जसले प्रतिभा भएर पनि परिचय पाइनन्

हेमन्त विवश

काठमाडौं
BreaknLinks
BreaknLinks

सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा लोकसाहित्य र संस्कृतिमा मात्रै धनी छैन, त्यहाँका मानिसहरू समेत निकै रमाइला र मिलनसार छन्। डेउडा गीतप्रति तिनको लगाव लोभलाग्दो छ। त्यसैले त भनिन्छ, हौसिया बाजुरो अर्थात् रहडी बाजुरा जिल्ला। पछिल्लो समय त्यही रहडी बाजुराले जन्माएको छ बिनोद बाजुरेली, राजेन्द्र शाह बिपि, प्रकाश थापा, रेखा जोशी, शोभा थापा, विद्या तिमिल्सिनालगायत थुप्रै चर्चित गीतकार संगीतकार र गायकगायिकालाई।

सोही जिल्लास्थित मार्तडी बजार नजिकै आफ्नो आँगनको डिलमा बसेर एकोहोरो हेरिरहेकी थिइन्, बाजुराकी सुना विक। पारिपट्टी ठडिएको थियो, अग्लो डाँडो। बाजुराका अधिकांश डाँडामा पहिरो जाँदा सेतो माटो बग्छ। यसरी डाँडाको टुप्पोबाट खसेको ठूलो खाले पहिरो टाढाबाट हेर्दा डाँडाको सिउँदो जस्तो देखिन्थ्यो। निधारमा सेतो चन्दन लगाएजस्ता देखिन्थे ठाउँठाउँमा खसेका स-साना पहिरा। पहाडका वनपाखा, डाँडा, खोला, झर्नाहरू जिन्दगीका प्रतीक पनि हुन्।

प्रकृतिका विभिन्न स्वरुपहरू छन् धर्तीमा। तिनैले सिकाएका हुन् हिजोका दिनमा बाँच्ने कला। आजको मान्छे प्रविधिको भरपुर उपयोग गरेर बेलाबखत बाटोघाटो सडक आदि बनाउने निहुँमा भत्काइरहेको छ जिन्दगीका तिनै सुन्दर विम्बहरूलाई। हाम्रा लोककविहरूले छुट्टैखाले आभा देखे तिनमा र रचना गरे कैयौ लोकगीतहरू। जन्माए कैंयो मिथ पनि। तिनकै सामिप्यतामा रहेर बिताए जिन्दगीका पलहरू।

यसरी जिन्दगी चलाउने क्रममा सुनाए तिनै डाँडाखोला, झरना आदिलाई गीतका माध्यमबाट आफ्ना दुःखका भाकाहरू। पछिल्लो समय ती भाकाहरूको खासै खोजी हुन सकेको छैन। जीवन, जगत, मानव सभ्यता र दर्शन समेटेर रचिएका ती भावपूर्ण गीतहरू पनि लोपोन्मुख छन्। चासो दिएको देखिँदैन प्रदेश सरकारदेखि स्थानीय निकाएसम्ममा कसैले पनि।

कला, संस्कृति र सभ्यताको सुन्दर पगडी बाँधेका सुदूरपश्चिमका पहाडी जिल्लाहरू अध्ययन अनुसन्धानको पर्खाइमै छन्। अध्येताहरूलाई परिचालन गर्ने चासो छैन सरकारी निकायमा बसेकाहरूको। कसैले चासो नदेखाए पनि सुना विकहरू बुढी गंगा सुसाएझैं सुसाइरहेका छन् गीतका काव्यिक पंक्तिहरू। ठाउँठाउँमा गएर आफ्नो कला प्रदर्शन गरिरहेका छन्। संस्कृति बचाउने सोचमा अघि बढिरहेका छन्।

सुना त एक प्रतिनिधि पात्र मात्रै हुन्। बाजुरामा डेउडा गीत सिर्जना गर्ने एक से एक हस्तीहरू छन्। जो कसैसँग बातचित गर्दा समेत डेउडा गीतमै गरिदिन्छन्। बझाङ्ग र बाजुरामा अझै धेरै कुरा पाउन सकिन्छ। आफ्नो मौलिकता बचाइरहेका ती दुई जिल्ला सुदूरको लोकसाहित्य र संस्कृतिका खजाना भण्डारण गरिरहेका जिल्ला हुन् भन्दा अत्युक्ति नहोला।

