 
                                            
                                        
                                     
                                हेमन्त विवश
 
                                मौतका भी इलाज हो सायद
जिन्दगीका कोइ इलाज नहीं।- फिराक गोरखपुरी
बाटोमा हिँड्दै गर्दा धनगढीस्थित एलएन चौक नजिक रहेको बालमन्दिरको भवन हेर्दै विगतका दिन सम्झिन्छन्, कैलालीका पत्रकार शेरबहादुर ऐर। पछिल्लो समय उक्त भवन सुनसान देखिन्छ। त्यो त्यही ठाउँ हो जहाँ उनले जिन्दगीका एघारौँ वसन्त व्यतित गरे। हिजोका दिनमा त्यही आँगनमा भँगेराका चल्ला छरिएझैँ छरिन्थे उनीसँगै उनका दौतरीहरू। समय बित्दै गयो। अचेल मनभरि विरहका भाका गुनगुनाउँदै, निलो आकाश नियालीरहेको पात्रझैँ कुन्नि कुन सोचले हो आफ्नै सुरमा मौनता साचिरहेका हुन्छन् बेलाबखत। पैदल यात्री बनेरै निस्किन्छन् समाचार खोज्न त्यही बाटो भएर। एकताका चारो खोज्न भौतारिरहेको पन्छीझैँ देखिन्थे। साँझसम्म लखतरान परिसकेको हुन्थ्यो ज्यान। अचेल पनि उस्तै छ अक्षरको खेती गर्ने दिनचर्या। तर, बढी कार्यालयमै भेटिन्छन्। कम्प्युटरमा चलमलाइरहेकै हुन्छन्, औँलाहरू। बेलाबखत बजिरहन्छ फोनको घन्टी। अनि निस्किनुपर्ने हुन्छ बाहिर।
उसो त यो पेसा भन्नु पनि हलीको जिन्दगी जस्तै न हो। एकोहोरो काममा खटिरहनुपर्ने। विषयवस्तुको खोजिमा भौतारिरहनु पर्ने। खोजनीति गरिरहनु पर्ने। अक्षररुपी डल्ला फोडिरहनु पर्ने। कयौं जोखिम मोलिरहनु पर्ने। कुन कोणबाट अक्षर सजाउँदा उचित होला भनेर घोत्लिरहनु पर्ने। यति गर्दा पनि सुख नै त कहाँ छ र ? खानु पर्ने हुन्छ कतै कसैको गाली। आइरहन्छन् कहिलेकाहीँ धम्की पनि। जोख्दै हिँड्नु पर्ने पीडाका पल त बाल्यकालमै भगवानले उपहार दिएर गए उनलाई। दुई महिनाअघि मात्रै रुवस होटलको प्राङ्गणमा पछाडिबाट टाउकोमा एक्कासी हिर्कायो कसैले र भाग्यो। चार टाँका लगाउनु पर्ने घाउ बनाएर भागेको त्यो नरपिशाच को थियो केही पत्ता लग्न सकेन। उनी बताउँछन्, ‘घटना हुनुभन्दा केही दिन अघि मात्रै स्वस्थ्य क्षेत्रको विकृतिका बारेमा समाचार लेखेको थिएँ। कतै मेडिकल माफियाहरूले नै आक्रमण गरेका हुन् कि भन्ने आशंका छ। म लडिहालेँ देख्न पाइनँ। खै ठोकुवा नै त कसरी गरुँ।’
त्यो दिनदेखि उनी खोज पत्रिकामा झन बढी सक्रिय भएका छन्। पटक्कै डर लाग्दैन उनलाई। आवाजविहीनहरूको मुद्दा उठाउनु आफ्नो कर्तव्य ठान्दै बताउँछन्, ‘जिन्दगी आफैँमा एकप्रकारको जोखिम हो। जोखिम मोल्दै यात्रा गर्नुमै आउँछ आनन्द। संक्षेपमा भन्नु पर्दा जिन्दगीको अर्को नाम नै संघर्ष हो जस्तो लाग्छ। त्यसैले हरेक चुनौतीसँग मुकाबिला गरिरहन्छु। सत्यतथ्य कुरा ल्याउन डराउदिनँ।’
