जनप्रतिनिधिको कुटिलता

गणेशबहादुर बिष्ट (सुमनसर)

नवदुर्गा- ४, डडेलधुरा
BreaknLinks
BreaknLinks

लामो समयपछि कुनै पार्टीका एक हुल कार्यकर्ता घरमा आउँछन्। कार्यकर्ताबीच पार्टी र नेताका चाकर बनेका निरीह कर्मचारीहरूको समेत उपस्थिति देखिन्छ। हाम्रो नेपाली संस्कारमा गरिने आतिथ्यतामा कुनै कमी गरिएन। स्वागत र बिदाइ बीचको समय मेरा लागि अविस्मरणीय र ज्ञानवर्धक बन्यो। हामी नेपालीहरू चियाबाट स्वागत गर्छौँ। बिदाइ गर्दासम्म त मानिसिक सन्तुलन नै खलबल्याउने गरी मदिरापान गर्छौँ अनि गराउँछौँ। त्यो नियमबाट म पनि अछुतो रहन सकिनँ। म आफू सराब पिउदिनँ तर पिएका मानिसहरूसँग सङ्गत गर्न औधी मनपर्छ।

समय घर्किदै थियो। मदिराको चुस्की र चुरोटको धुँवाले अलौकिक स्वर्गको कल्पनामा विलीन भएका थिए, मित्रहरू। तिनका कुरा सुन्दा लाग्थ्यो, संसारमा अहिले नै उत्पात मच्चाइ एक रातमै गाउँलाई शहर बनाउन तल्लीन छन् उनीहरू। सराब पिउनु र जड्याहा बन्नुमा फरक रहेछ। उनीहरू पछिल्लो घडिसम्म जड्याँहा बनिसकेका थिए। जड्याँहाहरूका बीचमा प्रमुखले (स्थानीय जनप्रतिनिधि) भने, ‘यी कर्मचारीहरूले काम गर्न दिदैनन्। कर्मचारीहरू सरकारअनुसार परिवर्तन हुन सिक्नुपर्छ। अहिले नयाँ पार्टीको सरकार बनेको छ। पुरानो पार्टीसँग सेट भएका कर्मचारीहरूले नयाँ पार्टीको सरकारलाई सहयोग गरेका छैनन्। जनप्रतिनिधिहरूलाई उचाल्ने बसाल्ने एक अर्काका कुरा लगाएर आफू फाइदा लिने कार्य कर्मचारीहरूबाट नै भइरहेको छ। यिनीहरूलाई जसरी पनि ठेगान लगाउनुपर्छ।’ उनी बोल्दै थिए। सबै कार्यकर्ताहरू ताली बजाउँदै थिए। सँगै पिइरहेको निरीह कर्मचारी पनि टाउको हल्लाउँदै थियो, मानौँ ऊ पनि त्यसै पार्टीको एक अभिन्न कार्यकर्ता हो।

‘ओ खरदार साप, यी विपक्षी कर्मचारीहरूको नाम दिनोस् त यिनीहरूलाई भोलि नै ठेगान लगाउँछु। भाेलि कार्यपालिका बैठक बोलाउँछु। यसपाला त तिनीहरूलाई ठेगान लगाएरै छोड्नुपर्छ। हिजोका दिनमा चुनावमा तिनीहरूले गरेका हर्कतहरू कहाँ बिर्सेका छौँ र। यिनीहरूले अर्को पार्टीलाई गरेको समर्थन उठाएको चन्दा र चुनावका बेलामा गरेको हर्कत आँखाअगाडि आइरहेकै हुन्छ। यी कर्मचारीमध्ये अस्थायी वा करार छन् भने हामी हटाएरै छोड्छौँ, बाँकीलाई सरुवा गर्छौँ,’ एक घुट्को सराब घुट्केर प्रमुख बोले।

