नेपाल एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाको कारण रोकिँदा नेपाल समूह ‘ए’को विजेताको रुपमा सिधैं फाइनलमा प्रवेश गरेको हो।
बिहान ९ बजेदेखि सुरु भएको प्रतिस्पर्धा वर्षाको कारण दुई पटकसम्म रोकिएको थियो। साँझ ५ बजेसम्म पनि वर्षा नरोकिँदा नेपाल डिएलएस मेथडका आधारमा सिधैं फाइनल पुगेको हो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ४२ ओभर खेलेर अल आउट हुँदै २ सय ८१ रन बनाएको थियो। वर्षाले प्रभावित भएपछि खेल ४२ ओभरमा झारिएको थियो।
नेपालको लागि कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले अर्धशतकीय इनिङ खेले। कप्तान पौडेलले ९३ रन बनाउँदा मल्लले ५७ रन प्रहार गरे। भने, अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।
उक्त लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन मात्रै बनाएर खेलिरहेका बेला वर्षाको कारण खेल रोकिएको थियो।
कुवेतका कुनै पनि ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका करण केसी एक्लैले ५ विकेट लिए।
अब नेपालले युएई र ओमानबीचको विजेता टिमसँग सोमबार उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।
उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसियन कपको लागि छनोट हुनेछ।