघीय प्रणालीमा छौं। अन्य ठाउँ, भूगोलको कथा आएकै छ। कर्णालीको कथा आउँदा राम्रै हुन्छ। नदेखिएका पात्र परिवेश भूगोललाई देखाउन मन भएर पनि हो। अर्को कुरा यो नाटकको थिमले कर्णाली मागेको थियो। अर्को कुरा म आफैं पनि कर्णालीसँग नजिक छु। कर्णालीकै कथा बेचेको जस्तो होला तर नाटकले मागेको थिमअनुसार भएको हो। यो नाटकले मागेका पात्र, भाषा अनि भूगोल कर्णालीसँग मिल्ने भएकाले कर्णाली रोजेका हौँ।
नाटकमा देखाइएको जस्तै कर्णालीका मान्छेहरू कृत्रिम जीवन बाँचेका छन्?
कर्णालीका मान्छेहरू मात्रै हैन, धेरै ठाउँका मान्छेहरू कृत्रिम जीवन बाँचेका छौं। त्यसमा पनि कृत्रिम के हो? सत्य के हो भन्ने कुरा नै अचम्म छ।
हामी सबैको आफ्नो सत्य छ। एकजनालाई लागेको सत्य अर्कोलाई सत्य नलाग्न पनि सक्छ। हामीले भोगेको, बुझेको सत्य नै सत्य हो। वास्तवमा विश्वास नै सत्य हो। हामीलाई कृत्रिम त समयले परिस्थितिले बनाएको हो। मलाई त कर्णालीका मान्छे अर्ग्यानिक लाग्छ, मेहनती लाग्छ। उहाँहरूको जीवन अर्ग्यानिक छ। नाटकमा हामीले कृत्रिम बाँचेको देखाउन खोजेका छैनौँ।
साढे एक घन्टा लामो नाटकलाई तीनजना पात्रले मात्रै न्याय दिनसक्नु चुनौतीपूर्ण हैन?
मलाई त सजिलो पो भयो। किनभने ओरजिनल नाटकमा पनि तीनजना पात्र हुनुहुन्छ। धेरैजना पात्रसँग काम गर्दा धेरै समय लाग्छ। मैले रोजेको कलाकारहरूसँग बसेर काम गर्न सजिलो भयो। तर तपाईंले भने जस्तै तीनजना पात्रले मात्रै न्याय दिनसक्नु एकखालको चुनौती नै थियो।
यो नाटक हेर्न आउन चाहेका दर्शकलाई के भन्नुहुन्छ?
तपाईं सत्य केलाई मान्नुहुन्छ? सायद जे देखिराख्नुभएको छ त्यसलाई? मलाई देखिरहनु भएको छ? के म तपाईहरूको जीवनको सत्य बन्नसक्छु? तपाईंले जीवनमा देखेका कतिपय कुराहरू सत्य नहुन पनि सक्छन्। र तपाईंले नदेखेका कुराहरू सत्य हुनसक्छन्। तपाईं यसलाई मान्नुहुन्छ। तपाईं हाम्रा आफ्नै सत्यहरू छन्। अब अर्को फरक सत्य महसुस गर्न आउनुस नाटक हेरौं।