सिंगाे गाउँ कुहिरोले ढाकेको छ। सिमसिम पानी परिरहेको छ। भदौकाे महिना आँगन बाटोहरु चिप्ला र भिजेका छन्। आँगन मुन्तिर कुहिरो छेलेका बारीमा हरिया मकैका बोटहरु हावाको बेगसँग हल्लिरहेका छन्। घरको छ्तबाट बलेसीमा पानी तपतप तर्किरहेको छ। बलेसीभित्र अङ्गालोमा एक वर्षीय छोरा र बर्कोको टुप्पाे समातेर तीन वर्षीया छोरीसँग उभिएकी छिन्, कल्पना पुन। बलेसी बाहिर कल्पनाका श्रीमान पिठ्युँमा झाेला बोकेर बिदाइका हात हल्लाउँदै छन्। एकछिनमा कल्पनाका श्रीमान आँगन छेउको ओरालो बाटो लाग्दै कुहिरोमा हराउँछन। बलेसीको पानीमा आँसु मिसाउँदै कल्पना छोराछोरी लिएर घरभित्र छिर्छिन्।
२०६१ साल भदौ १७ गते।
१० वर्षे जनयुद्ध उत्कृषमा थियो। माओवादीहरु देशकाे राजधानी कब्जा गर्न गण्डक अभियानमा (ढाडमा टेकेर टाउकोमा हान्न) निस्केका थिए। राज्यपक्ष रुकुम र रोल्पाका माओवादीहरु निमिट्यान्न पार्न (किलो शेरा टु) चलाइरहेका थिए। यस बिचमा हजारौँ नेपालीहरु मारिए। घाइते भए, मारिए, बेपत्ता भए। राज्य र बिद्रोही दुबै पक्षबाट निमुखा जनताले दु:ख पाए।
देशमा संकटकाल घोषणा गरिएकाे थियो। गाउँका धेरै जसो युवा जनयुद्धमा लागेका थिए। कति युवा, आर्मी र पुलिसमा पनि थिए। कति गाउँमा बस्ने स्थिती नहुँदा भारततिर लागेका थिए। २०६१ साल भदौ १७ गते कल्पना पुनका श्रीमान मनबहादुर पुन पनि भारत जानलाई घरबाट निस्किए।
‘६१ साल भदौ १७ गते घरबाट निस्किनु भएको हो। साँझ परेपछि बत्ती बालेर पर्खिरहन्थ्याैँ। ८/९ वर्षसम्म पर्खिरह्याैँ तर उहाँ फर्किनु भएन, त्यसपछि त संसारमै हुनुहुन्न जस्ताे लाग्याे, आशै मार्याैँ। चित्त बुझाउन थाल्यौँ,’ कल्पनाले गला अवरुद्ध बनाउँदै भनिन्।
कल्पना (४०)का श्रीमान मनबहादुर २४ वर्षकै उमेरमा घर/परिवारबाट जनयुद्धकै कारण टाढिनु पर्याे। एक वर्षीय दूधेछोरा र तीन वर्षकी छोरीसँग कल्पनाले श्रीमान फर्कने आशमै १९ वर्ष बिताइन्। गाउँ/घर मेलापात गरिन। छोराछोरी हुर्काइन। पढाइन्।
उनलाई छोराछोरी हुर्काउन सहज थिएन। ‘छिमेकमा अरुका बाबा आउँदा मेरा छोराछोरीले हाम्रो बाबा यो संसारमा भए त आउनुहुन्थ्यो होला भन्थे। हाम्रो बाबा खै ? भनेर पनि साेध्थे,’ कल्पनाले भनिन,‘त्यो समय धेरै गाह्रो थियो। गाउँ समाजबाट पनि हेला पाएँ, मलाई नराम्रो नजरले हेर्थे।’
देशमा शान्ति आयो। गणतन्त्र आयो। लोकतन्त्र आयो। परदेशीहरु घर आए तर १९ वर्षअघि निस्किएका मनबहादुर फर्केनन्। थुप्रै मनबहादुरहरु कहाँ छन ? कल्पनाहरुको मनमा शान्ति छैन। कल्पनाजस्ता धेरै नारीहरु, आमाहरु श्रीमान, छोरा र आफन्तको पर्खाइमै बसे। तर, उनीहरुले न सास पाए, न लास। मनभित्र अनेकन पीडा बोकेर समाजमा आफूलाई उभिएका सयौँ कल्पनाहरुको कल्पनामा अझै पनि ताजा तस्बिर छ, आफन्तहरुको। राज्यले बेपत्ता छानबिन आयोग बनायो तर कल्पनाहरुको दु:ख बुझ्ने काम आयोगले गरेन। बेपत्ता छानबिन आयोग आफै बेपत्ता छ।
‘न ज्यान हात, न च्यान(चिहान) हात भनेजस्तै भयो, हामीलाई। मरेको भए सहिद हुनुहुन्थ्यो होला। बाँचेको भए फर्किनुहुन्थ्यो होला। हामी बेपत्ता परिवार सबैभन्दा पीडामा छौँ। त्यो द्वन्द्व हामीलाई दु:ख दिनलाई मात्रै आएको रैछ भन्ने लाग्छ,’ मलिन अनुहार बनाउँदै कल्पना बाेलिन्।
अहिले सबै राजनीतिक दल सत्तालिप्त छन्। सत्ता भागबण्डाकै लागि अस्वभनीय एकता, गठबन्धनले द्वन्द्वमा पिल्सिएका नागरिकलाई घाउमा नुनचुकको काम गरिरहेको छ। स्वार्थ र सत्तालिप्त दलहरूको काम देख्दा नागरिकलाई अत्यन्तै पीडा थपिरहेको छ। सहिद भएर जानेहरुको अधुरा सपना। सहिद परिवारहरुको आँसु। घाइते अपाङ्गका बैशाखी, दुखाइ र घाउहरु अनि बेपत्ता नागरिकका धमिला तस्बिर र आफन्तका तेजिला याद, आशाहरु सबैले सरकारलाई हेरिरहेका छन्, न्याय मागिरहेका छन् तर सरकार निदाएकाे छ।
भिडियाे: