शुक्रबारदेखि नेपाली सिनेमा घरहरुमा नेपाली कथानक चलचित्र ‘टुल्की’ फिल्म चलिरहेको छ। पश्चिम नेपालको हिमाली बस्तीमा विद्यमान बहुपति प्रथामा आधारित ‘टुल्की’ फिल्मकी टुल्की पात्रले जसरी दर्शकको मन रुवाछिन्, सिंहदरबारमा जारी टुल्की फिल्मसँग मेल खाने राजनीतिक खेलले सारा नेपाली जनतालाई त्यो भन्दा बढी रुवाइरहेको छ।
टुल्की फिल्मले सिनेमा घरभित्र २ घण्टा रुवाउने हो। तर, सिंहदरबारमा बसेका राज्य सञ्चालकले नेपाली जनतालाई फिल्मकी ‘टुल्की’ पात्रलाई जस्तै वर्षौँदेखि रुवाउँदै आइरहेका छन्। टुल्की फिल्म बहुपति प्रथामा आधारित छ। टुल्की पात्राले पहिलो पटक रजस्वला भएको केही समयमा नै (सानै उमेरमा) विवाह गर्छिन्। उनले विवाह गरेर गएको घरमा तीन भाइ हुन्छन्। तीन भाइमा टुल्कीलाई लैजाने कान्छो भाइ हुन्।
तर, टुल्की तीन भाइको श्रीमती बन्नु पर्ने बहुपति प्रथाको बाध्यतामा पर्छिन्। टुल्कीलाई विवाह गर्ने कान्छो भाइले सबैको श्रीमती बनाउनका लागि इच्छा नदेखाएको भए पनि संस्कारले गर्दा उनको इच्छाविपरीत टुल्की तीन भाइकै श्रीमती बन्छिन्। त्यसपछि दर्शकलाई टुल्कीको पीडाले रुवाउँछ। टुल्कीलाई तीन भाइले कुन बार कोसँग सुत्ने भनेर बाँड्छन्। फिल्ममा विवाहको पहिलो रात टुल्की तीनै भाइसँग सुत्नुपर्ने बाध्यता हुन्छ। उनलाई त्यो रात अशैय भएको दर्शकलाई हेर्न कठिन हुन्छ। त्यसपछिका दिनहरुमा तीन भाइले टुल्कीलाई पालैपालो बाँडेर श्रीमती बनाउँछन्। फिल्ममा टुल्कीको दर्जा श्रीमतीको रुपमा भएको महसुस हुँदैन। उनी एक उपभोग्य सामानको रुपमा तीन भाइसँग बाँडिन्छिन्। नेपाली राजनीतिमा पनि टुल्की फिल्मका तीन भाइले ‘टुल्की’ पात्रलाई लुटेको भन्दा कम दृष्य छैन।
विशेषतः फिल्मका तीन भाइजस्तै देशका तीन ठुला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले पालै–पालो देशमाथि लुट मच्चाइरहेको दृष्य नेपाली जनताहरुले टुलुटुलु हेरिबसेका छन्। टुल्की फिल्ममा ‘टुल्की’लाई लुट्न तीन भाइको मिलेमतो भएको जस्तै नेपाली राजनीतिमा यी तीन दलको मिलेमतो छताछुल्ल छ। चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरण, पशुपतिको सुनको जलहरी प्रकरण, शिविर घोटालादेखि ललिता निवास काण्ड, ओम्नी, वाइडबडी काण्ड सबका–सबमा तीन दलको तैचुप मैचुपको विषय लुकाएर लुक्न सक्दैन।
अहिलेको ताजा उदाहरण हेरौँ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा पशुपतिमा सुनको जलहरी लगाउनेबेला घोटला भएको प्रकरण बाहिर आएको छ। महालेखा परीक्षकको कार्यालयलेसमेत प्रश्न उठाएको यस विषय संसदमा उठेपछि एमालेको आक्रोश बढेको छ। एमालेले संसदमा उक्त प्रकरणमा ओलीको संलग्नता नै नभएको भनेर शुक्रबारको संसद बैठक अबरुद्ध गर्याे। ओलीमाथि आरोप लागेपछि शनिबार बिहानै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तीन ठुला दलको बैठक बस्यो। एमाले अध्यक्ष ओली, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवालगायतको बैठकपछि ओलीलाई चोख्याउन प्रचण्ड सहमत भएका छन्।
