मलाई गते, बार त ठ्याक्कै याद छैन तर २०७२ को माघ महिना थियो। गाउँ बाल सञ्जालको कार्यक्रम सकेर घर जाँदै थिएँ। रात परिसकेको थियो। जाडो महिनाको समय, त्यसमाथि भदौको जस्तै झरी। घर पुग्न अझै एउटा एक घण्टाको बाटो थियो।
घडी हेरेँ, साँझकाे साढे ६ बजिसकेको थियो। घर पुग्न अझै एक घण्टा उकालो बाटो चढ्नुपर्ने भएकाेले बरु मामाघर गएँ भने छिटाे पुग्छु जस्तो लाग्यो। मनमा अनेकौँ विचार आउन थाल्यो, घर जाउँ कि मामाघर जाउँ भन्ने भयाे। मनले छोटो बाटो नै रोज्यो। घरमा फोन गरेर ‘घर आउँदिनँ, मामाघर जान्छु’ भनेँ अनि लागेँ उतैतिर।
त्याे ठाउँदेखि मामाघर जान नजिकै थियो तर जंगलको बाटो भएर ओरालो झर्नुपर्थ्याे। सालघारीबीचको घुम्ती सडक पार गर्दै आफ्नै शुरमा गीत बजाउँदै हिँडिरहेकी थिएँ म। जतिजति मेरा पाइलाहरु अघि बढ्दै जान्थे, त्यति नै कसैले पछ्याइरहेकाे भान भइरहेको थियो। गाउँघरमा रातको समयमा भूतप्रेत निस्कन्छन् भन्ने मानसिक्ता ममा पनि नराम्रोसँग गडेर बसेको थियो।
पानी परेर चिप्लाे भएको बाटो, त्यसमाथि भूतप्रेतको डरले मलाई पाइला सार्न मुस्किल परिरहेकाे थियो। डर लाग्न थाल्यो। दिमागभरि बाआमाले भनेको कुराहरु एकएक गरी आउन थाल्यो। उहाँहरुले भनेजस्तै टाउको एकातिर र ज्यान अर्कोतिर बनाइएका लाशहरु अनि पछाडि खुट्टा फर्किएका लामो कपाल भएका मान्छेहरु दिमागमा नराम्रोसँग घुमिरह्यो।
जे पर्लापर्ला भन्दै ढुङ्गा उठाएर पछाडि फर्केको त कुकुर पाे देखेँ। पानी परेको भएर होला कुकुर पनि मेरो सहारा खोज्दै आएको रहेछ। म पनि कुकुरलाई छाता ओढाएर विस्तारै ओरालो लाग्दै गएँ।
केही समयपछि पानी कम हुन थाल्यो। पानी कम हुँदासम्म हामीले सालघारी पार गरिसकेका थियौँ। अब बाटो थियो, सडकको। पानीले भिजाएको भएर होला सडक पनि उस्तै चिप्लो भएको थियो। कुकुर अझै मेरो पछि नै थियो। केही पर पुगेपछि सायद कुकुरले आफ्नो घर भेटेछ क्यारे, खुसी हुँदै खेतको डिलडिल उफ्रिँदै घर गयो। अनि म पनि आफ्नै बाटो खुरुखुरु लागेँ र मामाघर पुगेँ।
एक्कासी खबर नै नगरी मामाघर पुग्दा आमाले ‘किन एक्लै आएको, बोलाएको भए मामालाई लिन पठाउथेँ’ भनेर गाली गर्दै मायाले सुम्सुमाउन थाल्नुभयो। भन्छन् नि, साँवाको भन्दा ब्याजको बढी माया लाग्छ। त्यसकारण जहिल्यै मामाघर जान्थेँ, आमाले ममीलाई भन्दा बढी मलाई माया गर्नुहुन्थ्याे। मलाई मनपर्छ भनेर ममी हरेक पटक मामाघर जाँदा सेलरोटी अनि अनरसा पकाएर पठाउनुहुन्थ्याे।
०००
कक्षा दशको परीक्षा नजिकिँदै थियो। त्यसैले आमालाई भनेर भोलिपल्टै मामाघरबाट घर हिँडे। बाटोमा जादैँ गर्दा त्यही कुकुर लुरुलुरु आयो र मेरो पछि लाग्यो। मैले कयौँ पटक ‘घर जा’ भनेर हकारेँ तर उसले मेरो कुरो बुझेन या टेरेन पछिपछि मात्र लागिरह्यो।
हुन त अघिल्लो दिन पनि त्यही कुकुर र म त्यही बाटो हिँडिरहेका थियौँ। त्यस दिन पनि हामीसँगै थियाैँ। हिजो लुत्रुक्क परेकी म कुकुरसँगै भएर होला निकै जोश आयो। गीत गाउँदै, कराउँदै अनि नाच्दै हिँड्न थालेँ। कुकुर पनि रमाउँदै यताउति गर्दै थियो।
गाउँको बाटो कतै ओरालाे, कतै भिरालो अनि कतै खोला हुन्छ। मैले पनि एउटा खोला पार गरेर घर पुग्नु थियो। खोलामा पानीको बहाव बढेको थियो। मलाई एक्लै खोला तर्न डर लाग्यो। यताउति हेरेँ, काेही देखिनँ। अनि हानिएँ माथिको पुलतिर।
