प्रिय दाजु,
म मात्रै होइन, जीवन र जगत बडो कठिन संघर्षबाट गुज्रिरहेको छ। प्रकृति रोइरहेको छ। विश्व आर्थिकमन्दिबाट आक्रान्त भएको छ। यसका बाछिटाहरु हामीसम्म पुग्नु स्वभाविक पनि हो। कोभिड– १९ पश्चातका दिनहरुबाट सुरु भएको यो संकट बिचमा केही तंग्रिन खोजेको थियो, बिचमा रुस–युक्रेन युद्धले झन थला पारिदिएको छ, अर्थतन्त्रलाई। यो विषम चुनौतिहरुसँग कसरी जुध्ने भन्नेमा हामी सबैको दिल र दिमाग लगाउनु जरुरी ठानेर यो पत्र लेख्दैछु। यसमा टिकाटिप्पणी र रचनात्मक सुझाव दिई मेरो मनलाई सबैको मन जस्तो शान्त बनाउन सहयोग गरी दिनु हुनेछ। म त्यो सुझावको प्रतीक्षामा हुनेछु।
पुँजीवाद र समाजवाद भन्ने दुई वटा शब्द छन्, जो आम नेपाली जन–जनसम्म पुगेका छन्। चिया पिउँदै गरेको एकजना गाउँका काकालाई सोधेँ– ‘काका कुन पार्टी ठिक होला ?’ उनले सरल भाषामा उत्तर दिए, ‘सबैको हितलाई ध्यानमा राख्ने, समाजवादको वकालत गर्ने, राम्रो विचार भएको पार्टी नै हाम्रो हो’ (उनले कुनै पार्टीको नाम लिए तर म त्यो पार्टीको नाम लिन चाहदिनँ)। ती काका जो दुई छाक खाना खानका लागि साहुको घरमा मजदुरी गर्छन् तर राजनीतिक भाषामा नेताको स्पष्ट गन्ध बोकेर हिँडेका छन्। समाजवादको बडो प्रशंसा गर्दछन्। ‘समाजवाद के हो काका ?’ मैले सोध्दा उनको जवाफ थियो– ‘त्यो त नेतालाई सोध्नु पर्दछ’। समाजवादको वकालत गर्ने नेताहरुले जनताहरुलाई त यस्तो सम्मोहन (हिप्नोटाइज) लगाएका छन् कि जनताहरु आफू भोक–भोकै भए पनि नेताको पिछलग्गु हुन बाध्य छन्। यो एक उदाहरण मात्र हो। यस्ता थुप्रै उदाहरणहरु छन, त्यो तपाईं, हामी र जनता सबैलाई थाहा छ तर नेताको बोलीमा बोली मिलाउन विवश छौँ। यो एक गणतन्त्रको राम्रो नमुना हो वा मजाक ? गणतन्त्रको खुसी कसले मनाउने ? म जस्ता आलोचकले वा त्यसले जो नेताप्रति साह्रै आशावादी छ तर केही पाउँदैन।
अर्थतन्त्र डामाडोल भएको अवस्थामा नेताहरु किन अर्थतन्त्रको सही प्रयोग गर्न जान्दैनन् भन्ने हो। सरकारले पठाएको रकम आफ्नो मनमर्र्जीले जथाभावी निर्णय गराउँछन्। यसको सही सदुपयोग किन हुन सकिरहेको छैन ? आजभन्दा २ वर्ष पहिला करिब एक करोड खर्च गरेर बनाएको डिप बोरिङ १ वर्ष नपुग्दै बन्द भयो। एकपटक मर्मतका लागि १० लाख चाहिँदो रहेछ। एक करोड स्वाहा। अर्को पालिकामा ६५ लाख स्वाहा। अर्को ४ किलोमिटर तल खोलाबाट माथि डाँडामा पानी तान्ने पाइप लगाइएको थियो, मेसिन जोडिएको थियो। पानी तान्न असफल भएपछि एक करोड माथिको अर्को योजना स्वाहा। जनताको पहुँचका लागि भनेर खनिएका सडकहरुको ग्रेड नमिलेपछि ५०औं लाख खर्च गरेर बनाएको सडक फेरि क्यान्सिल गरेर नयाँ सडकमा ५० लाख थप गरी खनिएका छन्। पुरानो खनिएको सडकको ५० लाख स्वाहा।
कृषिको कुरो गर्छु, पहुँचका आधारमा अनुदान लिएका दुध डेरीदेखि फूल नर्सरीसम्मका सबै अनुदान रकमहरु झ्वाम पारेर कागजमा सिमित गरेका ब्यक्तिहरुले योजनाहरुबाट करोडौं अनुदान रकमहरु स्वाहा। वास्तविक कृषकले उत्पादन गरेका कृषि वस्तुहरुले बजार नपाउँदा कृषकका सपनाहरु स्वाहा। अपेक्षा गरे अनुरुप बोल्न नसक्ने निरीह कृषकहरु जहिले पनि राज्यको अनुदानबाट बञ्चित भइरहन्छ तर बिचको दलाल पुँजी बोक्ने ठेकेदारहरु रातारात मालामाल भएका उदाहरणहरु मसँग प्रशस्त छन्। कुनै दिन हिसाब फियरस्त आउने नै छ। आखिर कमिसनका लागि यति साह्रो त गर्नु त नहुने हो। यसमा कसको दोष हो, योजना कर्मचारी वा नेताको गलत निर्णयको ?
