‘कहिल्यै नमर्ने विचार हो हाम्रो, कहिल्यै नथाक्ने यात्रा हो हाम्रो, कहिल्यै नझुक्ने क्रान्ति हो हाम्रो’ दश वर्षे माओवादी युद्धताका गाउँघरका कुनाकन्दरा गुन्जिने यी गीतहरू नै हुन्, आजको समाजको उर्जा अनि गति।
‘जनयुद्ध’ व्यवस्था परिवर्तन र सत्ता परिवर्तनका लागि मात्र थिएन, त्यो त सायद हरेक नेपालीको अवस्था बदल्नका लागि पनि थियो।
राज्य व्यवस्थाविरूद्ध त्यही जनयुद्ध रचना गरेका पुष्पकमल दाहाल प्रचण्डले सत्तायात्राको यो बाटोमा फेरि एउटा अर्को ‘क्रान्तिको जेहाद’ छेडेका छन्, भ्रष्टाचारविरूद्धको क्रान्ति।
जसरी सशस्त्र युद्धले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापित गर्यो। ठिक त्यसैगरी भ्रष्टाचारले जर्जर बनाई खोक्रो पारेको देशलाई त्यसबाट मुक्त गर्न सायद प्रचण्डको यो क्रान्तिलाई कसैले रोक्न सक्ने छैन।
जसरी २५० वर्ष पुरानो सामन्ती राज्य सत्ताको ‘जरो-किलो’ उखेल्न प्रचण्डलाई मात्र १० वर्ष लागेको थियो। ठिक त्यसैगरी आगामी १० महिनाभित्र भ्रष्टाचारका सबै अनुहारहरू उदाङ्गिने छन्। तिनको ‘जरो-किलो’ उखेलिनेछ।
नेपाल र नेपालीको समृद्धिको बाधक बनिरहेको संस्थागत भ्रष्टाचार नीतिगत भ्रष्टाचार हो भन्ने विषयको ज्ञान प्रचण्डलाई राम्रोसँग छ। १० वर्षे जनयुद्धलाई दबाउन देशीविदेशी शक्तिहरूले भएभरको बल लगाए तर आखिर प्रचण्डसामु केही सिप लागेन, घुँडा टेकेरै छाडे। यस मानेमा प्रचण्ड एक साहसी, त्यागी र समर्पित क्रान्तिकारी योद्धा हुन्।
उनले अबलम्बन गरेको एकता संघर्ष, रुपान्तरण र निरन्तरतामा क्रमभङ्गता गरी छलाङ मार्ने सिद्धान्तले नै सफलता प्राप्त गरेको छ। हिजाे राज्यशक्तिको आडमा कमैया राख्ने महाजनहरू, जाली तमसुकेहरू, मीटरव्याजीहरूले रुप परिवर्तन गरी आज कोही कर्मचारीको रुपमा, कोही राजनीतिकको खोल ओढेर देश लुट्ने धन्दामा क्रियाशील छन्। सायद प्रचण्ड जिउँदै छन् भन्ने कुरा तिनले बिर्सेछन् कि!
तिनले संसदीय गणितको हिसाब घोकेछन् क्यारे अनि आफ्नो मालिकले प्रचण्डको राजीनामा मागिरहँदा खुसी देखिन्थे। प्रचण्ड एउटा व्यक्ति होइन, यो त एउटा विचार हो, मार्ग चित्र हो। राष्ट्रघातीको लागि निर्मम अस्त्र हो, भ्रष्टाचारीको लागि महाकाल हो प्रचण्ड। पैसाको लागि जे पनि गर्ने, पैसाकै लागि पदको दुरुपयोग गर्ने, पैसाकै लागि नेपालीलाई भुटानी बनाउने काला अनुहारहरूको खोरको यात्रा निरन्तर छ।
नेपाली जनताले प्रचण्डबाट अपेक्षा गरेको विषय नै यही थियो, जुन पूरा हुने दिशातर्फ अग्रसर छ। पछिल्लो समय प्रचण्ड थोरै बोल्ने, धेरै गर्ने प्रक्रियामा हुनुहुन्छ। जनचाहना पनि त्यही हो। अहिले जनचाहना र प्रचण्डको कदमको एकता भएको छ। यही नै क्रान्तिको जित हो न कि संसदीय गणित।
लक्ष्यकेन्द्रित राजनीतिले मात्रै उद्देश्यहरू निर्माण गर्छ। योजना बनाउँछ, कार्यान्वयन गर्दछ। सरसर्ती हेर्दा प्रचण्डले जुन लक्ष्यका साथ राजनीतिक यात्रा सुरु गरे र जुन बाटो रोजे हेर्नेलाई जति सजिलो छ, होमिनलाई त्यति सजिलो थिएन। त्यो कठिन, कहाली लाग्दो भीषण लडाइँका दिनहरूमा त प्रचण्ड कहिल्यै अत्तालिएनन्।
जनयुद्ध सुरु गर्नु पहिला संयुक्त जनमोर्चा नेपालका तर्फबाट नेपाल र नेपालीको स्वतन्त्रता र समृद्धिका लागि ४० बुँदे माग पेश गरी वैधानिक बाटोबाटै समस्याको समाधान चाहेका प्रचण्डलाई राज्यले पूरै बेवास्ता गरेका कारण युद्धको घोषणा गर्न बाध्य बनायो। के त्यो त्यत्ति सजिलो थियो? तर त्यो सम्भव भयो।
शान्ति प्रक्रियापछि पनि प्रचण्डले ठूला–ठूला आन्तरिक र बाह्य घेराबन्दीको सामना गरेका छन्। कतिपय अवस्थामा नैतिकताका आधारमा हाँसी-हाँसी राजीनामा गरेका छन्। चुनौतीको सामना गर्ने सवाल होस् या जटिलताहरूलाई चिरेर अघि बढ्ने सवाल प्रचण्ड त्यसमा सधैँ परिपक्व देखिन्छन्।
प्रचण्डको आक्रोश सानातिना विषयमा केन्द्रित छैनन्। जब प्रचण्ड आक्रोशित हुन्छन्, त्यहाँ क्रान्तिले नयाँ छलाङ्ग मारेकै हुन्छ। भावावेशमा जे बोले पनि योजनामा भने प्रचण्ड परिपक्व देखिन्छन्।
(लेखक– माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा किसान मोर्चाका इन्चार्ज हुन्।)