सयौँ झाँक्रीहरू एकै ठाउँमा जुटेर मनाइने ‘झाँक्री पर्व’ कस्तो होला? यो पर्वका बारेमा सुन्नेहरू अलि बिरलै होलान्।
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम(पूर्व) भूमे गाउँपालिकाको एक सुन्दर गाउँ हो, लुकुम। मगर जातिको बाहुल्यता भएको यो बस्तीमा केही दलित अनि गुरुङहरूको पनि बसोबास छ। आफ्नै भाषा अनि मौलिक संस्कृतिको छुट्टै पहिचान बोकेको यो गाउँमा आफ्नै बेग्लै किसिमको परम्परा अनि रीतिरिवाजहरू पनि छन्। यही र यस्तै परम्पराको एक हिस्सा हो, झाँक्री पर्व।
सामान्य अर्थमा परम्परागत रुपमा झारफुक गरी बिरामी निको पार्ने व्यक्ति नै झाँक्री हो। तर, यहाँ निको पार्ने व्यक्ति मात्रै होइन, इतिहास बोक्ने बुद्धिजीविको रुपमा पनि झाँक्रीलाई लिइन्छ।
लुकुम गाउँमा सयौँ संख्यामा झाँक्री छन्। यहाँ पुरुष मात्रै होइन, महिला झाँक्रीको संख्या पनि उत्तिकै देख्न सकिन्छ। यो भन्दा अझै चाखलाग्दो त के छ भने, धेरै लामो समयदेखि यहाँका गाउँमा झाँक्रीको मेला नै लाग्ने गर्दछ। जसलाई झाँक्री पर्व पनि भानिन्छ।
२१औँ शताब्दीको उत्तरार्धमा पनि यो ठाउँमा झाँक्रीहरूको अस्तित्व रहनु बाहिरी दुनियाँका लागि अनौठो हुन सक्ला तर यो ठाउँका लागि यो एउटा परम्परा हो, इतिहास हो अनि पर्व पनि हो।
साउने संक्रान्तिलाई अठार मगरात क्षेत्रमा तिवार/राँखे पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन्। यसै अवसर पारेर पूर्वी रुकुमको लुकुम गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ, त्यसै बारमा सबै थरका झाँक्रीहरू मिलेर ज्या: पलेन्ये रम्मा राम अर्थात् भूत निकाल्ने झाँक्री उत्सव मान्ने गर्दछन्। जम्मा भएका झाँक्रीहरूले एकअर्काको ग्रहदशा फार्ने, हेराहेर गर्ने गर्दछन् भने गाउँका युवायुवती, राम्चेहरू र झाँक्रीका चुम्मी वा भान्जाहरूका बिचमा एकअर्कालाई सिस्नो हानाहान गरेर अतिरमाइलो गर्ने गर्दछन्।
किम्बदन्तीअनुसार पौराणिक कालमा एक ‘काना सुरपाङ्खे’ नामक प्राकृत प्रेत-आत्मा थियो। सो प्रेत-आत्माले यो ठाउँ भएर आवतजावत गर्ने मान्छेहरूलाई सताउन थाल्यो। धेरै नै सताउन थालेपछि दिक्क भएर त्यसबेलाका घर्तीको शाखा र सिंजाकोटबाट आएका दर्लामी पुनले सो प्रेत-आत्मालाई गाडेका थिए।
किरखोलाको किनारमा पर्ने मःझेरबाङ भन्ने स्थानमा त्यो आत्मा गाडिएको थियो। पछि त्यसलाई त्यहाँबाट निकालेर ठुलो लुकुम गाउँको खालीखोला किनारमा ल्याइ राखियो। आइन्दा कुनै पनि प्रकारले मानव आत्मालाई दुःख नदेओस् भनेर निगरानीमा राख्न ठुलो गाउँको नजिक सारिएको विश्वास छ। यही प्रेत-आत्मालाई विचरण गर्न र गरिएको सर्त पूरा गरी वशमा पार्नलाई यो झाँक्री पर्व मनाउने गरिन्छ।
अनि प्रक्रिया सुरु हुन्छ साउन १ गतेबाट, लुतो फाल्ने दिन, राँका बालेपछि मौन अवधि सुरु हुन्छ। राँको बालेको दिन मकै, काँक्रो, फर्सी, सिमी, तामालगायत घरमा उब्जाइने तथा जंगलमा पाइने खाद्य बालीहरू चढाउने गरिन्छ। खाम भाषामा ‘राखे’ को पनि आफ्नै अर्थ रहेको छ। ‘रा’ को अर्थ आगो र ‘खे’ को अर्थ फाल्नु हो। यसरी यो दिन आगो बालेर प्रत्येक घरकाले फाल्ने गर्दछन्। यो राँके प्रथाको महत्व लुतो फाल्ने एक रहेको छ भने अर्को चाहिँ प्रेत-आत्मा कमजोर बनाउनु पनि हो।
झाँक्री पर्वको दिनमा झाँक्रीको सहयोगी चुम्मीलाई मुख्य सहयोगीको रुपमा लिइन्छ। घरबाटै निस्कनुपूर्व भूतप्रेतले केही नगरोस् भनेर झाँक्रीले तन्त्रमन्त्रद्वारा आफ्नो र भान्जाको शरीर बाँध्ने गर्छन्।
त्यसपछि भान्जाले झाँक्रीको सामान बोकेर नाच्ने ठाउँममा गई आगो बालेर ढ्याङ्ग्रो तताउने र नाच्ने गर्दछन्।
