जुन बुडी तिर्पाया राम्रा, लौडी रुख छाया।
निद(निन्द्रा) खाेइदैन(खाेज्दैन) ओछ्यानय, जात खोइदैन माया।।
पश्चिमका प्रथाहरुबारे जुनसुकै काेणबाट प्रचार गरिए पनि साहित्यमा निकै अगाडि छ। प्रथा परम्पराकाे नाममा साँघुरो भनेर प्रचार गरिएकाे पश्चिमका वनपाखा, खेतखलियान, गाेठहरुमा गाइने देउडामा उचाे खालकाे साहित्य चेत छ भने दृष्टिकोण फराकिलो छ। नेपालकै पूर्वी भेगकाे साहित्यमा छाडा शब्दको प्रयाेग भएकाे देखिन्छ। तर पश्चिममा अश्लीलै देखाउनु परे पनि भद्र प्रस्तुति हुन्छ।
जस्ताे कि:
जति काट्याे पलाइजानाे, रुँइसेडूकाे खर्सु।
फूलबारी ओइलन लाग्याे, मेगपानी बर्सु।।
याे गीतमा अश्लीलता भेटिन्छ। तर याे गीत सुन्नेले अन्यथा साेच्दैन। नसुन्नलाई कान थुन्नु पर्दैन। त्यसैले पश्चिमकाे साहित्य मर्यादित छ। यसमा अभिव्यक्तिकाे उच्चतम रुप पाइन्छ। यहाँकाे साहित्य, कला, संस्कृति र इतिहासबारे जानकारी राख्ने मध्येका एक हुन्, सिंजा कनका सुन्दरीका तुङ्गनाथ उपाध्याय।
उनले आफ्नाे युवा उमेरलाई यसरी सम्झिए, 'त्यो एक समय थियो, कुकुरे बैंस आएको। आफ्नो निर्णय नै सबैथोक लग्ने। बाह्रैमास, लगभग धेरैजसो रात उही कर्म दोहोरिने। रातभरि जागराम बसेपछि बिहान आमाले दिएकाे राेटी खाना खाँदाखाँदै निदाउने। आमा बेस्सरी गाली गर्ने। बिहान खाँदैखाँदै छोरो निदाएपछि राति कहाँ गएको थियो भनेर सहजै अनुमान लाउन सकिने।'
उनका अनुसार यो नियमितता देखेर आमा नरिसाउने कुरै थिएन। तर नारी नसमातेको हुनाले 'तँ फलानो ठाउँ गएको थिइस्' भन्न सक्ने अवस्था पनि थिएन। त्यसमाथि छाेरालाई कसरी भन्नू? उनले हाँस्दै थपे, 'अनि त छोरो बिहान रोटी खाँदाखाँदै निदाउने नै भयो।'
उनी रातिराति निस्किरहन्थे। माया छाेट्टीहरुसँग प्रेमका गीत गाउन। मनोरञ्ज गर्न, बह पोख्न, भावना साटासाट गर्न। जसलाई छाेट्टी खेल्न भनिन्छ।
उनका बाजे बद्रीनाथ, केदानाथ तिर्थ गएका थिए, परम्परा थाम्न। त्यही बाटोमा तुङ्गनाथ भन्ने एउटा देउता छन्। त्यहाँबाट घर फर्किंदा १९९७ सालमा उनी जन्मिए। उनको राश, वर्ग सम्पूर्ण कुरा तिनै तुङ्गनाथ भन्ने देउतासँग मिलेछ। बाजेले उनलाई तिनै देउताले दिएकाे बरदान ठानी उनको नाम पनि तुङ्गनाथ नै राखिदिएछन्। आफ्नाे नामकाे कथा सिंजा लुड्केका तुङ्गनाथ उपाध्याय यसरी सुनाएका थिए।
राशी, देउतासँग मिलेको भएपनि उनी एक सामान्य परिवारका हुन्। उनका बाजे मुखिया, जिमदार, लातुकदार, ठालू, भलाद्मी केही होइनन्। तर पनि समाजमा उनीहरुकाे एउटा उचाइ थियाे। साह्रै भलाद्मी थिए। समाजसेवी थिए। लोकप्रिय पनि उत्तिकै। उनीहरु कर्णालीदेखि सेती अञ्चलका १८औँ दरामा परिचित थिए। शंकर पाद्य उनका छ पुस्ताअघिका पराबाजे हुन्। उनका नामका गीतहरु आज पनि सुदूरपश्चिमसम्म गाइन्छन्।
कालु पाद्य, शंकर पाद्य, दुबै मिली एक।
दुई मिली नेपाल बाइजाउ, अधिया नटेक।।
