ललितपुर महानगरले सुरु गर्‍यो यल कोसेली घर

शनि शाक्य

ललितपुर

ललितपुर महानगरभित्र उत्पादित हस्तकलाका सामग्रीहरुको उत्पादन, प्रबद्र्धन र बजारीकरण गर्न यल कोसेली घर सुरु भएको छ।

ललितपुर महानगरपालिकाले ललितपुर हस्तकला संघसँग सहकार्य गरेर उक्त घर सुरु गरेको हो।

पाटनढोकासँगै रहेको उक्त घरको मंगलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन्। कोसेली घरमा ढाकाका लुगा, झोला,मूर्ति लगायतका सामग्री सुपथ मुल्यमा पाइन्छ।

उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले कलाकर्मीलाई प्रोत्साहित गर्न महानगरले कोेसेली घरको सुरुवात गरेको बताए।

हस्तकलाकर्मी यो पेशाबाट पलायन हुन नदिनु यो घर खोल्नुको मुख्य उद्देश्य भएको बताउँदै उनले भने,‘यो घरले ललितपुर महानगरभित्रका हस्तकलाका सामग्रीलाई नेपालभित्र र नेपालबाहिरका विभिन्न मुलुकमा पुर्याउन मद्दत गर्छ।’

ललितपुर आउने पर्यटकलाई कोसेली घरमा आउने वातावरण प्रबन्ध मिलाउन महानगरले काम गरिरहेको जानकारी दिए।

महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर विश्व कला नगरीको ३५ औं सहर भएकाे बताउँदै भने , ‘हामीले धेरै पहिला देखि यो घरको तयारी गरेका हौं, कोभिडको महामारीले धकेल्लियौं, यो घरले महानगरभित्रका उत्पादनलाई विदेश पुर्याउन सहयोग गर्छ।’

कला नगरको एक महत्वपूर्ण तत्व मध्ये कोसेली घर एक भएको उनले प्रष्ट पारे। ललितपुर महानगर विश्वको ३५ औं कला कला नगरी हो।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यल कोसेली घर सञ्चालन गर्नुको मुख्य उद्देश्य हस्तकलाको संरक्षण भएको बताइन्। 

हस्तकर्मीले यो पेशा छोडेर अन्य पेशा अंगालिरहेको अवस्थाप्रति इंगति गर्दै प्रत्येक घरलाई आत्मनिर्भर बनाउने हस्तकलाकर्मको  संरक्षणका गर्न महानगरले गरेको यो सुरुवात भएको प्रष्ट पारिन्। 

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले ललितपुर महानगरले सह्रानीय काम गरेको बताए। 

ललितपुर महानगरको समृद्धिमा यल कोसेली घरको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो। 

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले कोसेली घरले सीप र पूँजीलाई बजारसँग जोड्ने बताए। 

कोसेली घरको प्रचारप्रसारका लागि एयरलाइन्सको मुखपत्रमा सामग्री समावेश गर्ने विषयमा छलफल भएको बताए।

यसैगरी पर्यटकलाई यो कोसेली घरमा ल्याउनका लागि यात्रा विवरणमा यो घर भ्रमणको व्यवस्था मिलाउन सरोकारवालाहरुसँग छलफल भइरहेको बताए।

ललितपुर महानगर वडा नंं.२६ का वडा अध्यक्ष एवम हस्तकला प्रबद्र्धन समितिका सदस्य सुरेश महर्जनले कला नगरीको पहिचान संरक्षण गर्न कोसेली घरको भूमिका महत्वपूर्ण हुने बताए।

हस्तकला संघका अध्यक्ष प्रचण्डा शाक्य, ललितपुर हस्तकला संघका अध्यक्ष रमेश सिंह लगायतले कोसेली घरले हस्तकलाको संरक्षणसँगसँगै हत्कलाकर्मीलाई यो पेशामा लाग्न प्रोत्साहित गर्ने प्रष्ट पारे।

प्रकाशित मिति: : 2023-04-18 15:19:00

प्रतिकृया दिनुहोस्