बा–आमाकाे लागि एकसराे लुगा किन्ने सपना बाेकेर भारी बाेक्न हिँडेका मिङमा बने अर्बाैंका मालिक

BreaknLinks
BreaknLinks

संखुवासभाको मकालु गाउँपालिका– १ स्थित बालुङको विकट गाउँ नर्बुचौरबाट देशकै ठुलो पर्यटन कम्पनी ‘सेभेन समिट’सम्म आइपुग्न ठुला-ठुला भारी र पहाडका उचाइहरु पैदलै नापेका ४५ वर्षीय मिङमा शेर्पाको जीवनी अरुको भन्दा फरक छ। त्यसैले त यो क्षेत्रमा आउन चाहने युवाका लागि रोल मोडेल हुन्, उनी।

उनको बाल्यकाल संखुवासभाको दुर्गम हिमाली गाउँ बालुङमा बित्यो। पाँच कक्षाभन्दा बढी पढ्न नपाएका मिङमा शेर्पा गाउँमा तीन कक्षा पढ्दाको घटना स्मरण गर्छन्–

घरबाट स्कुल जान अर्को गाउँ पुग्नुपर्थ्यो। बिचमा एउटा खहरे खोला छ, बर्खाको समय खोला उर्लनु स्वभाविक हो।

एकदिन स्कुलबाट घर फर्किँदा खोला त ठुलो भइसकेको रहेछ। स्कुल भएको गाउँबाट फर्किन सक्ने अवस्था नभएपछि हामी सबै बच्चाहरूलाई त्यही गाउँमा चिनेका आफन्तकोमा राखियो। म एक्लो थिएन म जस्तै अन्य साथी–भाइ पनि थिए। गाउँमा सबैका बच्चा नफर्किए त्यही अर्को गाउँमा बसे होलान् भन्ने कुरा सन्देशका रुपमा घरमा रहेका आफन्त र गाउँका अन्य अभिभावकहरुले बुझ्नु पर्थ्यो, अर्को विकल्प थिए। यस्ता घटना बर्खाको समय जहिलै हुन्थ्याे। ९/१० वर्षको मलाई घरमा बा-आमाकाे सम्झना बेस्सरी आउँथ्यो भने उता बा-आमालाई हाम्रो चिन्ता हुँदो हो, जुन आफू बुझ्ने भएपछि मात्रै थाहा भयो। एउटा सानो बालक अभिभावकबाट छुट्टिँदाको पीडा जसले पनि बुझ्न सक्छन्।

पाँच कक्षा पास भएपछि सदरमुकाम गएर पढाउन सक्ने परिवारको हैसियत पनि थिएन। गाउँबाट सदरमुकाम खाँदबारी आइपुग्न पनि करिब तीन दिन पैदलै हिँड्नु पर्थ्यो। यस्तोमा अशिक्षित समाजमा जन्मिएका हाम्रा लागि चौरीखर्क जानुको विकल्प हुँदैनथ्यो। मैले पढाइ छोडेपछि लेकमा याक (चौरी) चराउनु पर्‍याे। हिमालका खोंचहरुमा चौरीसँगै लुकामारी खेल्दै त्यो नै आफ्नो संसार ठान्न थालिसकेको थिएँ। लोसारको बेलामा गाउँका आफन्तहरु घर फर्किँदा सुकिला/मुकिला देखेपछि लोभ लागेर आउने, आफू पनि जान पाए यस्तै ठाँटिएर गाउँ फर्किन्थेँ, मनमा यस्तै–यस्तै कल्पना आउँथ्याे।

२०४९ सालको साउन महिनाको सायद अन्तिम साता थियो, १४ वर्षको उमेरमा म मेरा काका र भेनासँगै कुल्ली काम गर्न भनेर घरबाट निस्किएँ। मनमा ठुला सपना त थिएनन्, तै पनि काका र भेनासँगै भारी बोकेर कमाएको पैसाले बा-आमालाई एकसरो लुगा र केही खर्च दिएर खुसी बनाउँछु भन्नेसम्मको सपना भने पक्कै थियो।

ooo

गाउँमा पढ्ने चलन नै थिएन, त्यही भएर हाेला छाेराे घरबाट हिँड्दा मिङमाका बा–आमा पनि खुसी थिए, ‘अब हामीलाई छोराले कमाएर दिने भइसक्यो’ भन्ने  लागेर पनि होला। बिदाइ गर्दाको त्यो क्षण सम्झेर मिङमा अहिले पनि भावुक हुन्छन्। घर-परिवार र बा-आमासँग छुट्टिँदाको पीडा हुने नै भयाे तर त्याेबाहेक अन्य विकल्प पनि थिएन।