निरीह कर्मचारीको आवाज सुनिन्छ, ‘हुन्छ हजुर। यी सबै कर्मचारी फटाहा हुन। यिनलाई हटाइदिए हुन्छ। बरु म नाम दिन्छु हजुरलाई।’ उसले झोलाबाट डायरी निकाल्यो। सबै कर्मचारीहरूमध्ये हटाउनुपर्नेलाई रातो गोलो लाउँदै गयो। राख्नुपर्ने वा पार्टीका समर्थकलाई गोलो लगाएन। सबैको हिसाब किताब प्रमुखसमक्ष बुझायो। प्रमुखले सर्रर हेर्दै भन्यो, ‘यी सबैको हिसाब भोलि हुन्छ।’ त्यो परिवेशको प्रत्यक्षदर्शीमा सराब नपिउने नाथे शुभचिन्तक थिएँ म। सबै गतिविधिलाई गहिरोसँग हेरिरहेको थिएँ। यिनका कामहरूको मूल्याङ्कन गरिरहेको थिएँ।’

सराबपानको समारोह सकियो। सबै आ-आफ्नो घरतिर गए। सबैलाई बिदाइ गरेर ओछ्यानमा पल्टिएँ। निन्द्रा फिटिक्क परेको हैन। जनप्रतिनिधिहरूको रवाफ, कर्मचारीको निरीहपन र लम्पट कार्यकर्ताको ताली मेरो मानसपटलमा घुमिरह्यो। यो देश किन बिग्रियो होला भनेर मैले सोच्न थालेँ। देश सपार्न सकिन्छ कि भनेर कल्पना गर्न थालेँ। अहँ ! देश सप्रिने कुनै छाँटकाँट देख्न सकिनँ। देश त सबै मिलेर भड्खालोमा हालिसकेछन् भन्ने महशुस गरेँ। कोल्टो फेरिरहेँ। लामो सास लिइरहेँ। रातिको तीन बजेसम्म निन्द्रा नै परेन। जनप्रतिनिधिहरूले चुनाव लड्दा गर्ने गरेका झुटा वाचाहरू सम्झेँ। उनीहरूले ठुल्ठुला स्वरमा दिएका चर्का नाराहरू सम्झेँ। उनीहरूले कार्यकर्तालाई दिएका आश्वासनहरू सम्झेँ। फेरि चुनाव जितेपछि सराबको चुस्किमा सङ्किर्ण सोच बोकेर अहंकारको श्रीपेच पहिरिएर गरिएका गफ सम्झेँ। यता जनताका सास्ती सम्झेँ। दुई छाक पेटभरि खान नपाउने निरीह कृषकका फाटेका खुट्टा सम्झेँ। टाला हालेर लगाएका आमाहरूका चोला सम्झेँ। गर्भमा बच्चा र पिठ्युमा भारी बोकेर असिनपसिन भएका आमाहरू सम्झेँ। क्यान्सर दम जस्ता रोगहरूले थला परेका गरीब दाजु-भाइहरू सम्झेँ। चुनावका बेला भाडामा प्रयोग भएका लम्पट युवाहरू सम्झेँ। उता गाउँमा वितण्डा मच्चाउने गाउँका नालायक मुखियाहरू सम्झेँ। सम्झिदासम्झिँदै कुन बेला अचेत भएछु, थाहा भएन। बिउँझिदा बिहानको ९ बजिसकेको थियो।