शिरानीमा राखिएका पंक्तिले भनेझैँ जिन्दगीको कुनै उपचार नै त कहाँ छ र। यदि उपचार छ भने परमात्मासँग लीन हुनसक्दा मात्र छ। त्यो मार्गमा पनि कम छैनन् कठिनाइहरू। सहज मार्ग त कहाँ नै छ र। जसोतसो मन बुझाउनु नहो। कहिलेकाहीँ भावुक हुँदा केही उदासीले छोपे पनि धेरै बेरसम्म टिक्दैन त्यो पल। उसो त डर भन्ने कुरा पहाडमै छोडेर आएका हुन् उनी। उनी जन्मेको ६ महिना नपुग्दै हैजाले बुवा नरभान ऐरलाई लगेर गयो। उनी तीन वर्षका हुँदा रुखबाट लडेर धर्ती छोडिन आमा डिकरीदेवीले पनि। मातृ वात्सल्यको न्यानो पछ्यौरी उडाएर लग्यो निष्ठुरी दैवले। तीन वर्षको अवोध बालकलाई के थाहा आमालाई दैवले खोसेर लगेको कुरा। मात्र भित्रि मनले खोज्यो होला बेलाबखत आमाको काख। भोकलाग्दा खोज्यो होला आमाका दूधका धारा।
बाआमा गुमाउँदा साथमा थिए, उनीभन्दा आठ वर्ष जेठा उनका दाजु डम्बर। समाजसेवी योगेन्द्रबहादुर शाहीले शेरबहादुरलाई तीन वर्षको उमेरमै कैलाली पुर्याए। दाइ डम्बर पहाडमै गाइ/बाख्रा चराउन थाले। डोटीस्थित हालको शिखर नगरपालिका- ५ ऐरीगाउँबाट यात्रा तय भयो उनको। तर, उनी अवोध थिए। उनलाई थाहा थिएन कहाँ जाँदैछु। के हुँदैछ भन्ने केही पनि। आफू बालसंगठन कैलालीको अध्यक्ष हुँदा योगेन्द्रबहादुर शाहीले अभिभावक बनेर धनगढीस्थित एलएन चौकको बालमन्दिरमा भर्ना गरिदिएका हुन्, उनलाई। कुराकानीका क्रममा विगत सम्झेर भावुक मुद्रामा सुनाए, ‘म धनगढी आएको पाँच वर्षपछि एक दिन कक्षा कोठामा पढिरहेको बेला खर्कमा आगो लागेर दाइले पनि प्राण त्याग गरेको खबर सुनियो। त्यसपछि मन थाम्न निकै गाह्रो भयो। कक्षा छोडेर बाहिर गएँ। निकैबेर रोएँ।’ मामा घर जाँदा आमाले काखमा बोकेर लगेको, दाइले माया गरेको धुमिल छायाँसम्म चलमलाउन थाल्यो सम्झनामा। यद्यपि, अनुहार नै त सम्झनामा आउन सकेन।
 पहाडमा दाइ छन्, भोलिका दिनमा दाइ-भाइ मिलेर केही गर्न सकिएला भन्ने सोचाइले पनि मस्तिष्कबाट नेटो काट्यो। उही बालसंगठनको परिसर। साथमा निख्रिन लागेको बेलेसीका छिटाझैँ बेलाबखत त्वाप्प चुहिने आँसुका थोपा। अनि अन्य ८ जना उनीझैँ अनाथ साथीहरू। यति नै थियो, त्यतिबेलाको उनको संसार। लक्ष्मी म्याडमले पढाउन आउँदा मनमा टुपलुक्क आइदिन्थ्यो रे आमा भन्ने शब्द। कल्पनामा खोज्न थाल्थे रे आमाको मुहार। समय बित्दै गयो। बालसंगठन नै घरपरिवार बन्न गयो। उनी दिनभरि बालसंगठनले नै संचालन गरेको विद्यालयमा पढ्थे। जहाँ अनाथबाहेक अरु पनि पढ्न आउँथे विद्यार्थीहरू। उनी लगायत नौ जनाको खाने बस्ने व्यवस्था बालसंगठनमै थियो। ५ कक्षासम्म पढ्दा ती नौ जनाको छुट्टै एउटा समूह थियो। बाहिरबाट पढ्न आउनेहरूसँग हलोहाइसम्म हुन्थ्यो। तर, खासै नजिक भने हुन सकेनन्।
