एउटा सरकारी अस्पताललाई दिने जति मात्रै जनशक्ति र बजेटको व्यवस्था नीतिगत रूपमा नै प्राकृतिक चिकित्सालयलाई गरे यसको सकारात्मक असर दीर्घकालसम्म पर्छ।
उक्ति नै छ, ‘नपरी थाहा हुँदैन वा नमरी स्वर्ग देखिँदैन।’ यस उक्ति म माथि नै लागू भयो। २८–२९ वर्षकै उमेरमा ग्यास्टिक, अल्सर, पिनास, टन्सिल, डिप्रेसनलगायतका रोग झेल्नु पर्यो। यी रोग जटिल बनेर अन्तिम अवस्थामा पुगेपछि जीवनको मूल्य महसुस भयो। रोग ठीक पार्न नेपाल र भारतका सुविधासम्पन्न अस्पताल नचहारेको होइन। तर, बीसको उन्नाइस भएन। प्राकृतिक चिकित्सा र योगबाट ठीक हुन्छ कि भन्ने झिनो आस थियो। त्यसका लागि भारतको गोरखपुरस्थित आरोग्य मन्दिर प्राकृतिक चिकित्सा केन्द्रमा पुगें। तीन महिना उपचार गरें। तर, सञ्चो महसुस भएन। निराश हुँदै घर फर्किए।
घरमै मरुँला भन्ने सोचेर फर्किएको थिए त्यो समय। केही दिनमा पोखरामा पनि यस्तै अस्पताल छ भन्ने सुनेर त्यहाँ पनि पुगें। बाँच्ने झिनो आसमा उपचार सुरु गरें। तीन महिनामा त पूरा ठीक भयो। भारतमा गरेको उपचारले शरीर सफा (सोधन) भएको रहेछ। पोखराकोले ‘हिलिङ’ रिविल्ट भयो र नयाँ जीवन पाएँ। यो २०६० सालको कुरा हो। त्यहीं तीन वर्ष निस्वार्थ भोलेन्टियर सेवा गरें। त्यसपछि मैले त ‘नयाँ जीवन पाएँ, अरूलाई किन नदिने ?’ भन्ने सोच आयो।