दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन सुरु, ९ कवि पुरस्कृत

गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनमा शुक्रबारदेखि दोस्रो साहित्य सम्मेलन सुरु भएको छ। 

तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङ्मय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको हाे।

‘भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मुल नारासहित सुरु भएको सम्मेलनको पहिलो दिन आज वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ९ जना कवि पुरस्कृत भएका छन्। 

मुलकभरिबाट प्राप्त २ सय ३७ कविताबाट निर्णायक मण्डलले पुरस्कृत कविता छनोट गरेको हो।

कार्यक्रममा प्रतियोगितामा छानिएका उत्कृष्ट ६५ वटा कविताहरु समेटिएको स्मारिका पनि विमोचन गरिएको छ। प्रमुख अतिथि सरुभक्त, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रतिष्ठानका अध्यक्ष सागर उदास र सांस्कृतिक अध्येता काशीनाथ न्यौपानेसहितको समूहले स्मारिका विमोचन गरेकाे हाे। 

प्रतिष्ठानकी सचिव अन्जु दाहालले रोचक ढंगमा सञ्चालन गरेको कार्यक्रममा पुरस्कृतका साथै अन्य कविले आ-आफ्ना कविता वाचन गरेका थिए।

कार्यक्रममा सातै प्रदेशका चर्चित कवि, लेखक तथा पत्रकारको सहभागिता छन्। प्रतिष्ठानले यसअघि वि.सं. २०५३ फागुनमा पहिलो राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरेको थियो।

प्रतियोगितामा सिराहाका कवि अविनाश भट्टराई पहिलो, संखुवासभाका कवि सिजन श्रेष्ठ दोस्रो, झापाका केशव भट्टराई तेस्रो भए।

उनीहरुलाई क्रमशः ५५ हजार, ४० हजार र २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरियो।

त्यसैगरी अन्य ६ जना सान्त्वनास्वरुप जनही १० हजार रुपैयाँसहित सम्मानित भएका छन्। यसरी सान्त्वना पुरस्कार पाउनेमा तनहुँका प्रकाश रम्घाली, विराटनगरकी पूजा आराधना, रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, सिन्धुपाल्चोकका सुन्दर शिरिष र गोरखाका भरतबाबु ढकाल छन्।

कविता मूल्याङ्कन समितिको संयोजन कवि रमेश पौडेलले गरेका थिए भने निर्णायकमा कविहरु श्रवण मुकारुङ, प्रभा भट्टराइै र भूपिन व्याकुल थिए।

कविता कर्ममा लागेका युवालाई प्राेत्साहन गर्न सम्मेलन गरिएकाे प्रतिष्ठानका अध्यक्षा सागर उदासले बताए। ‘साहित्यिक उन्नयन र साहित्यिक पर्यटन प्रवर्धन गर्न हामीले साहित्य सम्मेलन आयोजना गरेका हौं,’ उनले भने।

कविता प्रतियोगिताको संयोजन वरिष्ठ कवि रमेश पौडेलले गरेका थिए। त्यस्तै निर्णायक मण्डलमा वरिष्ठ कवि श्रवण मुकारुङ, कवि प्रभा भट्टराई, भूपिन रहेका थिए।

कार्यक्रमका प्रायोजकहरुमा तनहुँ जिल्लाका आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र लमजुङका मध्यनेपाल नगरपालिका रहेका छन्। भने सहकार्य सलिका इन्स्योरेन्स कम्पनी रहेका छन्।

प्रकाशित मिति: : 2023-06-09 19:39:00

प्रतिकृया दिनुहोस्