मार्तडी बजार मुन्तिर देखिने फाँटले दर्साइरहेको थियो मानव सभ्यता र जीवनको आयाम। मित्र लक्षमण बलायर र यो पंक्तिकार सुनाको आँगनमा पुग्दा उनी आफ्नै धुनमा के-के सोचिरहेकी थिइन् कुन्नि। बलायरको उनीसँगको चिनजान केही वर्ष पुरानै हो। बलायर जागिरको सिलसिलामा बाजुरा पुगे। जहाँ उनको चिनजान भयो सुनालगायत कतिपय ड्यौडियाहरूसँग। तिनै बलायरले तीन/चार वर्षअघि सुनालाई भूवा पर्वको अवसरमा डोटीस्थित आफ्नो गाउँमा डेउडा खेल खेल्नसमेत निम्त्याए। ती पल सम्झिँदै गीतका माध्यमबाट भेटमा भनेकी थिइन् उनले:
काफल पाके पुर्‍याइ जाम्ला आँम पाके खाइजाम्ला
हजुरले निम्तो दिए डोटीमा आइजाम्ला

उनले पन्ध्र वर्षकै उमेरमा डेउडा खेलमा सवालजवाफ गर्न सुरु गरेकी हुन्। जीवनको यो मोडमा आइपुग्दासम्म कति ठाउँमा कतिपल्ट को-कोसँग सवालजवाफ गरिन्, उनी स्वयलाई पनि पत्तो छैन। उनी बताउँछिन्, ‘कतिपय ठाउँमा भाषा फरक हुँदा सुरुमै बुझ्न अलि गाह्रो हुन्छ। यस्तो हुँदा खेल नरोकियोस् भनेर भाका मिलाउँदै क्याप भन्यौ मै सुनेन (के पो भन्यौ मैले त सुनेन) भन्दै पैतली चाल्छौं।’

उनी पढेलेखेकी हैनन्। तथापि रामायण, महाभारत जस्ता धार्मिक पौराणिक ग्रन्थका पात्र र कथानकलाई आधार बनाएर, तिनको उदाहरण दिएर पनि गीत सिर्जना गर्छिन्। आखिर यो कसरी सम्भव भयो त भन्दा उनी बताउँछिन्, ‘गाउँघरतिर सुनेका त्यस्ता कहानीहरू दिमागमा बसेका हुन्छन्। समय, परिवेशअनुसार तिनलाई गीतमा प्रयोग गर्ने गरेकी छु।’

सानो छँदा उनका आमाबुवाले विद्यालय पठाएका थिए उनलाई। ती दिन सम्झिँदा अहिले पछुतो हुन्छ। उनी भन्छिन्, ‘पढ्या नै। सरले हान्दा भनेर पढ्न्या लेख्न्या दिन घाँस काटेँ। दाउरा, स्याउला अन्याँ पढेकी छैन। (सरले पिट्नु हुन्छ भनेर पढ्ने लेख्ने समयमा घाँस दाउरा गरेँ)।’

हिजोआज उनलाई डेउडा खेल खेल्न विभिन्न जिल्लाबाट निम्तो आउँछ। उनले आफ्नो पारिश्रमिक तोकेकी छन्, एक लाख रुपैयाँ। साथमा तीन/चार जना अरु महिलालाई पनि लगेर जान्छिन्। प्रत्येक ठाउँमा खेल खेलेबापत पाएको पारिश्रमिक सबैलाई बराबर बाँड्ने गरेको कुरा सुनाउँछिन् उनी। भन्छिन्, ‘कतिपय ठाउँमा नाम चलेका हस्तीसँग सवालजवाफ गर्ने अवसर पाइयो। खेल खेल्दा जातभातका कुरा आउँछन्। वर्ग, लिङ्ग, ठाउँ, परिवेश र विकृति विसङ्गतिका कुरा हुन्छन्। मायापिरतीका कुरा त सामान्य भइहाले।’

कतै छाउपडीका दुःख, कतै खानलाउनको समस्या, कतै जातभातको समस्या त कतै भौगोलिक विकटताको समस्याले मानव जीवनलाई विगतदेखि वर्तमानसम्म गाँज्दै आएको छ। जब मान्छेलाई दुःख कष्ट, आपतविपद् आइपर्यो, तब जन्मेका हुन् अधिकांश डेउडा गीतका पंक्तिहरू। सुना विकलाई पनि यस्तै खाले समस्याले बनाएको हो गीताङ्गे। जो पछिल्लो समयमा निकै चर्चित बनेकी छन्।

उनले १५ वर्षको उमेरमा भागेर विवाह गरिन्। उनीभन्दा बीस वर्ष जेठा थिए उनका श्रीमान। जसले मध्यरातमा भगाएर डेरामा लगे। बाह्र/तेह्र वर्षसम्म सँगै बसे। एकदिन श्रीमानले अर्की केटी ल्याएर आए। घरमा सौता आएपछि उनी श्रीमानलाई छोडेर माइतीघर फर्किइन्। उनका बुवाआमाका तीन जना छोरीहरू मात्र थिए। जसमध्येमा भौगोलिक हिसाबले सबैभन्दा टाढा उनी नै थिइन्। उनी माइतीघर फर्केपछि उनका बुवाले आफू बसेको घर उनकै नाममा बकसपत्र गरिदिए। अचेल त्यही घरमा बस्छिन् उनी। उनका दुई जना दिदीहरू पनि नजिकै बस्छन्।

