पीडामा हाँसिरहेको राज्य

BreaknLinks
BreaknLinks

अचेल अनेक बहाना-बाजीमा धकेलिँदै छन् जिन्दगी पाटाहरू। जता जाउँ राजनीतिका कुरा, बैंकको ब्याजका कुरा, बिचौलिया, दलालहरुका कुरा। यस्तैयस्तै परिवेशकाे कारण यो मनले पनि दिनभर अनेक कुरा खेलाइरह्यो। र, माग्न थाल्यो अलिकति सोमरस। पिउँदै गर्दा अलिकति बढी पिइएछ नै क्यार। राति २ नबज्दै निन्द्रा खुलिदिन्छ। फ्रेस हुन बाथरुम तिर जान्छु। अलिक रिङ्गटा लाग्न थाल्छ। निन्द्राले छोडिदिन्छ।

घरका अन्य चारवटै कोठाहरुमा ताला लागेका छन्। परिवारका अन्य सदस्यहरु कोही छैनन्। सबै आ-आफ्नो काममा घर बाहिर छन्। म त्यसै पनि बाथरोगले सताइरहेको मान्छे। डाक्टरले रक्सी पिउन हुँदैन भनेर सुझाव दिएको धेरै भइसक्यो। किरिया पुत्रीले खानेकुरा बारेझैँ सत्र वर्षसम्म त कतिपय खानेकुराहरु बारेँ। तर आज आएर सकिनँ।

हिजोका दिनहरु सम्झेर झन निरास मन भयो। यत्तिको निरासापन जिन्दगीमा कहिल्यै आएको थिएन। घर, परिवार, समाज, देश सबै देखेर दिक्क लाग्न थालेको छ। कर लिने र ब्याज लिने दलालबाहेक कोही रहेनन् देशमा। असल र सभ्य नागरिकहरु कता हराए होलान् भनेर चिन्ता लाग्छ। गाउँमा जान्छु त राजनीतिले गिजोलिएको छ। एकअर्कोको पर्कादेखि मलामसम्म जान छोडेका रहेछन्। आफ्नो पार्टीबाहेक केही भन्दा रहेनछन्।

गाउँमा राजनीति गिजोलल्याउनेहरु को हुन्? भनी खोजी गर्दै जाँदा गाउँ छोडेका नेता र गाउँमा फर्कन नचाहाने केही सुकिला मुकिलाहरुको जमात देखियो। गाउँमा असल कामको सुरुवात गर्यो भने विरोध गर्नका लागि एकएक जना प्रतिनिधि राखेका रहेछन्। असल कार्य गर्न खोजे विरोध गर्न फोनबाटै निर्देशन दिँदा रहेछन्। साना-साना आर्थिक प्रलोभनमा गाउँका महिलाहरुलाई आफ्नो मुठ्ठीमा पार्दा रहेछन्।

गाउँको समाज आजकाल राम्रोभन्दा नराम्रोतिर बढी अभ्यस्त भएको सहजै देखिन्छ। गाउँ-गाउँ मिलेर समाज र समाज मिलेर राज्य बन्ने हो। देश भनेको चार किल्लाको सिमानामा बाँधिएको माटो र ढुङ्गाले बनेको फगत जमिन न हो। नियम र कानुनले देशलाई देश बनाउँछ र बचाउँछ नत्र फगत चार किल्लाको भूगोल मात्र हो देश।

देशमा तीन दिनभित्र तीन जना व्यापारीले ऋण तिर्न नसकेर, दलालले पुँजी खाइ दिएपछि आत्मदाह र आत्महत्या गरेका छन्। इलामका प्रेम आचार्यले दलालबाट फसेका कारण सुझाव नोटसहित, विराटनगरका मोहन न्यौपानेले व्यापारमा फसेर सुसाइड नोटसहित र सप्तरीका रामदेव मरिकले ऋण तिर्न नसकेर आत्महत्या गरेका छन्। केही दिनयता मात्र मैले नाम नजानेका १८ जनाले आत्महत्या गरिसकेका छन्। यसका बाछिटाहरु गाउँ समाजमा देखापर्न थालिसकेका छन्।

अहिले राज्यले युवाहरुलाई रोजगारी दिँदैन। बालबालिका पढाउनुपर्छ भन्छ। गुणस्तरीय शिक्षा दिन सक्दैन। निशुल्क स्वास्थ्य भन्छ, गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्दैन। उत्पादन गर भन्छ, उचित योजना दिन सक्दैन। अहिलेको राज्यको परिभाषा भनेको नागरिकको कर र ब्याजमा सत्ताको सस्वादन गर्ने सीमित झुण्डहरुको दादागिरिले चल्ने शासन प्रणाली भएको छ। देशमा रोजगारी दिन नसक्ने, एक किसिमले विदेशबाट लखेटिएका युवा-युवतीहरुले पठाएको रेमिट्यान्सबाट मोज गर्ने प्रवृति छ, सरकारमा।