स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वास्थ्यका विषयमा अलि बढी जानकारी राख्न खोज्ने एक विद्यार्थी भएका नाताले समुदायका जनताहरुको स्वास्थ्य अवस्था र उनीहरुको चेतनाको अवस्था हेर्दा साह्रै दयनीय छ। हामीले शुद्धपानी पिउनुपर्छ भनिरहेका हुन्छौँ, जनतालाई वास्ता हुँदैन। हामी साबुन पानीले हात धुन भनिरहेका हुन्छौँ, जनता त्यो विषयलाई कुनै चासो राख्दैनन्। हामी चर्पी प्रयोग गर्न भन्छौँ तर सफा चर्पीमा दिसा गर्ने बानी गर्दैनन्। यस्तो किन होला भनेर निकै मेहेनत गरेर अनुसन्धान गरियो। परिणाम हेर्दा उही नेता र नेतृत्व गलत सोचका कारण यस्तो भएको पायौँ। स्वास्थ्य र सरसफाइका क्षेत्रमा जनता सुसूचित भएमा कतै त्यसले पार्टीका कार्यकर्तामा कमी हुने त होइन भन्ने आशंका। स्वास्थ्य र सरसफाइका योजनाहरुलाई प्राथमिकता नदिनु।
कुनै कडा रोग लागेमा जनताको ठुलो धनराशी खर्च हुने गर्दछ। किड्नी फेल, मुटुमा समस्या, कलेजोमा समस्या, मष्तिष्कमा समस्या, क्यान्सर लगायतका रोगहरुमा जनता उपचार गर्न सक्षम हुँदैन। राज्यले दिने सुविधाबाट उपचार पुग्दैन। यस्तो हालत भएको अस्थामा जनताले उपचार गरी हालेछन् भने पनि आर्थिक कङ्गालिकरणमा पुग्ने र उपचार नगरेमा अकाल मृत्युलाई स्वीकार्नु पर्ने जनताको बाध्यता। यस्तो अवस्थाको निरकरण गर्नका लागि गम्भीर प्रकारका रोगहरुको समुदायमा खोजी गर्नुपर्छ र प्रारम्भमै पत्ता लगाउनुपर्छ भनि गाउँ गाउँमा ल्यावका साथीहरु पठाउँदै गर्दा राजनीतिक नेताहरुले गरिएका कामलाई शंकाको घेरामा राखेको देख्दा अचम्मित हुनु स्वभाविक हो। मेरो वडा हो, काम गर्नका लागि मेरो अनुमति लिनुपर्छ, अन्यथा स्वास्थ्यकर्मीहरु निकालि दिन्छु जस्ता धम्की दिने नेताहरु कसका लागि काम गर्दैछन् होला ? बुझ्न सकिएको छैन। हाम्रो चाहना त केबल नागरिकलाई औषधि उपचारका नाममा आर्थिक कङ्गालिकरण हुनबाट बचाउनु नै हो। नेताको उद्देश्य चाहना के होला ?