‘घरको समस्या आफ्नै आँखाले देखेको मात्रै नभएर भोगेको मलाई एक प्रकारले भारी बोक्न घरबाट निस्किँदा शरीर हलुका भएको थियो। हामी आठ जना छोराछोरीको हेरचाह गर्न बा-आमालाई हम्मेहम्मे थियो,’ मिङमाले आफ्नाे विगत सुनाए।

०००

सदरमुकाम खाँदबारी पुग्दा त्यो बजार, कोलाहल र धेरै मान्छेको भीड, गाउँका घरभन्दा ठुला बस र ट्रक देखेपछि रनभुल्ल हुन्छन् उनी। सँगै गएकाहरुले बस भएको बताएपछि खाँदबारीबाट नाइट बस चढेर काठमाडौँ हुइँकिन्छन्।

बसको यात्रामा रातभर निन्द्रा लाग्दैन, एकातर्फ बा-आमा र भाइबहिनी अनि गाउँले सम्झिन्छन् त अर्कोतर्फ सपनाको सहर काठमाडौँ पुग्ने कुराले मन मन नै उत्साहित हुन्छन्। कलंकीमा गाडीबाट झरेपछि भने काका र भेनासँगै पछि–पछि सँगै कोठातर्फ लाग्छन् र काठमाडौँ पुगेकै भोलिपल्टदेखि ज्यामी काममा खटिन्छन्। कहिले बालुवाटार त कहिले चाबहिल अनि कहिले रत्नपार्क। दिनमा करिब ६ घण्टा ज्याला मजदुरीमा बित्छ मिङमाका दिन।

मिङमाको कुनै ठुलो उद्देश्य हुँदैन। भरिया जीवन, राजधानीमा सजिलो नभए पनि उनी पैसा कमाउने र बा-आमाको दु:ख कम गर्ने थियाे। केही समयपछि आफन्तहरुसँग उपत्यका बाहिर लाङटाङतर्फ विदेशी पर्यटकको ६० किलोको भारी बोकेर पैदलै पुग्छन्। हिमालमा विदेशीको भारी बोक्दा-बोक्दै उनको शरीर मात्रै हाेइन, मानसिक अवस्था पनि बलियो भइसकेको थियो। उनमा आत्मविश्वास बढिसकेको थियो। विदेशीको भारी बोक्दा–बोक्दै अंग्रेजी बोल्न सिपालु भइसकेका थिए। दु:ख र मेहनत यतिसम्म गरे कि दु:खले उनको मेहनतका अगाडि घुँडा टेक्न बाध्य भयो।

विदेशी पर्यटककाे प्रिय भइसकेका उनको सरल स्वभाव, मिठो बोल्ने बानी र मेहनतले २०५३ सालमा विदेशीसँगै उनले पनि ६ हजार ४४४ मिटर उचाइ भएको हिमाल मेरा पिक चढ्ने अवसर प्राप्त गरे। भारी बोक्दा बोक्दै टाउकोमा राख्ने दाम्लोका साथै विदेशी र स्वदेशी आरोहीको भरोसाका केन्द्र भइसकेका उनको आत्मविश्वासको गति बढ्दै गइरहेको थियो। तीन वर्ष हिमालका खोंच, बरफ अनि चट्टाने भिरहरुमा हिमाली भरियाकै रुपमा दुखकाे काम गरे पनि उनले त्यही कामबाट धेरै कुरा सिकिरहेका थिए। ‘यत्रो भारी बोकेर विदेशीलाई हिमालमै पुर्‍याउने आफू चाहिँ कहिलेसम्म भरिया मात्रै बन्ने’ भन्ने सोच आइसकेको थियो। त्यतिबेलै उनले कल्पना गरिसकेका थिए, ‘अवश्य एकदिन विश्वको सर्वाेच्च शिखर सगरमाथाको शिर चुम्ने छु।’