एमालेले संसद बैठक अबरुद्ध नगर्ने सहमति भएको छ। सुनको जलहरीको विषयले नागरिक तहमा आक्रोश सिर्जना गरेको छ। छानबिन हुनुपर्ने माग उठिरहेको छ। तर, तीन दलको मिलिभगतमा यो घटनालाई सामसुम पार्ने गरी सिंहदरमा चलखेल भएको कुरा लुकेको छैन। यति मात्रै होइन, तीन दलको मिलिभगत भुटानी शरणार्थी प्रकरणमा पनि छताछुल्ल छ। एमाले र काँग्रेसका ठुला नेताको संलग्नता देखिएपछि छानबिनलाई प्रभावित पार्ने गरी प्रधानमन्त्री प्रचण्डसँग ओली, देउवाको भेट लगातार भएकै छ। जसको परिणाम भुटानी शरणार्थी प्रकरणमा नाम जोडिदासमेत काँग्रेस सभापति देउवा पत्नी आरजु देउवा राणा, पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँण, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’र उनकी श्रीमति नैनकला थापा, ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको नाम जोडिदाँसमेत उनीहरुमाथि छानबिन हुन सकेको छैन।
जसरी टुल्की फिल्ममा तीन भाइले ‘टुल्की’लाई बारअनुसार बाँडिचुडी लुट्छन्। त्यसै प्रकृतिको नेपालका तीन दलले पालैपालो सिंहदरबारमा बसेर लुट मच्चाइरहेका छन् भन्दा अशोभनीय हुँदैन। तीन दलको मिलिभगत यतिमा मात्रै छैन, गम्भीर प्रकृतिको अपराधमा संलग्नलाई उन्मुक्ति दिनेसम्मको खेल चलिरहेकै छ। मजदुरलाई जिउँदै इट्टाभट्टामा पोल्ने काँग्रेस नेता महमद् अफ्ताव आमललाई जोगाउन खोजेको धेरै भएको छैन। अहिले टिकापुर हत्या काण्डमा सजाय भोगिरहेका रेशम चौधरीदेखि एमालेका निलम्बित फरार सांसद लक्ष्मी महत्तो कोइरी र माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई सिसिटिभी प्रकरणमा बचाउन चलखेल भइरहेकै छ। टुल्की फिल्ममा देखाइएको बहुपति प्रथाकाे कारण न तीन भाइ हरन्छन्, न ‘टुल्की’ नै बाँच्न पाउँछिन्। उनीहरुको वंश पूर्णरुपमा नष्ट हुन्छ। बहुपति प्रथाले निम्त्याएको कलह, शोषण, दमनले एक घर उजाडिन्छ। टुल्की फिल्मको मिलिभगतको लुटले एक घरको नष्ट भएको जस्तै नेपाली राजनीतिज्ञको पनि अवसान नहोला भन्न सकिँदैन।
गणतन्त्र स्थापनाको डेढ दशकमा नेपालको विकास निकै सुस्त गतिमा हुनु नागरिकको अपेक्षाविरीत छ। भ्रष्टिकरण भएको राजनीतिले गर्दा अपेक्षाअनुसार नागरिकको आकांक्षा पूरा हुन सकेको छैन। सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन। युवा जनशक्ति पलायन यति जरजर छ कि गाउँमा जेष्ठ नागरिक बाहेकको मान्छे भेटिन मुस्किल छ। पछिल्लो समय बाह्य–आन्तरिक ऋण बढ्दै गएको छ। ठुला विकास आयोजनाको निर्माणले गति लिन सकेको छैन। एउटा भ्रष्टाचारको फाइल खोल्दा राजनीतिज्ञदेखि कर्मचारीको चिल्लीबिल्ली हुने अवस्था छ। यसले भोलि‘टुल्की’ परिवारको अवसान जस्तै राजनीतिक दलको अवसानकाे समय पनि टाढा छैन।