शिक्षाको बिकराल खाडलका कुरा गर्दा निकै पीडा महसुस हुन्छ। सिधा र सरल हिसाब छ। सरकारीमा एकजना प्रा.वि. शिक्षकको तलब बराबर निजीतिर दुई जनाको तलब हुन्छ। सरकारीतिर मा.वि.को शिक्षकको ५० देखि ६० हजार मासिक तलब भत्ता हुन्छ तर निजीतिर २५ देखि ३० हजार हुन्छ। सरकारी भवन चिल्ला र आकर्षक छन्। पुराना भत्काउँछन, नयाँ बनाउँछन। फेरि भत्काउँछन्, फेरि बनाउँछन्। सरकारी विद्यालयको मुख्य उद्देश्य भौतिक संरचना निर्माण बनिरहेको छ। यसमा सबै निकै जोडतोडले लागेको देखिन्छन्। निजीमा भवन जस्तो सुकै भए पनि गुणस्तरीय नतिजा आउँछ। सबै सुविधा सरकारीमा हुँदा नतिजाको कुरा गर्न लाज छ। निजीका विद्यार्थीहरुको नतिजा हेर्दा सरकारी विद्यालयतिरको नतिजा नगन्य छ। आकर्षक तलब र आकर्षक भवन हुँदा पनि गुणस्तरीय नतिजा नदिनुमा दोष कसको ? केही सुविधा नदिँदा पनि आकर्षक र गुणस्तरीय नतिजा ल्याउन निजी विद्यालयको चमत्कार के थियो र अहिले पनि छ ? यसका केही उदाहरणहरु छन्। सरकारी विद्यालयको गुणस्तर खस्कँदा आखिर फाइदा हुने त निजीलाई नै हो। गुणस्तर खस्काउनका लागि सरकारी विद्यालय परिवारसँगको कतै सेटिङ त छैन ? भन्ने आशंका सबै बुद्धिजीविले गर्ने गर्छन्। अर्कातिर सरकारी तलब खुवाउनका लागि आफ्ना भाइ–भारदार पाल्नका लागि कतै राजनीतिक नेताले गर्ने शिक्षक नियुक्तिमा गर्ने बेइमानी त होइन ? जिन्दावाद र मुर्दावाद भन्दै गाउँ गाउँमा भित्र–भित्र राजनीति गर्ने र मुठ्ठि कसेर अधिकारका लागि लडाइँ गर्ने तर कर्तव्य बिर्सने कतै शिक्षकको राजनीतिकरण त होइन ? यी प्रश्नहरुको खोजी गर्न तपाईंलाई नै छोडेँ दाजु।
मेरा गाउँका हजुरबुवा भारतको कुनै शहरमा बच्चपनदेखि चौकीदारी गर्थे। उनले आफ्नो जीवनकालमा विवाहसमेत गर्न पाएनन्। गरीबीका कारण बालापनमै घर छोड्का उनको बुढेसकालमा अस्ति मात्र अचेत अवस्थाको जिउँदो शरीर घर आइपुग्यो। घरमा पुगेको केही समय पश्चात उनको प्राण गयो। यस धर्तीमा जन्मेर उनले के पाए ? यस धर्तीका लागि उनले के दिए ? यस धर्तीमा जन्मनु र प्राण त्याग गर्नुको रहस्य के थियो ? कलिलो बैंस जवानी र प्रौढ अवस्था सबै बाध्यतामा अर्काको देशमा गुजार्नुपर्ने उनको के रहर थियो ? यस्ता थुप्रै नागरिकका अलिखित कथाहरु छन, जसको उत्तर न म दिन सक्छु न सरकार दिन सक्छ। खाडी मुलकमा गएका एक जवानको काठको बाकसमा लास आउँदा उसका परिवारका सपनाहरु के भए होलान ? खाडी जानु रहर थियो वा बाध्यता ? रहर त ऐसको जिन्दगी बिताउनका लागि हो। घरधन्दा चलाउनेका लागि बाध्यता नै हो। बाध्यता गरीबका लागि हो। गरीबका लागि सरकार हुनुपर्ने हो। तर, छैन। विदेश नजानु पनि किन ? अस्ति मात्र मेरो गाउँका दाज–ुभाइले फलाएको सात सय क्वइन्टल आलु न भण्डारण गर्न सकिँदैछ, न त उचित मूल्यमा बिक्री हुन्छ। अनि यो देशमा के का लागि बस्ने ? यसको जिम्मेवार को ?
यस्ता प्रश्नै प्रश्नले भरिएका गाथाहरु तपाईं समक्ष पेश गरेको छु। हरेक प्रश्नको उत्तर चाहन्छु। अन्तिम प्रश्न सोध्न चाहान्छु। तपाईं हामी जस्ता अब कता जाने होला ?
तपाईं एक समालोचक भएका नाताले मेरा जिज्ञासाहरुमा ध्यान दिनु हुनेछ भन्ने आशाका साथ बिदा हुन्छु।
उही तपाईंको भाइ
सुमन सर
लेखकलाई प्रतिक्रिया दिनुहाेस्: gnbista@gmail.com
गणेशबहादुर बिष्ट (सुमन सर) थप लेखहरु:
सापेक्षित रुपमा उत्तर अपेक्षित नभए पनि नपरपेक्षित रुपमा यी तमाम सवाल का Redymade प्रतिक्रिया : "चेत खुल्ने गरि नपढाईएकाे शिक्षा, ईमान र जवाफदेहिता हराएकाे राजनितिक पध्दति, दास मनाेबृत्तिमा हुर्केकाे दलिय कार्यकर्ता, बिकृत पुंजिबादकाे चुनाैतिपुर्ण आनन्द नै अन्तिम सत्य ठानेकाे पुरातन र अचेत समाज बिकासकाे प्रारुप नै यी सवालका अन्तरबस्तु हुन जस्ताे लाग्छ, ईतिहासका प्रतेक घट्ना र परिघट्नाकाे व्दन्दात्मक विश्लेषण गर्ने बैज्ञानिक चेतनाकाे बिकास संगै समाज रुपान्तरण अवश्यम्भाबि हुन्छ,