बुवाआमाले धर्तीबाट बिदा लिइसके। उनका दुई जना छोराछोरीले बिहे गरेर नाती नातिना भैसकेका छन्। उनी सुनाउँछिन, ‘छोराले एसएलसी गरेपछि बिहे गरिदिएँ। १२ कक्षा पढेपछि छोरीको पनि विवाह गरिदिएँ। साना नानीबाबु लिएर माइतीघरमै बस्ने गरी आउँदा बाटोमै रचेकी थिएँ गीतका यी पंक्ति’: 
सलाइ कोर्यो आगो बाल्न सल्कायो सापिले 
न त आफ्नी न अर्काकी गर्दियो पापीले

उनीसँग सवालजवाफमा उत्रिन मै हुँ भन्ने ड्यौडियालाई पनि हम्मेहम्मे पर्छ। समाजमा जनचेतना फैलाउन र विकृति विसङ्गीका विरुद्ध लड्ने उनको हतियार बनेको छ डेउडा गीत। यसै सन्दर्भमा कुनै गीताङ्गेले उनलाई सानो जातकी भन्ने आशयमा तेर्स्याएको प्रश्नरुपी गीत सम्झिन्छिन् उनी। 
साली धान पाकेको थियो सुवाकी खानु नाइ
फूलपाती चढाउनु थियो मालिका जानु नाइ
(धर्मकर्म, पाठपूजा गर्नदेखि मालिकादेवीको जस्तो शक्तिपिठमा फूलपाती चढाउन तिमी पानी नचल्ने जातकीलाई अनुमति छैन। के ठुला कुरा गर्छ्याै?) जसको जवाफ यसरी दिएको सुनाइन्।
लेक है निगालो ल्याएँ औंल बुनेँ खारे 
दिया मेरै मुर्ति मेरै साइजाँदा छौ भारे
(बेतबाँसदेखि सुनचाँदी, फलाम सबैका सामाग्री बनाउन सक्ने सीप भएका मान्छेमा पर्छौ हामी। तिमीले पुज्ने भगवानका मूर्ति र ती मन्दिरमा बत्ती बाल्न प्रयोगमा आउने दियो हामीले नै बनाउँछौं। तिमी त ती सामग्री बोकेर लग्ने भरिया मात्र हौ। अझै तिम्रो त्यत्रो फूर्ति।)

विगतमा पुरुषसँग सवालजवाफ गर्ने महिलाहरूलाई चरित्रहीन देख्ने समाज अहिले त्यस्ता प्रतिभावान महिलाहरूलाई ससम्मान बोलाउँछन्, मागेको पारिश्रमिक दिन्छन्। डेउडा खेल खेलेर राम्रैसँग गुजरा चलाइरहेकी छन् सुना विकहरू। उनले कैयौं गायकका लागि डेउडा गीत सिर्जना गरिदिइन्।

‘डायरी बोकेर आँगनमा आउँथे, गीत माग्न। म सर्र भनि दिन्थेँ, तिनले डायरीमा लेख्थे। विगमा तिनै शब्द गाएर कतिले एल्बम निकाले। तर मेरो नाम कतै उल्लेख गरिदिएनन्। एल्बम निस्केपछि एक/दुई जना गायक बिस्कुट, मिश्री, बिडी, चुरोट लिएर भेट्न आए। रचनाकारमा नाम नराख्दा चित्त दुखेपछि मैले ती सामाग्री लिने त कुरै भएन। ती गायक सहभागी भएको खेलमा समेत सहभागी भइनँ। सबैभन्दा ठुलो मन हो। मनै मरेपछि के नै रह्यो र,’ उनले सुनाइन्।

उमेरको कुरा गर्दा उनले हाँस्दै बताइन्, ‘मन त फुच्चाफुच्चीका जसो छ सर। मन त बुढो हुन्या नाइ। म भने बुढीगयाँ।’ छुट्टिने बेला यसै सन्दर्भमा सुनाएकी थिइन्, गीतका यी पंक्ति पनि:
झाड काटी बटुल्नया छिया काँडा काटी ऐरी
ठेगाना होइजाने छिया मनै लाग्यो बैरी

प्रकाशित मिति: : 2023-06-27 22:00:00

प्रतिकृया दिनुहोस्