२०६८ सालको जेठ महिनाको २० गते नेपालको पहिलो राजनीतिक सङ्गठन नेपाल प्रजापरिषद्को हीरक जयन्ती परेको थियो । यसको गठन १९९३ सालमा भएको थियो । त्यसै वर्ष त्यस पार्टीका संस्थापक अध्यक्ष टङ्कप्रसाद आचार्यको जन्मशताब्दी पनि परेको थियो । उक्त जन्मशताब्दीको सिलसिलमा छापिएको ‘टङ्कप्रसाद आचार्य र आजको नेपाल’ स्मृतिग्रन्थमा विभिन्न राजनीतिज्ञ तथा सामाजिक क्षेत्रका नाम चलेका व्यक्तिहरूका लेखहरू छन् । ती सबै पठनीय छन् । त्यसमा उहिल्यैदेखि, २००७ साल प्रजातन्त्र प्रादुर्भाव भएदेखिका मित्र भैरव रिसालको लेखको शीर्षक आफूलाई साह्रै घतलाग्दो लागेकाले मैले आफ्नो यस लेखको शीर्षक पनि त्यही दिएको छु, उनीप्रति आभार व्यक्त गर्दै ।
आचार्य यति मात्र हुन् त ? उनी त मूर्धन्य देशभक्त, नेपालको प्रजातान्त्रिक आन्दोलनका जनक, सङ्गठनात्मक राजनीतिका सर्जक, क्रान्तिका अग्रदूत, सुदूर भविष्यद्रष्टा, अनन्य प्रजातन्त्रवादी, मानव अधिकारको प्रत्याभूति गर्ने सामाजिक रूपान्तरणका अधिवक्ता, राष्ट्रियता, राष्ट्रियपन, राष्ट्रिय स्वाधीनता एवं सार्वभौमिकताका प्रखर सेनानी, त्याग र निस्पृहताका मूर्तरूप, निष्ठावान् कर्मयोगी, जनताका लागि गाँस, बास र कपासको सुनिश्चितका लागि प्रतिबद्ध राजनेता र साथै राजर्षि गुणले युक्त प्रधानमन्त्री, राष्ट्रिय हितलाई सर्वाेपरि राख्ने परराष्ट्र नीतिका निर्माता एवं सञ्चालनकर्ता, प्रेमीपति, वात्सल्य भावले भरिएका पिता, सहृदयी पार्टी नेता तथा दौँतरी पनि थिए ।