म जताजता जाँदै थिएँ, कुकुर पनि मसँगै आउँदै थियो। तर जब पुलमा पुगेँ, कुकुर हच्कियो र पछि हट्यो। म पुल तरेर पर पुगिसकेँ। ऊ भने पुलपारि नै बसेर ‘कुइँकुइँ’ गरिरह्यो। उसको त्यो ‘कुइँकुइँ’ले मलाई तान्यो या के गर्यो थाहा छैन, मैले उसलाई बच्चा जसरी आफ्नै हातमा उठाएर बोकेँ अनि पुल तारेँ।
पुल तरेर माथि आइसक्दा पनि ऊ मसँगै थियो। मेरो घरमा अरु दुई वटा कुकुरहरु थिए। अब यसलाई घर लैजाउँ या नलैजाउँ भयो। घर लैजाउँ भने अरु दुइटाले देखिसहँदैनन्। नलैजाउँ, कहाँदेखि मेरो साथी बनेर आएको छ। मन दोधारमा पर्यो। कुकुर त हो नि जसरी पनि घर पुगिहाल्छ जस्तो लाग्यो अनि सुम्सुमाउँदै ‘तँ घर जा, मेरो घरमा तँजस्तै अरु दुई वटा छन्। तिनीहरुले तँलाई देखिसहँदैनन्, टोकीटोकी मारिदिन्छन्। बरु म मामाघर आउँदा त्यही बाटो हुँदै आउँछु अनि भेट्ने’ भनेँ। खै योपटक उसले मेरो कुरा बुझेर हो या अरु नै गाउँमा आएकाे भएर हो ‘कुइँकुइँ’ गर्दै उही बाटो पछ्याउँदै आफ्नै घर लाग्याे।
त्यसको केही महिनापछि म मामाघर गएँ। ऊ त्यही बाटोमा बसिरहेको थियो। उसले मलाई टाढैबाट चिन्यो। कयौँ वर्षअघि विच्छेद भएका प्रेमीहरु भेट हुँदा अंकमाल गरेजस्तो गरी गालामा चाट्न थाल्यो। मलाई कुकुरले यसरी चाटिरहेको देखेर मानिसहरु हाँसिरहेका थिए। तर मैले तिनीहरुको कुरालाई वास्तै नगरी उहीसँग टाँस्सिएर बसिरहेँ। अनि मामाघर नै लिएर गएँ।
६० को दशकसम्म आइपुग्दा समेत बाख्राकाे पाठाबाहेक नपाल्नुभएकाे आमाले ‘किन कुकुर ल्याएको पर लैजाउ’ भन्नुभयो। आमाको यस प्रकारको अभिव्यक्तिले म निराश भएँ अनि आमालाई पहिलादेखिकाे सबै बेलिविस्तार लगाएँ र घरमा राख्न अनुरोध गरेँ। आमा सहजै तयार हुनुभयो। मामाघर बसुन्जेल ऊ ‘शेरु’ नै मेरो साथी बन्यो। म जहाँ जान्थेँ, ऊ पनि त्यहीँ जान्थे। मैले दिएमात्र खान्थ्याे र दिनभरि घरमै रुँगेर बस्थ्याे।
एकदिन साथीहरुले घरमै आएर आँप खान गाउँ जाने प्रस्ताव राखे। सुरुमा त मैले मानिरहेकी थिइनँ। तर साथीको ढिपीअघि मेरो केही लागेन। म पनि उनीहरुसँगै जान तयार भएँ। घरबाट हिँडेको केही समयमात्र भएको थियो, ठुलो स्वरले शेरु करायो। शेरु कराएको आवाज सुन्नासाथ उतैतिर कुदेँ।
शेरु सडकमा रगताम्मे भएर लडेको थियो। हामी घरबाट निस्कँदा हाम्राे साथमा शेरु पनि रहेछ तर ऊ पछि आउँदै गरेकाे हामीले देखेका थिएनाैँ। अघिबाट आएकाे टिपरले हानेर गएछ। शेरुको यस्तो हालत देखेर म रुन थालेँ। हेर्दौहेर्दौ शेरुले अन्तिम सास लियो। शेरुको मृत्युले बाआमा, मामा सबैजना दुःखी हुनुभयो। मात्र एक हप्ताको बसाइमा ऊ सबैको प्यारो भइसकेको थियो।
घर पुगेपछि पनि दिमागमा बारबार त्यही कुकुरलाई सम्झिरहेँ र मनमनै सोचिरहेँ। ‘आई मिस यु शेरु, म सधैँ तिम्रै पर्खाइमा हुनेछु। छिटै जुनी फेरि आउनु ल!’ शेरु त मेरो व्यक्तिगत घटना मात्र हो। तर यहाँ यस्ता हजारौँ शेरु छन्, जो विनाकारण सन्की मानिसको चपेटामा परी ज्यान गुमाउँदै आइरहेका छन्।
कृपया, सवारीसाधन चलाउनेहरुले यस कुराको पनि ख्याल गर्नुहोला कि जनावरहरु ढुङ्गा होइनन्, सजिव प्राणी हो। उसलाई पनि दुख्छ, मन रुन्छ र उसको पनि परिवार हुन्छ। हामी जस्तै गरी बोल्न नसके के भयो त, हाम्रो भावना बुझ्छ र समाजले मूल्याङ्कन गरेर साथ छोडेको समयमा निश्वार्थ भावनाले अपनाउँछ।
9818642644🇳🇵