जुम्लाकाे हिमामा ‘पढाइ मेला’

BreaknLinks
BreaknLinks

जुम्लाकाे हिमा गाउँपालिकामा पालिकास्तरीय पढाइ ‘मेला’ सुरु भएकाे छ। गणतन्त्र दिवसकाे अवसर पारी दुई दिने पढाइ मेला संचालन गरिएकाे हाे।

हिमा गाउँपालिकाकाे आयाेजनामा भएकाे पढाइ मेलामा पालिकाभरिका २० वटा स्कुलहरुकाे सहभागिता रहेकाे छ। विभिन्न स्कुलहरुले आफ्ना सिर्जना, सीप र कला प्रदर्शनीमा राखेका छन्।

पढाइ मेला अवलोकन गर्न गएका जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यले हिमा गाउँपालिका नयाँ र सिर्जनात्मक काम सुरु गर्ने जिल्लाएकाे एक नमुना पालिका रहेकाे बताए।

‘हामी हिमालाई सदैव नयाँ काम गर्ने पालिकाकाे रुपमा चिन्छाैं। त्याे देखिरहेका पनि छाैं,’ उनले भने,‘विद्यार्थीकाे प्रतिभा पहिचान गर्ने, उनीहरुकाे ज्ञान सीपकाे सम्मान गर्ने र विद्यालयकाे पढाउने तरिका पहिचान गर्नलाई याे कार्यक्रम रामवाण हाे।’

हिमा विकासकाे आधारशीला नै शिक्षा भएकाे हुँदा पढाइ मेला संचालन गरिएकाे हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए।

‘हामीले हाम्राे भविष्य हाम्रै घर आँगनमा तयार पार्ने गरी शिक्षाकाे जग बसाल्ने काेसिस गरेका छाैं,’ उनले भने, ‘पढाइ मेला त्यसैकाे निरन्तरता हाे। अब हामीलाई चाहिने सबै प्रकारको जनशक्ति पालिकामै तयार पार्ने गरी जग बसाल्न लागेका छौं।’

हिमालाई उत्कृष्ट पालिका बनाउने अभियानमा रहेकाे उपाध्यक्ष सुर्पुना शाहीले बताइन्। ‘हामीले शिक्षालाई पहिलाे प्राथमिकतामा राखेका छाैं। शिक्षाकाे दियाे चम्किलो नदिउन्जेल हिमा उज्यालो हुने छैन,’ उनले भनिन्, ‘त्याे दियाे चम्किलो बनाउने काम विद्यालयले दिने शिक्षा र यस्ता खाले कार्यक्रमले गर्नेछ।’

पढाइ मेलामा हरेक वडा भित्रका विद्यालयलाई सामूहिक रुपमा स्टल प्रदान गरिएकाे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए। ‘स्टलमा विद्यार्थीले तयार पारेका स्थानीय उत्पादनलाई प्रदर्शनीमा राखिएकाे छ,’ उनले भने, ‘जसमा दैनिक रुपमा उपयोग हुने सामग्रीहरु छन्।’

आफ्नाे २८ वर्षे प्राविधिक शिक्षा अध्यापन अनुभव सुनाउँदै कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले भने, ‘हिजाे र आजमा अध्ययन अध्यापन कार्यमा धेरै भिन्नता आएका छन्। मैले याे अवधिमा बाबुलाई पनि पढाएँ र छाेरालाई पनि पढाएँ। प्रविधिकाे विकासले सबैलाई अपडेट हुन सिकाएकाे छ।’

उनले पछिल्लो समय कर्णाली प्रदेशका हरेक प्राविधिक कार्यालय, अस्पताल र जनस्वास्थ्य तथा स्वास्थ केन्द्रहरुमा कर्णाली प्राविधिक शिक्षालयले तयार पारेका विद्यार्थीहरुले सेवा गरिरहेकाे नजिर सुनाउँदै आज ज्ञान निर्माण गर्ने शिक्षाका साथै सीप सिकाउने प्राविधिक शिक्षा अपरिहार्य रहेकाे बताए।

विद्यालयमा विभिन्न खेलका माध्यमबाट सिक्न सकिएकाे नेत्राज्याेती माध्यामिक प्राविधिक विद्यालयका विद्यार्थी भीमबहादुर बुढाले बताए। ‘हामीले पढाइ सँगसँगै सीप पनि सिकिरहेका छाैं,’ उनले भने, ‘हामीले च्याउ खेतीलगायत विभिन्न किसिमका तरकारी खेती पनि गरिरहेका छाैं।’

पढाइ मेला दुई दिनसम्म संचालन हुने कर्यक्रम व्यवस्थापन समितिका सदस्य नर्सिङ थापाले बताए। उनले भने, ‘कार्यक्रममा प्रतिभा पहिचानका लागि विभिन्न प्रतियोगिता समेत संचालन गरिरहेका छाैं।’

पढाइ मेलाले पालिकाका विद्यालयलाई प्रतिस्पर्धी बनाएकाे हिमा गाउँपालिका– १ का अध्यक्ष तथा प्रवक्ता रतनबहादुर शाहीले बताए। ‘पढाइ सँगै व्यवहार सिकाउन याे पढाइ मेला सार्थक भएकाे छ,’ उनले भने।

प्रकाशित मिति: : 2023-05-29 14:39:00

प्रतिकृया दिनुहोस्