त्यसको केही समयपछि झाँक्रीहरू बर्छा अर्थात् टेकाउने लिएर आउने गर्छन्। झाँक्रीहरु पहिले झाँक्री पोसाक अर्थात् छेर्ला नलगाएर नाच्ने गर्दछन्। यसरी नौ फान्को नाचिसकेपछि झाँक्री पोसाक अर्थात् छेर्ला लगाउने गर्छन्। छेर्ला लगाएपछि तन्त्र मन्त्र गरी पितृ बोलाउने गरिन्छ र पितृ आत्मा आइसकेपछि झाँक्रीहरू काम्न थाल्छन्। त्यसपछि एकअर्काले विठ्यूँमा बोकेर ग्रह-दशा शान्त पर्ने गर्दछन्। यति प्रक्रिया पूरा भएपछि फेरि नौ फन्का नाचिन्छ। यही दौरानमा सिस्नो हान्ने पनि गरिन्छ। सिस्नो हान्नु भनेको शरीरमा रहेका अदृश्य भूतप्रेतलाई धपाउनु हो, त्यसैले कोही कसैलाई हानियो भने पनि रिसाउँदैनन्।
नौ फन्का पूरा गरेपछि खाली खोलामा राक्से (भूत प्रेत) निकाल्न जान्छन्। त्यसका लागि मुख्य झाँक्रीले आफ्नो मन्त्र वाचासहित उठाउन जान्छ। मन्त्र वाचाबिना उठाउन गएमा भूतप्रेतले झम्टिने भएकाले पाको झाँक्री मात्रै आफ्नो मन्त्र वाचासहित जाने गर्दछन्। खोलाबाट राक्से निकालेर आएपछि राक्षसको टाउकोमा सुरा ठोकिन्छ। मुख्य पालो पाएको झाँक्रीले राक्से निकाली दगुरेर गाउँ छिचोल्दै पश्चिमको झोलेनी बिसौनामा आएर बस्छ। मुख्य झाँक्री दगुर्दै आएपछि पछाडि पछाडि सबै झाँक्रीहरू पनि दगुरेर गाउँ पस्छन्। त्यसबेला हेर्ने दर्शकका लागि पनि मनोरम र उत्साहित दृश्य देखिन्छ।
झाँक्रीहरू गाउँ पसेपछि घर-घरमा गई मान्छेहरूलाई पिठ्यूँ चढाउँदै जान्छन्। ज–जसले पहिला आफूलाई जानकारी गराउँछन्, तिनीहरूको घरमा जाने हुन्छ। अन्धाधुन्ध जो पायो त्यसको घरमा जाने हुँदैन।
घर-घरमा गएर कुखुराको टाउको छिनाएर रक्सी खानेले एक बटुको रक्सी र रक्सी नखानेले पानी खाने गर्दछन्। एउटा कुखुरा सन्तानभरिको घरमा डुलाएर झोलेनी बिसौनामा गएर आफ्ना आफ्ना थरकाले रक्सी, रोटी सेल लगेका हुन्छन्, त्यही खान्छन्। त्यहाँबाट आएर एउटा घरमा जम्मा भई सँगै खाना फुकाउँछन्।
थर्की अर्थात् थलामा आएर नाची आफ्नो आफ्नाे थरको मुख्य झाँक्रीको घरमा जम्मा भई फेरि अर्को कुखुरा खाएर घरमा जान्छन्। प्रेत-आत्माबाट बचेको र फेरि पनि धेरै बाँच्ने कामनासहित सो अवसरमा करिब १ हजार हाराहारीमा गाउँभरि भालेको बलि चढाइन्छ।
झाँक्री पर्वको भोलिपल्ट जुम्जुते हुन्छ। जुम्जुतेमा माटो निकाल्ने, रगतको बलि चढाउनेलगायत कडा काम गर्नुहुँदैन र टाढाको यात्रासमेत गर्नुहुँदैन भन्ने विश्वास रहेको छ। टाढा-टाढा बसाइँ सरेर गएका लुगुम्यालहरू मेला हेर्न आए भने जुम्जुतेको दिन फर्केर घर जाँदैनन्। सो दिन गाउँमा हिलो खेलेर बस्ने गर्छन्।
हिलो खेल्ने दिनमा झाँक्रीका भान्जाहरु झाँक्री चालामा नाच्ने र हिलो हानेर हिलाराम मेला बनाउने गर्दछन्। हिजोको दिनमा टाउकोमा सुरा खोपेको राक्षसले मान्छेलाई फेरि नभेटोस्, नचिनोस् र नराम्रो नहोस् भनेर हिलो छ्यापेर मान्छेलाई नचिनिने बनाइन्छ।
समग्र गाउँ पालिकाका बस्तीहरूमध्ये सबैभन्दा बढी संख्याको रुपमा झाँक्रीहरू रहेको यो लुगुम गाउँमा झाँक्रीका अनेक महत्वपूर्ण कथाहरू छन्।
यो एउटा परापूर्वकालदेखि मानिँदै आएको परम्परा हो। यस परम्पराले पर्यटनको क्षेत्रलाई पनि टेवा पुर्याउँदै आएको छ। यस परम्परालाई पर्यटनको रुपमा थप विकास, प्रवर्द्धन गर्न र बचाइराख्न स्थानीय सरकारले विशेष चासो र कदम चालेको पनि छ। झाँक्री पर्व भूमे गाउँपालिकाभित्र सांस्कृतिक पर्यटनको एउटा धरोहर बन्नेछ। शुभकामना !
(नोट: यो लेख स्थानीय झाँक्रीहरूसँगको अन्तर्क्रिया, पर्यटन प्रवर्द्धनमा सक्रिय स्थानीय युवा दिलचन पुन र सांस्कृतिक अध्ययता तिलक रोकाको सहयोगमा लेखिएको हो।)