पहाडमा दाइ छन्, भोलिका दिनमा दाइ-भाइ मिलेर केही गर्न सकिएला भन्ने सोचाइले पनि मस्तिष्कबाट नेटो काट्यो। उही बालसंगठनको परिसर। साथमा निख्रिन लागेको बेलेसीका छिटाझैँ बेलाबखत त्वाप्प चुहिने आँसुका थोपा। अनि अन्य ८ जना उनीझैँ अनाथ साथीहरू। यति नै थियो, त्यतिबेलाको उनको संसार। लक्ष्मी म्याडमले पढाउन आउँदा मनमा टुपलुक्क आइदिन्थ्यो रे आमा भन्ने शब्द। कल्पनामा खोज्न थाल्थे रे आमाको मुहार। समय बित्दै गयो। बालसंगठन नै घरपरिवार बन्न गयो। उनी दिनभरि बालसंगठनले नै संचालन गरेको विद्यालयमा पढ्थे। जहाँ अनाथबाहेक अरु पनि पढ्न आउँथे विद्यार्थीहरू। उनी लगायत नौ जनाको खाने बस्ने व्यवस्था बालसंगठनमै थियो। ५ कक्षासम्म पढ्दा ती नौ जनाको छुट्टै एउटा समूह थियो। बाहिरबाट पढ्न आउनेहरूसँग हलोहाइसम्म हुन्थ्यो। तर, खासै नजिक भने हुन सकेनन्।
उनी ६ कक्षामा पुग्दा आर्थिक अभावका कारण २०६८ सालदेखि उक्त संस्थामा पठनपाठन बन्द हुन गयो। त्यसपछि उनी लगायत उनका साथीहरूलाई बालसंगठनले नै सम्पूर्ण खर्च व्यहोर्ने गरी शारदा विद्यानिकेतन धनगढीमा भर्ना गरिदियो। बास बस्ने ठाउँ भने बालसंगठनमै थियो। शारदा विद्यानिकेतनमा सँगै पढ्दा एकजना साथीसँग नजिकिन थाले। पछि परिचय हुँदा थाहा हुन गयो ती साथी थिए, उनको ठुलोबुवाकी छोरीका छोरा अर्थात् उनका भान्जा। तिनै भान्जाले एकदिन उनको घरको बारेमा आफूले सुनेका सबै कुरा सुनाइदिए। तत्पश्चात कस्ता थिए होलान मेरा बाआमा भनेर झन बढी कल्पनामा डुब्न थाले। उनीसँग न घर थियो, न घरको निदाल। न ममताको आँचल नै थियो न त भेट्न आउने सान्त्वना दिने माया स्नेह दिने कुनै आफन्त। थियो त केवल आँसु मात्र। त्यही आँसु पनि रुँदारुँदा सिद्घिएर अरुसँग पैचो माग्न पाए हुन्थ्यो भन्ने जस्तो भैसकेको थियो। २०६० सालमा जनयुद्घमा आमाबुवा गुमाएका बालबालिकाहरू बालसंगठनमा आउन थाले। ९९ जना बालबालिका भर्ना भए। ऐर बताउँछन्, ‘तिनले बाआमाका घरपरिवारका कुरा गरेको सुनेर झन बढ्न थाल्यो आमाबाको याद। वर्षैपिच्छे आमाको मुख हेर्ने दिन आयो, बुवाको मुख हेर्ने दिन आयो भन्छन्। मसँग त बाआमाको फोटो पनि छैन। अचेल त्यो दिन कहिल्यै नआइदिए पनि हुन्थ्यो ठान्छु।’
