भूमे पर्वकाे अघिल्लाे दिन फूल टिप्न पहाडमा गएका रुकुम (पूर्व)काे भूमे- ६ का युवा-युवती फर्किएका छन्। भूमे पर्वकाे दुई दिन अगाडि यसरी फूल टिप्न जाने परम्परा छ, साेहीअनुसार हिजाे लह्वाटे लेकमा फूल टिप्न गएका उनीहरु एकरात पहाडमै बिताएर आज (बिहीबार) साँझ गाउँ फर्किएका हुन्।
भूमे नाच फुकाउनुअगाडि युवा-युवतीको एक भूमे नाच समूह बन्छ, जसकाे नाम ठाउँअनुसार फरक हुन्छ। कुनै ठाउँमा नोगोवाङे, कुनै गाउँमा भल्क पसिने समूह। त्यही समूह जेठ मसान्तको अघिल्लो दिन रोटी, रक्सी लिएर दिउँसो ४/५ बजेतिर लेक चढ्छन्। नाच्दै गाउँदै लेक चढेको समूहले डाँडाकाँडा भरिभराउ बनाएको हुन्छ। डाँडाको युवा-युवतीको लस्कर मौसमअनुसार बसाइँ सर्ने मालचरिको समूहझै नाच्दै लाग्छ। उकाली काटेपछि ४/५ घण्टामा लेकको नजिक पुग्छन् र त्यहीँ वास बसी रातभरि भूमे नाच, झाम्रे गीत गाएर बिहानको ३ बजाउँछन्। ३ बजेतिर पुजारी उठेर लेकमा पूजा गर्न गएपश्चात बल्ल फूल टिप्न जाने समूह उकाली चढ्छन्।
पूजा गर्नुकाे अर्थ फूल टिप्न जाने समूहले जान वा अन्जानले जुठो पिटो भएमा माफी दिनु, फूल टिप्न आउने समूहलाई भिरबाट जोगाइदिनु, ढुङ्गामुढाबाट जोगाइदिनु, बुकी लाग्नबाट जोगाइदिनु भनेर पन्थ्यौली र लेकका सिद्ध देवतालाई पुकारेपछि फूल टिप्न जाने समूह भिर/पाखामा छरिएर फूल टिप्न लाग्छन्। फूल टिपेर एक मुर्ला लिएर आफ्नो पन्थ्यौलीमा मुर्ला गाडेर आ-आफ्नो पन्थ्यौली घुमाइ नाचेपछि नोगोवाङे समूह महिलाको पछ्यौरी जोडेर लामो बनाई घरतिर बाटो लाग्छन्।
नाच्दै गाउँ आउने क्रममा एक जलाकी भेटिन्छ, त्यहाँ एक मुर्ला गाडेर नयाँ फूल टिप्न गएको व्यक्तिलाई उक्त जलाकी बाेकेर घुमाउँछन्। बुढापाकाकाअनुसार बाेकेर घुमाएपछि बाेकी माग्नेलाई शुभ हुन्छ भनेर एक दुई पैसा पन्थ्यौली अथवा जलाकीमा चढाउँछन्। केही तल आएपछि युवतीहरु बुकीबाट टिपेर लिएको केही फूललाई माला बनाएर पुरुषको समूहलाई लगाइदिन्छन्। गाउँको नजिक आउँदा फूल माग्नेहरुको लस्कर हुन्छ। उनीहरु रक्सी र रोटी लिएर भोकाएर आएका फूल टिप्न जाने समूहलाई स्वागत गर्छन्। बुकीबाट फूल टिपेर आउने समूहले फूल माग्नेलाई फूल दिएर सम्मान गर्छन् भने फूल शिरमा समेत लगाइलिन्छन्। थर्कीमा पुगेपछि सबैलाई शिरमा फूल लगाएर सम्मान गर्छन्। केही चाला नाचेपश्चात फेरि गाउँ घुमेर नाची थर्कीमा आएर त्यसदिन अन्त्य गर्छन्।
(याे रिपाेर्ट मगर संस्कृति अध्येता तिलक राेका मगरकाे सहयाेगमा तयार पारिएकाे हाे।)