त्यो दिन पनि धेरै टाढा रहेन। त्यसैको ३ वर्षपछि अर्थात् सन २००० मा मिङमा ८००० मिटर अग्लो मनास्लु हिमाल चुम्न सफल भए। त्यसलगतै सगरमाथा चुम्नसमेत सफल भएपछि उनका सपनाहरुले समेत सगरमाथाकै हाराहारीमा स्थान बनाउन सफल भए। विस्तारै गाउँबाट आफ्ना दाजु-भाइहरुलाई यही पेसामा आबद्ध गराइसकेका उनले त्यसपछि भने आफ्नै कम्पनी दर्ता गर्ने योजना बनाए। विदेशी पर्यटकमाझ उनले गरेको काम विश्वासनीय हुँदै गएको थियो। हिमाल चढ्दा शेर्पा नै चाहिन्छ भन्ने भनाइलाई चरितार्थ गर्दै अगाडि बढेका उनले सन् २०११ मा सात वटा महादेशमा रहेका  हिमाल-टापुहरुलाई जोडेर ‘सेभेन समिट’ नामक कम्पनी दर्ता गरे।

उनलाई उनका विदेशी तथा स्वदेशी शुभचिन्तकहरुले योभन्दा अगाडि नै कम्पनी दर्ता गर्न नसुझाएका हाेइनन् तर उनी कम्पनी खोल्ने उत्तम समयको खोजीमा थिए। उनले कम्पनी दर्ता गरेको अर्को वर्ष सन् २०१२ मा ‘सेभेन समिट’ कम्पनीले पहिलो वर्षमै १२ करोड रुपैयाँ राजस्व उठाएर नेपालकै पहिलो पर्यटन व्यवसायिक कम्पनी हुन सफल भयो।

काम गर्ने क्रममा नेपालकै हिमाल चढेर कीर्तिमान कायम गरेका कुरा राम्राेसँग बुझेका उनी संसारमा कैयौं मानिसका पेशागत रेकर्ड नजिकबाट नियालिरहेका थिए। मिङमा शेर्पाले पनि त्यही अनुरुप ३२ वर्षको कम उमेरमै विश्वका सर्वाेच्च १४ वटा ८००० मिटर उचाइ भएका हिमाल आरोहण गरेर कीर्तिमान कायम गर्दै सन् २०११ को ‘गिनिजबुक अफ द वर्ल्ड’मा नाम राख्न सफल भए।

उक्त रेकर्डपछि उनका आफ्नै काँइलो भाइ छाङदावा शेर्पाले ३० वर्षकै उमेरमा सन् २०१३ मा रेकर्ड ब्रेक गरिदिए। एकताका गरिबीसँग लडिरहेको परिवारका सम्पूर्ण दाजु–भाइलाई कामको हुट-हुटीले सफल पर्यटक व्यवसायी बनाइदियो। घर-परिवारबाटै कीर्तिमान बनाउन सफल मिङमाका अन्तरेभाइ टासी शेर्पाले १९ वर्षकाे उमेरमा सन् २००५ मा विनाअक्सिजन सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका थिए, जुन अहिलेसम्म कसैले पनि ताेड्न सकेका छैनन्।

संसारका प्राय: देश भ्रमण गरिसकेका मिङमा शेर्पाका कीर्तिमानको फेहरस्ती अझै बाँकी छन्। एउटै परिवारबाट दुई जना दाजु–भाइले १४ ठुला ८००० मिटर उचाइ भएका हिमाल चढ्ने रेकर्ड आफ्नो नाममा कायम गरे। सन् २०२२ मा अन्टार्कटिकाको साउथ पोल (जिरो पोइन्ट) पुगेर स्काइ एक्सपिडिसन गर्ने पहिलो नेपाली तीन जना दाजु-भाइ मिङमा शेर्पा, छाङदावा शेर्पा र टासी शेर्पाले रेकर्ड कायम गरेको उनी बताउँछन्।

जिरो पोइन्ट पृथ्वीको ठ्याकै मुनि रहेको शून्यबिन्दु मानवबस्ती नभएको महादेश हो।

मिङमा भन्छन्, ‘चिलीबाट ६ घण्टा प्लेनको यात्रा गरिसकेपछि थप ४ घण्टा ट्विनेटर जहाजबाट त्यहाँ पुगियाे। त्यतिबेला हामी पाँच जना नेपाली यात्रु थियौँ, जसमा हामी तीन जना दाजु-भाइबाहेक दुई जना निर्मल पुर्जा र तेन्जिङसमेत सहभागी भएका थिए।’