आठ कक्षासम्म शारदा विद्या निकेतनमा पढेका उनी ९ कक्षामा भर्ना भए सिद्धार्थ शिशु सदनमा। जहाँबाट उनले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे। कक्षा ११ र १२ पनि त्यतैबाट उत्तीर्ण गरे। २०६७ सालमा कक्षा ११ मा पढ्दै गर्दा नरदेव अफसेट प्रेसमा स्वयमसेवकका रुपमा काम गर्न थाले। जहाँ तीन चार महिनामै कम्प्युटर टाइपिङ सिके। लगत्तै उनका भिनाजु नाता पर्ने गणेश बोहराले नवदुर्गा अफसेट प्रेसमा काम लगाइ दिए। जहाँ एक वर्षसम्म काम गरे। १२ कक्षा पास भैसकेपछि दुई महिना सुदूर सन्देशमा काम गरे। २०६९ मा श्रम सिर्जनामा काम गर्न थाले। त्यतै सिके पत्रकारिता पनि। यसरी पत्रकारिता क्षेत्रमा लाग्न प्रेरित गर्ने र लेख्न सिकाउनेहरू थिए, पत्रकार महासंघ कैलालीका वर्तमान अध्यक्ष हिमाल जोशी र पत्रकार भीम चौधरी।
उनी धनगढीबाट प्रकाशित हुने पत्रिकाहरूमध्ये श्रम सिर्जना, सुदूर सन्देश, अनुमोदन, धनगढी पोष्टलगायतका पत्रपत्रिकाहरूमा काम गर्दै गए। हाल रेडियो धनगढीमा समाचार सम्पादकको रुपमा कार्यरत उनले बेलाबखत पत्रकारितासम्बन्धी थुप्रै तालिम पनि लिइसकेका छन्। कैलालीबाट रातोपाटी, लोकान्तर, नेपाल लाइभ, स्वास्थ्य खबर म्यागजिन, लोकपथलगायतका पत्रिकाहरूमा सम्वाददाताका रुपमा काम गरिसकेका छन्। पत्रकार महासंघको सिफरिसमा शिक्षामन्त्रालयले प्रदान गर्ने शिक्षा पत्रकारिता पुरस्कार पाइसकेका ऐर पारिवारिक हिसाबले नितान्त एक्ला छन्। तथापि, कैलालीका अधिकांश पत्रकारहरूले उनलाई माया, प्रेम र स्नेह प्रदान गर्नमा कही कतै कमी गरेको देखिँदैन। उनलाई तिनले माया गरेर बोलाउने नाम हो शेरु।
खेलकुदमा निकै नै रुचि भएका उनी फुटबलका राम्रा खेलाडी पनि हुन्। कुनै बेला जिल्लास्तरीय प्रतियोगीतामा भाग लिई पुरस्कारसमेत हात पार्थे। पछिल्लो समय स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनमा बढी कलम चलाइरहेका शेरुलाई उच्च शिक्षा अध्ययनको भोक लागिरहेकै छ। मात्र समय र अवस्थाले साथ दिइरहेको छैन। फुर्सदको बेला नारायण गोपालका गीत सुन्नुका साथै सामाजिक कथामा आधारित हिन्दी चलचित्र हेर्न रचाउने उनी बताउँछन्, ‘अब त आफूलाई बुझ्ने र दुःख सुखमा साथ दिने साथीको खोजी गर्न पाए नि हुन्थ्यो जस्तो लाग्छ। तर, घरजम गरिहाल्नलाई खासै कमाइ छैन। रोजिरोटी चलाउनै गाह्रो भएको छ। सास रहुन्जेलको आश भन्छन्। हेरौं दैवको लिला के-के हुँदो रहेछ। आखिर पर्खाइकै एउटा गोरेटो न हो जिन्दगी पनि।’
उनीसँग कुरा गर्ने क्रममा सम्झनामा आइरहे भरतराज पन्तका कविताका यी पक्ति:
नहिडूँ काम चल्दैन, हिडूँ बाटो खराब छ
जीवनै अधकल्चो छ, त्यसैले अभिशाप छ
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया