‘रातिको २ बजेको थियो। जाडो महिनाको समय, त्यसमाथि दिनभरिको थकानले मस्त निद्रामा थिएँ। अचानक मोबाइलको घण्टी बज्यो। हतारिँदै फोन उठाएँ। फोन अस्पतालका गार्डको थियो। गार्डले उताबाट ‘२२ वर्षको केटाको मृत्यु भएको छ। शव टाढाको गाँउमा पुर्याउनुपर्छ। छिटो आउनुहोस्’ भन्दै फोन राखे।
मस्त निद्रामा सुतिरहेकाे म टाढाको गाउँमा जानुपर्ने भन्ने बितिकै झस्किएँ। र पनि, हतारिँदै अस्पताल पुगेँ।
अस्पताल पुग्दा बुढीआमा जवान छोरोको शव अङ्गालाे हालेर काप्दै रोहिरहेकी थिइन्। शव बाेकेर वाहनमा राखेँ। आमा चिसाेले काप्नु भएकाे थियाे। मैले आफ्नाे ज्याकेट ओढाइदिएँ। तर, बुढी आमाले ‘मेरो छोरालाई धेरै चिसो लाग्छ’ भन्दै मृत छोरालाई ओढाइदिइन्।
प्रस्तुत फेहरिस्त हाे, भारतकाे मध्येप्रदेशकाे विदिशा जिल्लाका विकास पचाैरीकाे। उनका दिनहरु प्राय: यसैगरी बित्छन्। यसैगरी शव बाेक्छन् र दुर्गम क्षेत्रमा पुगेर दाहसंस्कार गर्छन्।
विकास हरेक दिन अस्पतालबाट आउने फोनसँगै उठ्छन र आर्थिक अवस्था कमजोर भएका मानिसहरुको दाहसंस्कार गर्न शववाहन लिएर टाढा-टाढाका गाउँसम्म पुग्छन्। उनी मृत्युलाई मृत्यु नभई मोक्षको संज्ञा दिन्छन्। र, बाटो खुलेको मान्छन्। उनले हालसम्म ५ हजारभन्दा बढी शवकाे नि:शुल्क दाहसंस्कार गरिसकेका छन्।
विकासकाे संघर्षकाे कहानी पनि निकै गाैरवशाली छ।
०००
विकासका बुबा विदिशा जिल्लाको फरेस्ट डिर्पाटमेन्टमा कार्यरत सरकारी जागिर थिए। सबै कुराको सुबिस्ता थियो। तर, उनको बुबालाई कामतिर भन्दा अध्यात्मातिर बढी ध्यान जान थाल्यो। त्यसैले कार्यालयमा कार्यरत सहकर्मीले तलबको केही रकम मात्र उनीहरुलाई दिन्थे र अरु आफैँ राख्थे।
बुबाको आध्यात्म लगावका कारण विकासले धेरै समस्या भोग्नु पर्याे। ‘पापाको दिन पूजापाठ र भक्तिभजनमा बित्थे, पापालाई उनका सिनियरले पण्डित सम्झेर तलबको केही रकम मात्र हामीलाई दिन्थे र अरु आफूहरु बाँडेर लिन्थे। तर, पनि पापाले केही भन्नु हुन्थेन। त्यसैले घरको अवस्था कमजोर हुँदै गयाे,’ उनले भारतीय सञ्चार माध्यम दैनिक भाष्करसँग भनेका छन्।
विकास घरको पहिलाे सन्तान हुन्। बुबाको रिटायर्ड (अवकाश)पछि घरकाे सबै जिम्मेवारी उनको काँधमा आयाे। घरकाे समस्याकै कारण उनले स्कुल छाडेर काम गर्न थाले। ‘बुवा-आमाको सपना मप्रति ज्यादा थियो। पापाकाे तलबले पुग्दैन थियाे। राम्राे पढाइ पनि घरकाे अवस्थाकाे प्रभावले बिग्रदै गयाे। ९ कक्षाकाे परीक्षामा फेल भएपछि पढाइ छाडेर काम गर्न थालेँ,’ उनले भने।
सानै उमेरमा स्कुल छाडेका विकासलाई राम्राे कामकाे खाेजीमा धेरै भाैतारिन पर्याे। तर, पनि खाेजेकाे जस्ताे काम पाइएन्। अभाव र गरिबीकाे दलदलले उनलाई यति थिच्न थाल्यो कि उनले कुनै काम गर्न बाँकी राखेनन्। कहिले चङ्गा बेच्ने त कहिले सुपारी। उनले आवश्यकता र परिस्थितिअनुसार जे पर्छ त्यही गर्दै गए। जहाँबाट उनले जीवन जिउने कला सिके।