०००

हिमाल आरोहण सजिलो छैन, यहाँ सीप र धैर्यताका साथै साहस पनि चाहिन्छ। मिङमाले गाउँबाट यो पेसामा संलग्न गराउन दाजु-भाइ ल्याए। विस्तारै गाउँका अरुहरुलाई पनि यही पेसामा ल्याए र अचेल आ-आफ्नो कम्पनी खोलेर बसेका छन्। योभन्दा आफ्ना लागि ठुलो सफलता केही नहुने मिङमा बताउछन्। सुरुका दुई वर्ष हिमालमा भारी बोक्दा दाम्लोको डामहरु निको भए पनि त्यसका सम्झनाले मिङमालाई जीवन जिउन सजिलो बनाइदिएको छ। उनीहरुका दाजु-भाइले आ-आफ्नै घरमा बसे पनि व्यवसाय भने सहकार्यमा गरिरहेका छन्।

‘पछिल्लो समय चर्चामा आउने जो जति युवाहरु छन्, ती सबै मेरा भाइहरु हुन्। उनीहरुलाई मैले नै सिकाएको हो। मेरै भाइहरुको लगभग ६ वटा उद्याेगहरु छन्, अझै २०/२५ उद्याेग खोल्न सहयोग गर्छु। यहाँ लाखौंको संख्यामा पर्यटक भित्र्याउनु छ, देशलाई यही पेसाको माध्यमबाट धनी बनाउनुछ,’ मिङमाले आफ्नाे वर्तमान सुनाए।

नेपाली कला संस्कृति र सुन्दरताबाट लगानी विना नै आम्दानी गर्न सकिने उनकाे भनाइ छ। ‘प्राकृतिक चिजहरु हिजो पनि थिए। आज पनि छन्। र, भोलि पनि रहन्छन्। यसका लागि सरकारले लगानी गर्नै पर्दैन केवल पूर्वाधारको व्यवस्था गरे मात्रै पनि देशमा मुनाफाका लागि कुनै अर्को काम गर्नु पर्दैन,’ उनले भने।

पेसागत व्यवसायमा लामो समयदेखि आबद्ध उनी नेपालका हिमालहरुलाई खजानाको रुपमा बुझ्छन्। हिमालको सुन्दरता मात्रै बेचेर पनि राज्यलाई सम्पन्न बनाउन सकिने उनको दाबी छ। उनी हिमाल यात्राबारे आफ्नो अनुभव सुनाउँछन्, ‘८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमालहरु नेपालमै छन, उत्तरतर्फ लहरै हिमाल देखिए पनि बिच–बिचमा खोंच, खोला, ताल र हिम उपत्यका रहेका छन्। ती हिम उपत्यकाहरु पर्यटकको लागि खोलिदिने हो भने अझ नयाँ व्यापार हुन सक्छ। उपत्यकाको छेउमा रहेका हिमतलाउहरु त हिमालका गहना नै हुन्।’

युगौं युगदेखि अटल र अविचलित हिमालझैं मिङमा शेर्पा पनि आफ्नो पेसाप्रति निश्चिन्त छन्। हिमालमा देखिने कुहिरो र घामको लुकामारी जस्तै उनको जीवनमा पनि थुप्रै उतारचढाव छन्। उनले जीवनमा गरिबी देखे, नजिकबाट मृत्यु देखे, त्यसैले उनी व्यवसायसँगै सामाजिक काममा पनि उद्दत छन्। संखुवासभा होस् वा हिमाल आरोहणमा होस् आइपरेको समस्या समाधानका लागि अगाडि बढ्ने उनको बानीले नै पर्यटन व्यवसायीमाझ लोकप्रिय छन्। हिमालमा समस्या सामाधानको अर्को नाम मिङमा शेर्पा भनेर समेत चिनिन्छन्। 

हेली एभरेस्टमा पनि यिनको लगानी छ, यो चाहिँ नयाँ व्यवसाय भएको उनी बताउँछन्। हेलिकप्टरमा लगानी गरेको भए पनि मुख्य पेसा माउन्टनेरिङ नै भएको बताउँछन्।