हतार-हतार हिजो प्रमुखले गरेको कुरालाई फ्लाेअप गर्न निस्किएँ। निरीह कर्मचारीले रातो लगाएका नामलाई के गर्छन् होला भन्ने कौतुहलता थियो। १० बजेर २० मिनेटमा प्रमुखले तिनै रातो गोलो मध्येका एकजनालाई कार्यकक्षमा बोलाए। के कुरो भयो कुन्नी ? ती कर्मचारी हाँस्दै निस्किए। निकै नै फुर्तिला देखिन्थे। पहिलाको भन्दा पनि अझ गर्वित महसुस गररे हाकिमको कार्यकक्षबाट बाहिरिए। ती कर्मचारीलाई कार्यकक्षमा गएर सोधेँ, ‘के-के कुरो भयो प्रमुखज्यूसँग।’ उनले हाँस्दै जवाफ दिए, ‘हेर्नोस् यो देशमा जन प्रतिनिधिहरू आफ्नो आचरण र सिद्धान्तमा बसेका कोही पनि छैनन्। जनप्रतिनिधिहरूले जनतालाई पैसा दिएर भोट किनेका हुन्छन। तिनै भोटको किम्मत हामीबाट असुल गर्न चाहन्छन। हामीले उनीहरूका इच्छा र चाहना पूरा गरी दिनुपर्छ। बाँकी आदर्श, सिद्धान्त भन्ने कुरा त वकवास मात्र हुन। आदर्श, नैतिकता, सिद्धान्त भनेका किताबमा हुने विषय हुन। तिनले भात पाक्दैन। घर बन्दैन। त्यसैले सबैलाई एकातिर थन्क्याएर प्रमुखको इच्छा र आर्थिक चाहना पूरा भयो भने केही हुँदैन, हेर्नुहोला। उनीहरू हामीमार्फत् रकम असुल्न चाहन्छन्। के हामीले घर/खेत बेचेर उनीहरूको आर्थिक आवश्यकता पूर्ति गर्न सक्छौँ त ? त्यसका लागि आर्थिक अवचलन त गर्नैपर्छ।’ म एकोहोरो सुनिरहेँ। अन्तमा उनले भने,‘तपाईंं हेर्दै जानुहोला, प्रमुखले मलाई यस कार्यालयमा अझ आकर्षक स्थानमा राख्ने छन्।’

म मात्र टोलाइरहेँ। फेरि अचम्मित परेँ। केही समयअगाडि मात्रै नाममा रातो गोलो लगाइएको कर्मचारीलाई अप्रत्यासित पुरस्कारको प्रलोभन देखाइन्छ भने जनप्रतिनिधिहरू आफ्नो इमानमा कति बस्दा रहेछन त भन्ने कुरामा म झन दिग्भ्रमित भएँ। कर्मचारीहरू स्वार्थका लागि केसम्म गर्न बाँकी राख्दैनन् भन्ने त आफ्नै आँखाले देखेँ आफ्नै कानले सुनेँ।

दिउँसोको १२ बज्यो। सबै कार्यकर्ताहरूसँगै मैले पनि प्रमुखको कार्यकक्षमा प्रवेश गरेँ। सबैले एक स्वरमा प्रस्ताव राखे। हिजो राति भएको कुरोको कार्यान्वयन हुन्छ कि हुन्न ? प्रमुखले घुमाउरो पाराले जवाफ दिए, ‘हेर्नोस्, साथीहरू हामीहरूले एक पक्षबाट मात्रै हेर्नु हुँदैन। थाहा छ, उनीहरू विपक्षी पार्टीका कर्मचारी हुन तर हामीले अहिले नै उनीहरूलाई निकाल्न थाल्यौं भने हाम्रो सरकारी काममा बाधा हुन सक्छ। जनताको विकासमा वाधा हुन सक्छ। हामी जनतालाई नि:स्वार्थ सेवा गछौँ भनेर कसम खाएर आएका प्रतिनिधि हौँ। ती कर्मचारीहरू हटाएका कारणले सरकारी काममा प्रभाव पर्न जाँदा जनताले हामीमाथि प्रश्न गर्न थाल्नेछन्। हामीले हाम्रा कार्यकर्ताको व्यवस्थापन गर्नुपर्ने त छ। हामीले जिताउने जनताको लागि केही योजना दिनु नै पर्ने हुन्छ। त्यसका लागि हामी सबै कर्मचारीलाई अहिले नै हटाउन सक्दैनौँ। आवश्यकताअनुसार, बिस्तारै हटाएर हाम्रा कार्यकर्ताहरूको व्यवस्थापन गर्दै जाने हो। यसमा ढुक्क हुनुहोस्। समयलाई पर्खन सिक्नोस् र इमान्दार बन्नोस्।’