केही समयपछि विकासले सुपारी बेच्ने काम छाडेर घरमा रङ लगाउने काम अपनाए। त्याे सँगै पर्खालका भित्ताहरुमा विज्ञापन लेख्ने र हाेर्डिङ बाेर्डसमेत बनाउन थाले। विकासलाई याे कामले भने फाप्न थाल्याे। उनी प्रगतितर्फ लम्किए। उनले खुब मन लगाएर काम गर्न थाले। बिस्तारै आर्थिक अवस्था राम्राे हुँदै गयाे। उनले यही बिचमा घर नजिकै फोटो स्टुडियो सञ्चालन गरे। नियतिले ठगिए पनि विकासले हिम्मत कहिलै हारेनन्। ‘बाँच्नको लागि मैले के-के काम गरिनँ ? कहिले के गरेँ त कहिले के। घरमा खाने अन्नसमेत हुँदैन थियो तर पनि हिम्मत हारिनँ। धेरै मेहेनत गरी काम गरेँ। पछि भाग्यले पनि साथ दियाे,’ उनले भने।
विकासको फोटो स्टुडियो राम्राेसँग चलिरहकाे थियाे। तर, उनलाई केही नयाँ काम गर्ने रहर लाग्याे। त्याे थियाे, समाज सेवा। उनी आफूलाई सबैले चिनोस् भन्ने चाहन्थे। त्यसैले उनी एक जना डाक्टरको सहयोगमा गाउँ-गाउँमा पुगेर ब्लडग्रुपको पहिचान गराउन थाले। ‘मलाई सबैले चिनाेस् भन्ने चाहना थियो। केही गर्ने हुटहुटी थियो। त्यसैले मैले हालसम्म भारतका विभिन्न जिल्लाहरुमा पुगेर २ लाखभन्दा बढी मानिसको ब्लडग्रुप र यसबारे जानकारी दिइसकेको छु,’ उनले भने।
यही बिचमा विकासकाे जीवनमा एउटा त्यस्ताे घटना घट्याे, जसले उनकाे जीवन नै परिवर्तन भयाे।
सन २०१३/२०१४ मा विकासको परिवार भाडामा बस्थ्याे। घरबेटीसँग राम्रो सम्बन्ध थियो। तर, घरबेटीको मृत्युले उनी परिर्वतन भए ब्लडग्रुप परीक्षणाकाे काम छाडेर निःशुल्क शववाहन गर्ने कामतिर लागे। ‘एक दिन पापा(घरबेटी)को मृत्यु भयो। श्मशान (मसनघाट) घरदेखि ७ किलोमिटर टाढा थियो। शववाहनलाई धेरै कल गराैँ तर आएन। हामी हिँडेरै श्मशान पुग्यौँ र दाहसंस्कार गर्याैँ। शव बाेकेर ७ किलोमिटर हिँडेर श्मशान पुग्नासम्म धेरै समस्या भयाे। एकपटक त शव नै खस्लाजस्तो भएको थियो। र, त्यही कारण पापाको अन्तिम समयमा पनि सम्मानका साथ बिदा गर्न सिकएनँ,’ विकासले भने।
त्याे घटना हुनुअघि विकास दुर्गम गाउँहरुमा पुगेर ब्लडग्रुप जाँच्ने काम गर्थे। तर, घरबेटी निधनपछिकाे त्याे दु:खदायी घटनापछि उनका भाइले उनलाई सबैलाई सहज हुने गरी नि: शुल्क शववाहन सेवा दिन सुझाव दिए। तर, त्यतिबेला विकासले त्याे कुरालाई त्यति गम्भीर रुपमा लिएनन्। उनलाई शव बाेकेर हिँड्ने काम उचित हाेइन भन्ने लाग्याे। दाेधारमा परे। तर, उनी अरुले आफूहरुले जसरी दु:ख पाउनु नपराेस् भन्ने साेचेर शववाहनकाे काम गर्ने संकल्प गरे।
उमेरले पाँच दशक काटिसकेका विकास अझै पनि उस्तै जोसिला र जाँगरिला छन्। स्वास्थ्य अवस्थाले साथ दिएसम्म याे कामलाई निरन्तरता दिने बताउँछन्। र, भन्छन्,‘मृत्यु नै अन्तिम सत्य हो।’
– एजेन्सी