उनको कम्पनी ‘सेभेन समिट’मा हाल ६ सय जना स्थायी कामदार छन्। भने, सिजनमा ६ सय जनालाई रोजगार दिरहेका हुन्छन्। पर्यटकीय कम्पनीहरुमा देशकै सबैभन्दा ठुलो कम्पनीको नामले ख्याती प्राप्त ‘सेभेन समिट’को वार्षिक ७० लाख डलर बराबर टर्नओभर हुन्छ। मिङमाले गएकाे वर्ष राज्यलाई २० करोड रुपैयाँ कर मात्रै तिरेका थिए। अझ ट्याक्स (कर) र भ्याट त बाँकी नै रहेकाे उनी बताउँछन्।

वार्षिक १२ देखि २३ करोड रुपैयाँ राजश्व उठाएर राज्यलाई दिने नेपालकै पहिलो कम्पनीका रुपमा रहेका आफू जस्ता व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने उनी बताउँछन्।

‘राज्य टाट पल्टिरहेको समय पर्यटन व्यवसायले धान्न सकेको छ। पछिल्लाे समय सुन्दैछु, हिमालमा भारी बोक्ने भरियाबाट समेत राज्यले १३% भ्याट काट्ने गरी नीति बनाउँदैछ। नीति नियम बनाउनेले लाज मर्दो काम नगर्न आग्रह गर्छु। भरियाको जीवन त्यसै त कति गाह्रो छ, भरियाको पैसा कटाउने काम गरे नेपालको पर्यटन ध्वस्त हुन्छ। सबै कम्पनी डुब्छन्, काम गर्ने भरिया पाउँदैनन् अनि कसरी हुन्छ उँधोगति?’ प्रश्न गर्दै भन्छन्, ‘नयाँ नीति निर्माण गरेर विदेशी तथा स्वदेशी पर्यटकलाई प्रोत्साहन गर्ने काम गरौँ, त्यसले पो देशमा आर्थिक क्रान्ति हुने हो।’

नेपालमा पर्यटनको क्षेत्रमा आफूले मात्रै अर्बौं रुपैयाँ भित्र्याएको दाबी गर्ने मिङमा शेर्पा अन्तराष्ट्रियस्तरमा पनि उत्तिकै लोकप्रिय व्यक्ति हुन्। कुल्ली-ज्यामीबाट सुरु भएको आफ्नो जीवन यात्राले सात वटा महादेशका छुट्टाछुट्टै शिखर चुमिसकेका छन् भने अब अन्तिम शिखर क्रिस्टन पिक २०२४ मा चढेपछि आफ्नो अर्को तेस्रो कीर्तिमान कायम हुने उनी बताउँछन्। जसका लागि उनी पूर्णरुपले तयार छन्।

एसियाको सगरमाथा, अमेरिकाको डिनाले शिखर, दक्षिण अफ्रिकाको किलिमन्जरो शिखर, दक्षिण अमेरिकाको अकोम्ङ कागा शिखर, युरोपको एलब्राउस शिखर र अन्टार्टिकाको विन्सन शिखर चढिसकेका छन्। भने, अन्तिम हिमाल चढ्न बाँकी छ, जुन अस्ट्रेलियाको क्रिस्टन पिरामिड हाे। त्याे पनि चढेपछि सातै वटा महादेशका शिखर चुम्ने काम सकिन्छ।

‘जीवनमा धेरै आँधी/बेरीकाे सामना गरेको छु। गरिबीमा हुर्किएको मलाई एक छाक पेटभरि खान पाए पुग्ने आज यहाँसम्म पुग्छु जस्तो कहिलै सोचिनँ। सपना त हुनेखानेले देख्ने हो, हामी त भारी बोक्यो त्यसबाट आएको पैसाले घर परिवार पाल्न पाउनु मात्रै सपना देखेँ तर आज मेरो मिहेनत र लगनशीलताले जीवनमा सफलता पाएको महसुस गरेको छु,’ उनी खुसी हुँदै भने।

त्यो हिमालको चिसो, त्यो ६० केजीको भारी अनि टाउकोमा दाम्लोको खाटाले आज मिङमा शेर्पाले आफूलाई संखुवासभाको मात्रै नभए देशकै माउन्टनेरिङ व्यवसायमा सिद्धहस्त व्यापारीको रुपमा परिचय बनाउन सफल भएका छन्।

प्रकाशित मिति: : 2023-05-20 12:00:00

प्रतिकृया दिनुहोस्