यतिकैमा एक जना कार्यकर्ता बोले, ‘यस्तो हुनै सक्दैन। आजैको कार्यपालिका बैठकबाट हटाउनोस् र नयाँ विज्ञापनबाट आफ्ना कार्यकर्ता भर्ती गर्नुहोस्। तपाईंंले चुनावको समयमा हामी कार्यकर्तालाई कार्यालयमा राखौंला भन्नु भएको होइन। तपाईंंलाई जिताउनुको मतलब यो होइन कि हामी सधैँ तपाईंको गुलाम भएर बसौँ। हामीलाई पनि खान चाहिन्छ। हामीलाई पनि लुगा चाहिन्छ। पूर्व प्रमुखले आफ्ना थुप्रै कार्यकर्ता भर्ती गरेका थिए। तिनीहरूलाई हामीले केही भनेनौं तर तपाईं अहिले आनाकानी गर्दै हुनुहुन्छ’। उनको कुरा सकिन नपाउँदै प्रमुख कड्किए, ‘तपाईं अर्को लाइनको मान्छे हो। हाम्रो लाइनको भए त इमान्दारीपूर्वक मलाई सहयोग गर्नुपर्ने हो नि। मेरो निर्णय नै अन्तिम हुन्छ। प्रमुख तपाईं कि म ? भोट दिनुभयो, धन्यवाद छ। त्यसकाे मतलब यो होइन कि मैले तपाईंहरूकै मात्र कुरो मान्नुपर्ने ? यहाँ अरु पनि छन्। म तपाईंका कुरा नै सुन्दिनँ।’ प्रमुख कार्यकक्षबाट बाहिर निस्किए।

दिउँसोको ३ बजे कार्यपालिका बैठक डाँकिएको थियो। प्रमुख एजेण्डा थियो, कर्मचारी व्यवस्थापन। एक घण्टा जति बैठक चल्यो। बैठक सकिएपछि सबै जना बाहिर निस्किए। प्रवक्ताले बैठकको निर्णय सुनाउँदै भने, ‘आजको बैठकले सबै कर्मचारीको म्याद ६ महिना थप्ने निर्णय गरेको छ। साथै बैठकले केही कर्मचारीको जिम्मेवारीसमेत परिवर्तन गरेको छ, जसमा प्रशासन जगेडामा बसेका सुब्वालाई स्टोर प्रमुख र लेखा साहयक हेर्ने जिम्मा दिइएको छ।’

म सबै गतिविधिहरूलाई गहिरोसँग नियाल्दै थिएँ। समयअनुसार जनप्रतिनिधिको रुप कति चाँडै परिवर्तन हुँदो रहेछ भन्ने महसुस हुन गयो। हिजोदेखि अहिलेसम्मको गतिविधिले मलाई फनफनी घुमाइ दियो। हिजो कारबाही गर्ने भने जसको नाममा रातो गोलो लगाइएको थियो आज तिनैलाई आकर्षक स्थान दिइयो। रातो गोलो लगाउने निरीह कर्मचारी जगेडामा रहने भए। मैले जनप्रतिनिधिका बाह्य शब्द र भित्रि रहस्यको आंकलन गर्नै सकिनँ। नाममा रातो गोलो लगाइएका कर्मचारीको बिहानको एक घण्टाको वार्ता के भयो होला भनेर जिज्ञासु भइरहेँ। कसरी कर्मचारीहरूले स्वार्थसिद्ध गर्दा रहेछन्। जनप्रतिनिधिहरूको भनाइ र गराइ बिचको फरक कति हुँदो रहेछ अनि लम्पट कार्यकर्ताहरू कसरी ताली बजाउँदा रहेछन् भन्ने कुराको प्रत्यक्ष अनुभव गरेपछि सम्झिरहेछु साजशास्त्री गोपाल सिंह नेपालीलाई। समाजशास्त्री नेपालीकै शब्दमा भन्नु पर्दा यो समाज चाकरेहरूको समाज हो। समयमै समाजमा देखिएका यस्ता गतिविधि अन्त नभए यो विकृति अनन्तसम्म रहिरहने देख्छु।

गणेशबहादुर बिष्टका अन्य लेखहरु पढ्नुहाेस्:

प्रकाशित मिति: : 2023-03-01 21:00:00

प्रतिकृया दिनुहोस्