अहिले गाउँमा केवल बुढापाका, केटाकेटी र निरिह महिला मात्र छन्। जसको आर्थिक उत्पादनमा कुनै योगदान हुँदैन। काम गर्नका लागि जुर्मुराएर कुनै युवा गाउँ फर्किहालेछन् भने पनि सुकिला मुकिलाहरुले राखेका केही दलालहरुले बसिखान दिँदा रहेनछन्। सकेजति विरोध गर्ने, गाउँमा जनता भड्काउने, युवाहरुको उछितो काट्न लगाउने काम गर्दारहेछन्। यस्तो अवस्थामा गाउँमा बसिखान नसकेर फेरि पलायन हुनुपर्ने अवस्था मेरै आँखाले देख्नुपर्यो। गाउँ त फटाहाहरुको जमात भइसकेको रहेछ। समाज छियाछिया भइसकेको रहेछ। अहिले गाउँअनुसारको देश र देश अनुसारको गाउँ भएकोमा म अनविज्ञ रहिनँ।

म दुई वर्षदेखि दश रोपनी जमिनमा कृषि उत्पादन गर्नका लागि प्रयत्यनशील छु। केही वर्षसम्म गाउँमा आमा एक्लै बस्नुहुन्थ्यो। एक दिन आमाको गुनासो सुनेँ, 'तिमीहरु सबै गाउँ छोडेर हिँड्यौ फोन पनि गर्दैनौ। सके गरी खान्छु, नसके मर्छु। तर, म गाउँ छोड्दिनँ। तिमीहरुले भनेबमोजिम गाउँबाट बाहिर जाँदिनँ।'

हुन पनि तीन छोरा र सात छोरीकी धनी मेरी आमा अहिले गाउँमा एक्लो जीवन व्यतित गरिरहनुभएको छ। पीडा त होला तर पीडा पोख्नु हुन्न। बरु पीडा लुकाएरै भए पनि घरिघरि मुस्कुराउनु हुन्छ। यस्तो पीडाजन्य अभिव्यक्तिले मलाई गाउँ फर्किन बाध्य बनाएको हो। भाइलाई कृषि काम गर्ने निहुँमा आमाका लागि भए पनि फर्काउने निधो गरेँ। हुन त हामीहरु छुट्टाछुट्टै भूगोलमा बस्छौं।

भाइहरुले अहिलेसम्म मैले भनेको नमानेको कुनै दिन छैन होला, यसमा गर्व पनि गर्छु। कृषि उत्पादन र आर्थिक समृद्धिका लागि ऊ गाउँ फर्क्याे। राज्यले पनि उत्पादन गर है, हामी सहयोग गर्छौं भन्ने नारा ल्याएको ल्यायै छ। गाउँमा गरिएको उत्पादन र त्यसको बजारीकरणको योजना नबनाएर गरिएको उत्पादनले निकै नै घाटा दिँदोरहेछ। गाउँमा सडक पुगेको छ तर खोलामा पुल छैन। गाडी भाडा त्यस्तै महङ्गो छ। कृषकहरु मारमा छन्। कृषि सामान किनबेच गर्ने व्यापारीले भने अधिक नाफा कमाइरहेका छन्।

दश रोपनीमा लगाएको आलुको उत्पादन लागत मूल्य, खरिद मूल्यभन्दा बढी भएको अवस्था छ। एक किलो आलुको बिउको खरिद मूल्य २० (अनुदानबाहेक) र गरामा पुर्याउन्जेलसम्म ढुवानी भाडा सात रुपैयाँ गरी २७ रुपैयाँ पर्न आउँछ। जग्गाको भाडा, गोडमेलको ज्याला अनि औषधि र अन्य करहरु जोड्दा किसानलाई गरामा आलु उत्पादन नै ३२ रुपैयाँ जति लागत पर्न जान्छ। उत्पादित वस्तु बजार पुर्याउन्जेलसम्मको ढुवानी भाडा जोड्दा ३७ रुपैयाँ प्रतिकिलो पर्न जान्छ।

बजारका व्यापारीहरुको भाषा सुनिन्छ, ‘आलु प्रशस्त उत्पादन भएको छ, तपाईंले भनेको रेटमा हामी लिन्नौं।’ ती व्यापारीहरुले किसानबाट २० देखि पच्चीस रुपैयाँसम्ममा आलु खरिद गर्दछन् र ग्राहकलाई प्रतिकिलो साठीमा दिन्छन्। त्यसबेला राज्य भने टुलुटुलु हेरी बस्दछ। कृषि उत्पादन गरेर मात्र पुग्दो रहेनछ। त्यसको बजार र लागत खर्चको अनुमानित योजना नबनाउने हो भने कृषकले आत्मदाह वा आत्महत्या गर्नुबाहेक केही हुँदैन।

