नक्कली पत्रकारको ठगीधन्दा: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोटो देखाएर कराेडाैँ असुली (भिडियाे)

मिनु गोले

काठमाडौं

अछाम घर भएका अनिल अधिकारी भारतमा रोजगारी गर्थे। भारतको रोजगारीबाट सन्तुष्ट हुन नसकेका अनिल रोजगारका लागि अन्य देश जान चाहन्थे। त्यसै क्रममा उनको भेट सुजन आचार्यसँग भयो। सुजन आचार्य आफूलाई नेपालको ‘कान्छो पत्रकार’ रुपमा परिचय दिन्थे।

उदयपुर त्रियुगा नगरपालिका–१० घर भएका सुजनले अनिललाई रोजगारीका लागि सिंगापुर पठाउने आश्वसन दिए। अनिल पनि उनको आश्वसनमा परे। हाल बानेश्वरस्थित शंखमुलमा बस्दै आएका अनिललाई सुजनले एक पटक सिंगापुर लगेका थिए।

सिंगापुरमा आफ्नो रेष्टुरेन्ट रहेको र त्यहाँ काम दिने सुजनले आश्वसन दिएका थिए। आउने-जाने खर्च पनि उनैले गरेका थिए। सुजनले अनिललाई बन्दै गरेको पाँच तारे भिलान्द्रो होटलमा आफ्नो शेयर लगानी रहेको र यसमै काम मिलाउने भनेर तीन महिना सिंगापुर बसालेर नेपाल फर्काए।

सुजनले अनिलबाट पैसा उठाए। भिजिट भिसामा गएका अनिल तीन महिना सिंगारपुरमा बसेर नेपाल फर्किए। नेपाल फर्किएका अनिललाई छिट्टै सिंगापुर लैजाने भनिएको थियो। तर उनलाई लगिएन। पैसा उठाएर सुजनले आफूलाई ठगेको उनले पछि सिंगापुर नलगेपछि पत्तो पाए।

०००

काठमाडौँमा बस्दै आएको सुमन दङ्गाल अनलाइन गाडी चलाउँथे। दशैंको बेला गाडी चलाउने क्रममा रातको १२ बजे उनकाे भेट सुजनसँग भयो। सुनजले ठुलै शान देखाउँदै आफूलाई ‘नेपालकै कान्छो पत्रकार हुँ’ भन्दै रोजगारका लागि सिंगापुर लैजाने सुमनलाई पनि आश्वसन दिए।

त्यसपछि सुमनले सुजनलाई पटक–पटक भेट गरे। सुजनले आफू ठूलै मान्छे रहेको र सबैसँग चिनजान भएको भन्थे। सुमनलाई विश्वासन दिलाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बसेको फोटोसमेत देखाएका थिए। उनले भने, ‘भारतीय प्रधानमन्त्रीसँगको फोटो देखाएर सबैसँग चिनजान भएको सुजनले विश्वास देखाएका थिए।’

सुमनले अगाडि भने, ‘विश्वासन दिलाउन हामीलाई फेसबुकमा आइजीपी ठाकुर ज्ञवालीलाई खादा लिएर बधाई दिएको तस्बिर, पूर्व आइजीपी सर्वेन्द्र खनाललाई पनि भेटेको तस्बिर, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग दशैंमा टीका लगाएको तस्बिर देखाई सबै आफ्नै मान्छे हुन् भन्थे।’

त्यसपछि सुमनले आफन्तसँग पैसा लिएर सुजनलाई १७ लाख दिएका थिए। पैसा दिएको केही समयमा सिंगापुर भिजिटमा समेत सुजनले लगेको सुमन बताउँछन्। सुमनले महिनामा ३ हजार सिंगापुर डलर (२ लाख ९३ हजार नेपाली रुपैयाँ देखि ४८ सय) सिंगापुर डलर (४ लाख ७० हजार रुपैयाँ) सम्म कमाइ हुने भन्दै तीन महिनापछि उनलाई पनि नेपाल फर्काए।

नेपाल आएपछि सुजनले कसैको पनि फोन उठाएनन्। सुमनले भने, ‘हामी नेपाल आएकाे एक माहिनपछि हामीलाई शंका लाग्न थाल्यो। मोबाइल अफ गर्ने, सबैतिर ब्लक गरेका रहेछन्। त्यसपछि थाहा भयो, यो मान्छेले हामीलाई ठगे हो भन्ने कुरा।’

सुमन र अनिल मात्र होइनन्, सुजनले २९ जना युवालाई यस्तैगरी ठगेका छन्। २९ जना युवाबाट सुजनले सिंगापुरमा लगेर रोजगार दिने भन्दै करिब १० करोड रुपैयाँ उठाएका छन्।

उनीविरुद्ध अहिले ठगी आरोपमा प्रहरीमा जाहेरी परेको छ। यो ठगीमा सुजनकी प्रेमिका बिनु शाक्य र नाताले भाइ पर्ने सृजन निरौला पनि रहेका छन्। प्रहरीले सृजनलाई पक्राउ गरिसकेको छ। पीडितहरुले भनेअनुसार सुजन र उनकी प्रेमिका बिनु अहिले सिंगापुरमा रहेका छन्।

पत्रकार र बेली डान्सरकाे प्रेम जाेडीले लुट्याे नेपाली युवाकाे कराेडाैँ रकम

प्रकाशित मिति: : 2023-06-06 17:23:00

प्रतिकृया दिनुहोस्