जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश दिएकाे छ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि प्रहरी हिरासतमा रहेका दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतले अभियुक्त लक्ष्मी महर्जनलाई रु पाँच लाख र टङ्क गुरुङलाई रु १० लाख धरौटीमा छाड्न आदेश दिएको हाे। अदालतले शरणार्थी प्रकरणमा १६ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
उक्त मुद्दामा आजै जिल्ला सरकारी वकीलले जवाफी बहस गरेका थिए। उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधामा जिल्ला सरकारी वकीलको कार्यालयले गत जेठ १० गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो।
त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस शुरु भएको थियो। तीन दिन सरकारी वकील र उजुरीकर्ताको तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकीलहरुले बहस गरेका थिए। आज त्यसको जवाफी बहस भएको हो।