सरकार सञ्चालन गर्ने केही जनप्रतिनिधि र तिनको योजनामा चल्ने कर्मचारी कमिसन 'कति र कहाँबाट' भन्ने प्रश्नमा मात्रै सीमित भइरहेका हुन्छन्। मैले आफ्नै आँखाले देखेको छु, आलुको ढुवानी भाडाका बिल स्थानीय सरकारमा गएका छन्। बोरा खरिदका बिल स्थानीय सरकारमा देखिन्छन् तर कृषकले ढुवानी भाडा र बोराको बन्दोबस्त लगायत सबै आफैले गर्नु पर्ने हुन्छ। यस्तै कारणले गर्दा पनि होला कृषकहरु आत्महत्या गर्ने।

कृषकलाई सूचनाको हक भन्ने थाहा छैन। कृषकलाई लागत खर्च अनुमानको योजना बनाउन आउँदैन। कृषकलाई सरकारले दिने अनुदानको सूची थाहा हुँदैन। उ त फगत गराहरुमा आफ्नो पसिना काढेर माटोका डल्लाहरु फोर्न आउँछ। माटोमा बिउ रोप्न आउँछ, अनि बोटहरु गोड्न आउँछ। कृषक भनेको निरपेक्ष आधारमा चलेको, आँखा कान नभएको, एक रिमोट गाडी हो जो बोल्न सक्दैन, काम गर्न मात्र सक्दछ। कृषकलाई चलाउनेहरु धेरै छन्। कृषकका नाममा योजना बनाउने माफियाहरु धेरै छन्। कृषकका नाममा अनुदान गएकै छन्। कृषकका नाममा लुट्ने कार्य गरेकै छन्। तर कृषक लुटिएको लुटियैछन्।

मैले कृषि र कृषकका आवाजहरु बोलेको धेरै भएको छैन। करिब २८ वर्षको नौकरीको अनुभवमा कृषि क्षेत्र र कृषकका दुःखहरुको अध्ययन गर्ने मौका पाएको थिइनँ। गत वर्षदेखि गाउँमा गई आमासंग कृषि कार्य गर्ने रहर पलाएका कारणले यसको अनुसन्धानतिर बढी चासो राखेको हुँ। स्वास्थ्य क्षेत्रमा बालबालिकाहरुलाई, सुत्केरी आमाहरुलाई बचाउनुपर्छ भन्ने दिमागले कृषकहरुलाई बचाउनुपर्छ भन्ने सोचेन। कृषकका पीडा सुत्केरीका पीडाभन्दा बढी जरजर रैछन् भन्ने राज्यले बुझेको होला तर मैले बुझेको रहेनछु।

मानिसहरु गरिब किन हुन्छन् र दलालहरु किन समृद्ध हुँदै जान्छन् भनी एक पटक कृषक भएर हेर्न आजका दिनमा आएर अनुरोध गरिरहेको छु। चितवनका सडकमा कृषकले दूध पोखेको, टमाटर फालेको त सुनेको थिएँ तर अहिले एकै वर्षको अनुभवले मलाई पनि सडकमा ल्याई २० टन आलु फाल्न मन लागिरहेको छ। लागत र खर्चको अनुमान गर्न नसक्ने किसानका लागि योजना बनाउन राज्यले सहयोग गर्नुपर्छ वा पर्दैन? मेरो जिज्ञासा त्यतातिर केन्द्रित छ। उत्पादनका क्षेत्रहरु पहिचान गरेर सिँचाइदेखि पोखरी दिनुपर्नेमा स्थानीय सरकार पहुँचका भरमा पानी नै नभएको ठाउँमा पोखरी बनाउन उद्दत देखिन्छ, अनि कसरी हुन्छ देशको विकास?

म काम गर्दै जान्छु। सचेतनापूर्वक काम गर्ने योजना छ। नाफा गर्नु र गराउनु मेरो पहिलो दायित्व हो भने नाफा हुन नसके कम्तिमा लगानी भए पनि उठाउनु मेरो कर्तव्य हो। केही मुठ्ठीभरका फटाहाहरुले सरकारलाई नाफा र घाटामा चल्ने व्यापारिक कम्पनी बनाएका रहेछन्। जहाँ आफ्नो व्यक्तिहरुलाई पोस्न र कमिसन खानबाहेक अरु व्यापार छैन। पुँजीमा दलालीकरण व्याप्त छ। मनस्थिति भ्रष्ट छ। राज्यको मानसपटलमा सामाजिक उन्नतिका सपनाहरु छन्। आर्थिक समृद्धिका रेखा कोरिएका छन्। सुखी नेपाली र समृद्ध देशका परिकल्पना छन्। यथार्थमा जनताको आत्मदाहको विवश चित्र टल्किन्छ।

प्रकाशित मिति: : 2023-02-12 22:10:00

प्रतिकृया दिनुहोस्