यो गीत त्यतिबेलाका महिलाहरुले गाएका थिए। १८४६ पछि नेपाल राज्यले जुम्ला राज्यका राजा शोभान शाहीलाई भाग्न बाध्य पारेर राज्य कब्जा गरेपछि अत्यधिक अधिया सर्त ताेकिएकाे थियाे। अन्यत्र कर लगाएकाे गाेर्खाली सत्ताले जुम्लाबाट अधिया लिँदा वर्षभरि शरीर घाेटेर उब्जाएको अन्नकाे आधा त उसैलाई दिनुपर्ने भयाे। अधियाबाट उभो नलागिने भएपछि महिलाहरुले संघर्ष गर्न सुझाव दिए।
कर्णालीमा लगिमानी प्रथा र अधिया खाने चलन अहिले पनि छ। तथाकथित माथिल्लो जात वा साहु महाजनहरुबाट गरीब वा कथित तल्लो जातका मान्छेहरुले खाइरहेका छन्। काम नगर्नेलाई आधाभन्दा बढी दिइरहेका छन्।
महिलाहरुको सन्देशलाई शिराेपर गरी शंकर पाद्या र कालु पाद्या काठमाडौं गइ झरो(दियालो/ मसाल) बालेर राजालाई सुनाउँछन्। त्यसको सुनुवाइ स्वरुप राजाले अधिया कटाएर पाँच पैसा कर तिर्ने बनाइदिन्छन्।
तुङ्गनाथ २००९ सालमा १२ वर्षको भएपछि विद्यालय जान थालेका थिए। उनी विद्यालय जान सुरु गर्नु र कर्णालीमा सरकारले विद्यालय खाेल्नु सायद एउटा संयाेग नै हुनुपर्छ। त्यसभन्दा अघि उनी गुरुकुल जस्तो पाटीमा माटो राखेर अलिअलि गरी कखरा सिकिरहेका थिए।
२००९ सालमा कोटघर(काेतघर)मा विद्ययालय खुल्यो। त्यसबेला कर्णाली अञ्चलभरि हुम्लाको दार्म, जुम्लाको खलंगा, सिंजाको कोटघर, रासकोटको सिउना गरी ४ वटा स्कुल मात्र खुलेका थिए। पाँच वर्ष उनी त्यहीँ पढे। त्यहाँबाट उनको पढाइ सकियो। पाँच कक्षाभन्दा माथि पढ्ने ठाउँ थिएन। त्यसपछि उनी फुक्का फूल भए। लगभग सात वर्ष। त्यही समयमा उनी झोडा, चुट्किला खेल्न, छोट्टी खेल्न राति राति गाउँगाउँ, गोठगोठ जान थाले। छाेट्टी(केटी)का लागि चर्चित खेलाैडा कहलिए।
त्यही प्रभाव नै हो माथिको देउडा। आज पनि देउडा भन्ने बित्तिकै उत्साह बढेर आउने बताउँछन्। पुराना दिन सम्झिँदा भावकु हुन्छन्। भन्छन्, ‘देउडाका भावहरु जस्तो मनमा बस्ने अरु म मान्दैन। भावनाहरु गीतमा व्यक्त गर्दा, बिलौनाहरु पोख्दा मन हल्का हुन्छ। फरक खालको आनन्दानुभूति मिल्छ। अभिव्यक्तिको माध्यम हाे, देउडा।’
झ्याप्प हान्या, ट्याप्प टिप्दो भुरेली जाल पनि।
छुँदैन आँङको बेथा(रोग), लिदैन काल पनि।।
माछीको थुमनि गर्याे, भुरेली जालले।
कि लैजा मनका दैले, कि लैजा कालले।।
रात छिप्पिएर छर्लङ्ग उज्यालाे हुन्जेल खेलिने। छोट्टी खेल्ने पनि निश्चित थला हुन्थे। ती थलाबारेका देउडा पनि हुन्छन्। फलाना थलामा आउनु भनेर रैबार हाल्ने (खबर पठाउने) गरिन्थ्यो। कहिलेकाहीँ केटा वा केटीले बेइमानी गर्ने, झुटो बोल्ने वा भनेको थलामा नआउने गरेपछि पछिल्लो पटक विश्वासका लागि बयानो लिने वा थलाे राख्ने गरिन्थ्यो। याे एक प्रकारकाे बाचा हाे, विश्वास दिलाउने। बयानोमा हातका औंठी, गलामा माला, पछ्यौरी आदि हुन्थे।
यसरी खेलिने देउडा विशुद्ध मानोरञ्जनका लागि हुन्थ्यो। यी माया प्रेमका प्रतिक थिए। अनैतिक क्रियाकलाप विरलै हुन्थे। उनी देउडाकाे सागरमा अपवादमा यस्ता कार्य हुनुलाई अनाैठाे पनि मान्दैनन्। देउडा खेलमा जित-हार हुन्थ्यो। कसले कस्ता सवालजवाफ गर्यो भनेर चर्चा-परिचर्चा हुन्थ्यो। त्यसैको प्रचारप्रसारले खुला ठाउँमा देउडा खेल्ने अनुमति मिल्थ्यो। एक प्रकारको क्षमता पहिचान गर्ने दरिलो माध्यम पनि थियो।